गे सेक्स अपराधिकरण भएका देशहरुको अवस्था निकै खराब छ: माड्रिगल–बोर्लोज

काठमाडौं (पहिचान) मंसिर ४ – कोस्टारिकाका भिक्टर माड्रिगल–बोर्लोजले २१ महिना संयुक्त राष्ट्रसंघमा यौनिकता तथा लैंगिक पहिचानका आधारमा हुने हिंसा रोकथामका लागि गरिनु पर्ने प्रयास सम्बन्धमा स्वतन्त्र विज्ञका रुपमा काम गरे । उनले गएको महिना संयुक्त राष्ट्रसंघको महासभामा कानून तथा सांस्कृतिक मूल्यहरुले एलजिबिटीक्युआई समुदायका व्यक्तिहरुलाई कसरी प्रतिकूल प्रभाव पारेको छ भन्ने बारे प्रतिवेदन पेश गरेका थिए । द हार्वर्ड गजेटले गएको महिना उनीसँग उनको काम तथा भविष्यका लागि गरेका अपेक्षा या आशबारे कुराकानी गरेको छ ।

प्रश्न : यो भूमिका स्वीकार गर्ने निर्णय किन लिनु भयो ?

उत्तर : मैले मानवअधिकारको क्षेत्रमा विगत २० वर्ष भन्दा बढी समयदेखि काम गर्दै आएको छु र दीगो परिवर्तन ल्याउन सक्ने सम्भावना देखेँ । म आफै पनि समलिंगी पुरुष भएकाले यो जिम्मेवारी अधिक सान्र्दभिक थियो । यस विषयमा मैले विगत एक दशक भन्दा बढी समयदेखि काम गर्दै आएको थिएँ । मैले मेरा मानिसहरु स्टिग्मा र विभेदका कारण समस्यामा परेको देखेको छु र यो जीवनमा एक पटक आउने अवसर थियो ।

प्रश्न : तपाईँको प्रतिवेदनमा एलजिबिटिक्यूआई समुदायका व्यक्तिमाथि हुने हिंसा तथा विभेदको चुरो कारण के फेला प¥यो ?

उत्तर : कारण प्राथमिक र द्वितिय छन् । पहिलो, समाज निश्चित शक्ति सन्तुलनका आधारमा बनेको छ, जसलाई व्यक्तिको लिंगले निर्धारण गरेको हुन्छ । समाजमा व्यक्तिको भूमिका उसको लैंगिक पहिचानका आधारमा हुन्छ । त्यहि आधारमा सिर्जना भएको शक्ति सन्तुलनका लागि नै आधारभूत रुपमा हिंसाको उत्पति हुने गरेको छ ।

अर्को कारण, त्यो शक्ति सम्बन्ध सुरक्षित राख्ने रणनीतिका रुपमा हिंसा हुने गरेको छ । जुन शक्ति सन्तुलनमा समलिंगी पुरुष–महिला, तेस्रोलिंगी महिला–पुरुषको अस्तित्व त्यसमा स्वीकार गरिएको हुँदैन । शक्तिमा रहेकाहरुले एलजिबिटिक्युआईलाई बिरामी वा मानसिक रुपमा रोगीको संज्ञा दिने गरेका छन् ।

हिंसाको अर्को कारण अपराधिकरण हो । अझै पनि विश्वका ६९ देशमा समलैंगिक सम्बन्ध कानूनी रुपमा आपराधिक छ । यसको अर्थ अझै पनि दुई अर्ब भन्दा बढी समलिंगी पुरुष या महिला उनीहरुको यौनिक झुकावकै आधारमा अपराधी वा असल नागरिकका रुपमा हेरिएका छैनन् । हाम्रो अस्तित्वमा केही अपमान वा अनैतिकता छ भन्ने ठानिन्छ ।

प्रश्न : तपाईले अनुसन्धानको क्रममा कुन चाहिँ सबैभन्दा घातक पाउनु भयो ?

उत्तर : मलाई सबैभन्दा स्तब्ध बनाएको कुरा अपराधिकरण हो, त्यसमा पनि सन् २०१९ मा आइपुग्दा अझै कति देशमा समलैंगिक सम्बन्धलाई मृत्युदण्ड योग्य अपराध मानिएको छ । यसबारे युगाण्डामा छलफल भएको थियो, यो वर्षको सुरुमा ब्रुनाइले समलिंगी सम्बन्ध कायम गर्नेलाई ढुंगाले हिर्काएर मार्ने कानून लागु ग¥यो । यो कुरा मेरा लागि अति अप्रिय र खड्किएको कुरा हो ।

मलाई अचम्म लागेको चाहिँ लैंगिक पहिचानका सम्बन्धमा अलि राम्रो वातावरण बनेको देखिएको छ र तर समलैंगिक सम्बन्धमा भने अझै पनि सकारात्मक सोच आउन सकेको छैन । पाकिस्तानलाई नै उदहारणका रुपमा लिउँ, लैंगिक पहिचानका सम्बन्धमा प्रोग्रेसिभ कानून छ तर समलैंगिक सम्बन्ध भने अपराधिकरण गरिएको छ ।

प्रश्न : एलजिबिटिक्युआईको अधिकारका रक्षाका लागि कुन नीति या प्रयासहरु बढी सफल भएका छन् ?

उत्तर : समलैंगिक सम्बन्ध तथा लैंगिक पहिचानलाई कानूनी रुपमा अपराधिकरण नगर्नु सबैभन्दा महत्वपूर्ण र प्रभावकारी देखिएको छ । किनकी यसलाई सबै प्रणालीले उसैगरी बुझ्छन् । यसले एलजिबिटिक्युआई समुदायका व्यक्तिहरुलाई सुरक्षा दिनु पर्ने कानूनी बाध्यता सिर्जना गर्छ । अरु राम्रा प्रयासमा एलजिबिटिक्युआई समुदायका व्यक्तिहरुलाई समुदायमा एकीकृत या समाहित गर्ने खालका रणनीतिहरु, मानिसको मन तथा दिमागमा रहेको भ्रम तोड्ने सम्बन्धी अभियानहरु हुन् ।

प्रश्न : ल्याटिन अमेरिकी देशहरुमा तीव्र रुपमा आएको तीव्र परिवर्तन, जहाँ अहिले पाँच देशमा समलैंगिक विवाहले कानूनी मान्यता पाएका छन्, यो कसरी सम्भव भयो ?

उत्तर : यो सबै नागरिक समाज र मानवअधिकार रक्षकहरुको प्रयासको फल हो । उनीहरुले यो अधिकारका लागि बिना थकान लगातार काम गरिरहेका थिए । मैले नै यसका लागि एक दशकअघि देखि काम गर्दै आएको छु । त्यो बेला दक्षिण अमेरिकामा ट्रान्स अभियान बलियो थियो ।

प्रश्न : एलजिबिटिक्युआईको अधिकारका हिसाबमा कुन देश सबैभन्दा नराम्रो र कुन देश राम्रो छन् ?

उत्तर : देशहरुलाई क्रममागत गर्न सजिलो छैन, किनकी अवस्था निकै तीव्र गतिमा फेरिरहेका छन् । अहिले हामी बहुलवादको बिस्तार भइरहेको परिवेशमा बाँचिरहेका छौँ, जहाँ एलजिबिटिक्युआई समुदायलाई राजनीतिक बस्तुका रुपमा लिने गरिएको पनि छ । तर यो भन्न सक्छु कि गे सेक्स अपराधिकरण भएका देशहरुको अवस्था निकै खराब छ । यस्तै क्यारबियन, सब साहरन अफ्रिका, एसियाका केही क्षेत्र र मध्य पूर्वमा समस्या छ । र यो विश्वको सानो भाग होइन । अपराधिकरणले व्यक्तिलाई भूमिगत रुपमा बाँच्न बाध्य पार्छ ।

प्रश्न : यौनिक झुकावको क्षेत्रमा बढी उपलब्धी र लैंगिक पहिचानका सम्बन्धमा तुलनात्मक रुपमा कम किन देखिएको हो ?

उत्तर : यसमा शक्ति र प्रभाव सन्तुलनको कुरा आउँछ । शहरी क्षेत्रका गे, लेस्बियनले आफ्ना कुराहरु राजनीतिक तहमा राख्न सकेका छन् । अझ शहरी धनाड्य तथा मध्यम तहका परिवारका सम्बन्धमा । तर गाउँका सोही समुदायका व्यक्ति र अझ तेस्रोलिंगीहरुको अवस्था भने खराब नै छ, किनकी उनीहरुको कुरा राजनीतिक रुपमा माथिल्लो तहमा पुगेको अवस्था नै छैन ।

प्रश्न : सन् २०२० मा तपाईँ आफ्नो कार्यकाल समाप्त हुँदासम्म के भएको हेर्न चाहनु हुन्छ ?

उत्तर : मेरो सपना सन् २०३० सम्म विश्वमा कहिँ पनि समलैंगिक सम्बन्ध कानूनी रुपमा अपराधिकरण नभएको हेर्ने छ । अन्तर्राष्ट्रिय मानवअधिकार कानूनले समलैंगिक सम्बन्धलाई अपराधिकरण गर्नु मानवअधिकारको उल्लंघन हो ।