मिडियाले बुझाउनु पर्ने एलजिबिटिआई समुदाय

‘दोधारमा सिमित लैंगिक पहिचानका मुद्धा’

काठमाडौं (पहिचान) भदौ १८ – गत असारमा जबरजस्ती लिंग परिवर्तन गरिदिएको समाचारले सनसनी मच्चायो । नेपाली मुलधारका अखवारले पनि पहिलो पृष्ठमा समाचार प्रकाशित गरे । थुप्रै अनलाईन मिडिया र युट्युबले यो विषय उचाल्नसम्म उचाले । उक्त समाचारमा कन्चनपुरका सुरेन्द्र मालले रोजगारीका सिलसिलामा भारत पुगेको बेला जबरजस्ती लिंग परिवर्तन गरेर केटी बनाइदिएको आरोप लगाएका थिए । मालको विषयमा समाचार प्रकाशित भएपछी यौनिक तथा लैंगिक अल्पसंख्यकहरु वास्तवमा को हुन् ? भन्ने विषय बुझ्न झनै दोधारमा पार्यो ।

केही वर्षदेखि एलजिबिटिआई समुदायको विषयमा रिपोर्टिङ गर्दै आएकी म पनि दोधारमा परेँ । यो घटनाले ल्याएको भ्रमले मलाई कुत्कुत्याउन थाल्यो । मनमा अनेकौं सवाल उठे । के अरुले लिंग काटिदिएकै भरमा कसैको लैंगिक पहिचान परिवर्तन हुनसक्ला ? कुनै केटामाथि कसैले केटीको भावना ल्याएर भरिदिन सक्ला ? यावत कुराहरु मनमा आइरह्यो ।

यसै सिलसिलामा एलजिबिटिआई समुदायको क्षेत्रमा काम गर्दै आएकी मोडल ज्योती थापासँग कुरा गरेँ । उनले मलाई यस विषयमा स्पष्ट पार्दै भनिन् ‘लिंग काटीदैमा कोही तेस्रोलिंगी बन्न सक्दैन ।’ लिंग काट्न सम्भव भएपनि मालमा केटीको भावना आउनुमा अरुको हात नरहेको जिकिर गरिन् । सुरेन्द्रबाट प्रिया बनेकी उनमा आफनो लैंगिकता के हो भन्ने विषयमा ज्ञान नभएको हुन सक्ने वा उनलाई समाजले लगाउने लाञ्छनाबाट बच्न यस्तो उपाय लगाएको हुनसक्ने अनुमान ज्योतीले लगाईन् ।

लैंगिक पहिचान एउटा गम्भिर विषय लाग्छ मलाई । लिंगका आधारमा आफनो पहिचान खुलाउनु चानचुने कुरा होइन । तर बिडम्बना, हाम्रो समाजमा लैंगिक पहिचान के हो भन्ने कुरा बुझ्ने जमात एकदमै कम होला । त्यसै जमातकी म एक हुँ ।

असार अन्तिममा प्रिया कञ्चनपुरबाट काठमाडौ आइन् । न्याय खोज्ने भन्दै । मलाई भने उनको विषयमा बुझ्न खसखस लागिरह्यो । त्यसपछी नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङसँग कुरा गरेँ । गुरुङका अनुसार प्रियालाई उनको लैंगिक अनभिज्ञताको बारेमा परामर्स गरिएको थियो । सुरुमा अस्वीकार गरेपनि विस्तारै विस्वस्त भएकी थिइन् । लिंग काटिएको कारण मात्र उनीमा केटी भएको महशुस आउन नसक्ने दाबी गुरुङको थियो । भनिन् ‘समाजले तिरस्कार गर्छ भनेर उसले आफनो पहिचान लुकाएको हो ।’

परामर्सपछी नील हिरा समाजको कार्यालयको सेल्टरमा बस्न राजी भएकी प्रियाले घरै जाने इच्छा देखाएपछी गुरुङले खर्चको जोहो गरेर घर पुठाएकी थिइन् । प्रिया घर पुग्ने बितिकै मैले उनलाई फोन गरेँ । फोनमा कुरा गर्दै उनले आफुमा केटीको भावना आउन थालेको बताइन् । स्कुलमा छँदा गर्लफ्रेन्ड बनाएर हिँडेकाले आफुमा कसरी केटीको भावना आयो अनभिज्ञ रहेको बताईन् । भारतमा बस्दा आफुलाई महिलाको हार्मोन लगाइदिएको शंका लागेको भएपनि सत्य नभएको प्रियाले बताईन् । ‘अब त केटी कै फील आइसक्यो’ प्रियाले आक्रोसित हुँदै भनिन् ‘घरपुगेर के गर्नु बाहिर निस्कन सक्ने अवस्था छैन, अन्योलमा छु ।’

जब प्रियाको घटना बाहिरियो । त्यसले सबैको ध्यान खिच्यो । तर वास्तविकता कसैले बुझने प्रयास गरेनन । किनकी एलजिबिटिआई समुदायलाई बुझन सक्ने समाज अझै तयार भइसकेको छैन ।

हाम्रो समाचार कक्षहरुमा एलजिबिटिआईका विषय नउठेका होइनन् । तर जेजति उठे । एकदमै हल्का ।

उनीहरुले कस्तो फेशन गरे ? कोसँग कसरी हिड्छन ? लिंग परिवर्तन गरेपछी उनीहरुको शारिरीक बनावट कस्तो भयो ? उसको स्तन साच्चै हो की नक्कली ? योनी तथा लिंग हुन्छ की हुन्न ? समलिंगी विवाहपछी कसरी सन्तुष्ट लिन्छन ? जस्ता अनावश्यक कुरा चर्चामा ल्याईन्छ ।

यद्यपी यस समुदायका हकअधिकार, महिलापुरुषले जतिकै इज्जतका साथ बाँच्न पाउने अधिकार, उनीहरुलाई मुलधारमा ल्याउन के कस्ता अवरोध छन्, उनीहरुको दैनिक जीवनमा देखिएका कठिनाई, नागरिकता पाउन, अध्ययन गर्न, समलिंगी विवाहका अधिकारका विषयमा पक्कै पनि सवाल उठ्नु पर्छ । पहिचान खुलाएपछी थुप्रै प्रियाहरुले सामाजिक लाञ्छना भोग्नुपर्ने हुन्छ । घरपरिवार, समाजले तिरस्कार गरेको छ । तर त्यस्ता परिवार र समाजलाई हामीले कस्तो शिक्षा दियौ ? जरुर मनन गर्नुपर्ने अवस्था आएको छ ।

मेरो अनुभवले भन्छ । एलजिबिटिआईका विषयमा लेख्ने कुरालाई अझै गम्भिर रुपमा हेरिएको छैन । पत्रकारहरु नै सोध्छन् : किन लेख्छस यो विषय ? मेरै लैंगिकता माथि प्रश्न उठाउँछन् । तर अल्पसंख्यकहरुलाई माथि उठाउनु राज्यको काम हो । कलेजमा पत्रकारिता पढाउँदा आवाज विहिनहरुको आवाज बन्नुपर्छ भनेर बारम्बार घोकाइन्थ्यो । यसैकुरालाई आत्मसात गर्न चाहेको हुँ । र मुलधारका मिडियाले यस्ता विषयलाई ल्याईरहनु पर्छ भन्ने मेरो मान्यता हो । यस्ता गम्भिर विषयमा अन्योलता छाईरहनु उचित नहोला । हाम्रा विद्यालयका पाठ्यक्रमदेखि नै यस्ता विषय समेटिएको खण्डमा प्रियाले जस्तो समस्या अरुले भोग्नुपर्ने छैन ।

संविधानको मौलिक हकमा लेखिएको लैंगिक तथा यौनिक अल्पसंख्यक को हुन् ? उनीहरुको लैंगिक पहिचान के हो ? उनीहरुको संख्या कति हो भनेर अहिलेसम्म गणना भएको छैन । राज्यलाई उनीहरुको अस्तित्व नै नचाहिएको हो कि ? उनीहरु मान्छे होइनन् भन्न खोजेको हो कि ? राज्यसँग गर्ने प्रश्न धेरै छन् । एउटा पत्रकारले यो प्रश्न गर्दा त्यो त यही समुदायको हो नि … अनि त्यही कुरा गरेर बसेको होला भनेर जवाफ दिनेले महिलापुरुषसँगै बसेको देख्दा पनि खोई के भन्छन्…. । पत्रकारितामा यस्ता बिषय पनि लेख्नुपर्छ भन्दा नपत्याउने राज्य छ ।

प्रिया एक प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता धेरै प्रतिनिधि पात्रहरु छन् जो लुकेर कानेखुसी गरिरहेका छन् । उनीहरु अब हुने जनगणनामा खुलेर आउने कि नआउने ? अधिकारसँगै नेपाली मिडियाले उनीहरुको बास्तविक तथ्याङक ल्याउन घचघचाउनु आबश्यक छ ।

लेखिका : पत्रकार नितु घले