‘तीजले समलिंगी तेस्रोलिंगीलाई समेट्नु पर्छ’

काठमाडौं (पहिचान) भदौ १५ – लेखक अर्चना थापा श्रीमान्को दीर्घायुको कामना गर्दै श्रीमतीले व्रत बस्ने तीज समयसँगै परिवर्तन हुँदै जानुपर्ने बताउँछिन् । हरेक पर्वले समाजका सबै पक्षलाई समेट्नु पर्ने उनको तर्क छ ।

“शिवका लागि भनेर भनिए पनि श्रीमान्कै लागि व्रत बसिन्छ । श्रीमतीले खाली पेट बस्दैमा न श्रीमान्को आयु लामो हुन्छ, न यो प्रचलन नै न्यायसङ्गत छ,” अर्चना आफ्नो विचार पोख्छिन्, “आजको समाजमा महिला र पुरुषबीच मात्रै पनि सम्बन्ध हुँदैन । समलिंगी सम्बन्ध पनि हुन्छ । महिला महिला र पुरुष पुरुषबीच पनि सम्बन्ध हुन्छ ।” परम्परागत मान्यताबाट अलिकति अगाडि बढेर अर्चना थप्छिन्, “यस्ता व्यक्तिहरुका लागि यो परम्परागत मान्यताको कुनै औचित्य हुँदैन ।”

सम्बन्धका विभिन्न नयाँनयाँ आयाम थपिँदै गएका बेला रुढीवादी सोचले ग्रस्त विचारलाई अँगालेर हिँड्नु गलत भएको उनको टिप्पणी छ ।
अर्चना थापाले भनेजस्तै अब नेपालमा पनि महिला र पुरुषको मात्रै अस्तित्व छैन । संविधानले नै यौनिक तथा लैंगिक अल्पसङ्ख्यकलाई चिनिसक्यो । २०७२ सालमा जारी भएको नेपालको संविधाले यौनिक तथा लैंगिक अल्पसंख्यक (समलिंगी, तेस्रोलिंगी, द्धिलिंगी र अन्तरलिंगी) लाई सम्बोधन गरेको छ । भलै संविधानअनुसारको कानून बनेको छैन । समलिंगी तथा तेस्रोलिंगीको अधिकार पूर्ण रुपमा सुरक्षित भएको छैन ।

समलिंगी तथा तेस्रोलिंगीहरुले तीजलाई अधिकार प्राप्तिको अभियानमै जोडेर मनाउँदै आएका छन् । “पहिलापहिला नेपाली हिन्दू नारीहरु वर्षभरिको मनको बह पोख्ने चौतारीका रुपमा तीजलाई मनाउने गर्थे,” समलिंगी तथा तेस्रोलिंगीको अधिकारका लागि आवाज उठाउँदै आएको संस्था नील हीरा समाजकी अध्यक्ष पिंकी गुरुङ भन्छिन्, “अहिले हामी यो तीजलाई महिला–पुरुषसरह हामीले पनि अधिकार पाउनुपर्छ भनेर अधिकार प्राप्तिका लागि खबरदारी अभियानका रुपमा मनाउँदै आएका छौं ।”

तीज मनाउनु हुन्छ कि हुँदैन भन्दा पनि अहिले जम्मा भएर सामूहिक रुपमा सरोकारवाला पक्षको ध्यानाकर्षण गर्ने अवसरका रुपमा तीजलाई प्रयोग गरिरहेको गुरुङ बताउँछिन् ।

१५ वर्षदेखि नील हीरा समाजले सामूहिक तीज कार्यक्रम गर्दै आएको छ । उनीहरु प्रायः निराहार व्रत बस्दैनन् । तर केही बस्नेहरु पनि रहेको गुरुङ बताउँछिन् । “केही साथीहरु राम्रो पार्टनर पाउँ भनेर पनि बस्छन्, पार्टनर भएका साथीहरु एकअर्काको दीर्घायुको कामना गर्दै पनि बस्छन्,” अध्यक्ष गुरुङ भन्छिन्, “तर हाम्रो समुदायमा भोकै व्रत बस्ने साथी भने निकै कम छन् ।”

गुरुङ जन्मँदा पुरुष थिइन् । हुर्किंदै/बढ्दै जाने क्रममा महिलाको अनुभूति गर्न थालिन् । आफ्नै उमेर समूहका केटीहरु तीजको व्रत बस्थे । तर उनी शारीरिक रुपमा केटा देखिने भएकाले लोकलाजका कारण व्रत बस्न सक्दैनथिन् । त्यो बेला उनलाई लाग्थ्यो, “यो समाजले मजस्ता मान्छेको भावना किन बुझ्दैन ? मलाई त्यो बेला खुब रिस उठ्थ्यो ।”

विस्तारै उनले घरपरिवार हुँदै समाजमा विद्रोह गरिन् । क्रस ड्रेस गरिन् । र, निर्धक्क तीजको व्रत बस्न सुरु गरिन् । समलिंगी विवाहले मान्यता पाएको छैन । त्यसैले उनीहरु ‘लिभिङ टुगेदर’ बसे पनि ती सम्बन्धहरु त्यति धेरै दिगो हुन सकेका छैनन् । त्यसैले उनी भन्छिन्, “समलिंगी विवाहलाई मान्यता दिने कानून सरकारले बनाओस् । हाम्रो विवाहले पनि कानूनी मान्यता पाएपछि हामी पनि महिलाजस्तै जीवनसाथीको नाममा व्रत बस्ने दिन आओस् ।”

नेपालमा लाखौंको संख्यामा समलिंगी तेस्रोलिंगी रहेको नील हिरा समाजले दाबी गर्दै आएको छ । तर, केन्द्रीय तथ्याङक विभागले यो समुदायको अहिलेसम्म गणना समेत गरेको छैन ।

स्रोत : बाह्रखरी

तस्विर : फेसबुक