सबैभन्दा पहिले आफै तयार हुनुपर्छ : लेक्स लिम्बु

काठमाडौं (पहिचान) भदौ ९ – ‘आफूलाई स्वीकार गर्नु सबैभन्दा पहिलो र महत्वपूर्ण कुरा हो । त्यसपछि मात्रै अरुको कुरा आउँछ । पहिले आफैले आफूलाई जस्तो छ त्यो रुपमा स्वीकार गर्न सक्यो भने समस्याहरुसँग अत्तालिने होइन सामना गर्ने सामर्थ्य मिल्छ ।’

यो भनेका हुन् लेक्स लिम्बुले । लामो समयदेखि ब्लगरको परिचय बनाएका लेक्स बेलायत बस्छन् । नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यकले गाईजात्राको दिन मनाउने गौरव यात्राका लागि काठमाडौं आएका लेक्सले पहिचान मिडियाको कार्यालयमा आएर आफ्ना लागि सबै भन्दा पहिले आफैले विश्वास गर्न सक्ने बन्नु पर्नेमा जोड दिएका हुन् ।

भने जस्तो वा चाहे जस्तो परिवेश सधैँ हुँदैन । तर परिवेशलाई दोष दिएर बस्नु पनि समाधान होइन । लेक्सले यो बुझेका छन् र अरुले पनि आफ्नो परिवेश बुझेर त्यससँग जुध्नका लागि सबैभन्दा पहिले आफै तयार हुनु पर्ने बताए ।

लेक्स बेलायत बसेर पनि नेपालको औधी माया गर्छन् । त्यसमाथि उनले लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको पक्षमा वकालत गर्दै आएका छन् । लेक्स आफै पनि समलिंगी हुन् ।

आफू १८ वर्षको हुँदा आफ्नो भावनात्म तथा शारीरिक झुकाव पुरुष तर्फ नै रहेको स्पष्ट थाहा पाएका या स्वीकार गरेका उनलाई त्यो कुरा सार्वजनिक रुपमा भन्न थप सात वर्ष लाग्यो । २५ वर्षको हुँदा उनले आँट गरे र मातापितालाई आफ्नो मनको कुरा बताए ।

उनको परिवार बुझेको थियो । त्यसलाई सकेसम्म सहज रुपमा लिने प्रयास गरे ।

तर सजिलो थिएन या भएन

लेक्स आफैलाई समलैंगिकताबारे राम्रोसँग थाहा थियो र पनि आफू समलिंगी हुँ भन्ने स्वीकार गर्न या त्यसका परिणामहरु सहनका लागि सम्पूर्णतः बलियो अवस्थामा आउन समय लाग्यो । उनका मातापितालाई पनि समलैंगिकताबारे जानकारी थियो ।

बेलायतको बसाईले हुन सक्छ, उनका मातापिताले सम्मानित तथा सुप्रशिद्ध संगीतकर्मी एल्टन जोनका बारेमा थाहा पाएका थिए ।

एल्टन जोन समलिंगी हुन् र उनको विवाह पुरुषसँगै भएको छ भन्ने ख्याल थियो । र पनि लेक्सले आफ्नो बारेमा बताउँदा उनीहरुलाई त्यसलाई स्वीकार गर्न शायद सजिलो भएन ।

भन्न त उनीहरुले लेक्सलाई तिम्रो जीवन हो र तिमी हाम्रो लागि जस्तो अवस्थामा पनि उही छोरा हौ भने । तर आफ्नो सन्तान समलिंगी रहेको कुरा सुन्दा सजिलो भने पक्कै भएन ।
लेक्सले आफ्नो विश्वास छाडेनन्, उनका मातापिताले लेक्सलाई छोडेनन् । र सजिलो भयो उनको कमिङ आउट, तुलनात्मक रुपमा ।

सबैको यस्तो परिवेश कहाँ ?

समलिंगी, तेस्रोलिंगी, बाइसेक्सुअल, अन्तरलिंगी, क्वेयरसहितको समग्र समुदायको अधिकारका लागि वकालत गर्दै आएका लेक्सलाई आफ्नो जस्तै परिवेश सबैको छैन भन्ने थाहा छ ।

बेलायतको बसाई, सोही अनुसारको अध्ययन र काम । यसले लेक्सलाई बलियो बनायो, आत्मनिर्भर बनायो । आँट दियो । जस्तो परिवेश आए पनि म सामना गर्न सक्छु भन्ने । त्यसमाथि बुझेको र साथ दिने परिवार पाए ।

तर अधिकांश नेपाली एलजिबिटीक्यूआई पहिचानका व्यक्तिले सो अवसर पाउँदैनन् भन्ने बुझेका छन् । र पनि उनको जोड पहिले आफूलाई बलियो बनाउने पक्षमै छ । आफूलाई बुझाउन सके मात्रै अरुलाई बुझाउन सकिने र त्यसका लागि सबैभन्दा पहिले आफ्ना सम्पूर्ण कूरा बारे स्पष्ट रुपमा थाहा पाउनु पर्ने उनले बताएका छन् ।

तर व्यक्ति आफूलाई आफैले चिन्ने र विश्वास गर्ने वातावरण भने हुनु पर्छ । त्यो भनेको शिक्षाले दिने हो र शिक्षाको पहुँचमा सबै हुनु पर्छ भन्ने सुनिश्चित गर्ने दायित्व राज्यको हो भन्छन् उनी ।

आश छोड्ने होइन एक हुने बेला

गुनासाहरु छन् राज्यसँग । आफैसँग पनि होलान् कति अप्ठ्याराहरु । तर ती गुनासा र असजिलाहरुबाट भाग्नु या भयमा आश नै छोड्न भने हुँदैन । गाइजात्राका अवसरमा हुने परेडकै लागि नेपाल आएका लेक्सले पछिल्ला केही वर्ष आश लाग्दो परिवर्तन देखेको बताए ।
उनी सन् २०११ मा पहिलोपटक गाइजात्राको परेडमा सहभागी भएका थिए । त्यसपछिको ९ वर्षमा धेरै परिवर्तन भएको र धेरै युवाहरु खुलेर आउन थालेको पाएको उनले बताए ।

आश गर्ने ठाउँ भए पनि धेरै कुरा भने गर्न या हुनै बाँकी छ ।

नागरिकताका लागि गर्नु परेको दुःख अन्त्य भएको छैन, पढ्न पाएका छैनन् । यसले गर्दा एलजिबिटीक्युआईप्रतिको आम धारणामा परिवर्तन आउन सकेको छैन । लेक्सलाई लाग्छ, सबै एक भएर गरिने अभियानले सफलता दिन्छ । र पढेलेखेका व्यक्तिहरु जो बाहिर खुलेका छैनन्, उनीहरु खुलेर आएमा अधिकारको यात्राले थप बल पाउने लेक्सले बताए ।

सपना छ नि बिहेको

व्यक्तिगत अनुभवहरुबाट समग्र समुदायको चित्र बोलेका लेक्सलाई आफ्नो पारिवारिक जीवन बाँच्न मन छ । उनलाई आफूलाई बुझ्ने र माया गर्ने पुरुषसँग बिहे गर्ने मन पनि छ । उनले भने, ‘म अरुजस्तै सामान्य पुरुष हुँदा भिन्न केही छैन, मात्रै मेरो भावनात्मक तथा शारीरिक झुकाव पुरुषप्रति नै छ । म योग्य पुरुषको प्रतिक्षामा छु, तर उसले नेपाललाई माया भने गर्नु पर्छ, किनकी मलाई नेपाली माटोको माया छ पर बसे पनि ।’