देशलाई चुनावमय बनाउनु सबैका लागि हितकर

देशलाई चुनावमय बनाउनु सबैका लागि हितकर

पहिचान /काठमाण्डौ, फागुन ८ -प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिन मूख्य दल सहमत भएको भोली पल्ट नेकपा माओवादीले नेपाल बन्द गरेको छ । एकीकृत नेकपा माओवादीबाट अलग भएर छुट्टै पार्टी गठन गरेका मोहन बैद्य किरण अध्यक्ष रहेको नेकपा माओवादीले सहमतिको विरोधमा बन्द आव्हान गरेको हो ।

बन्दका कारण देशको राजधानी काठमाण्डौं सहित देशका मूख्य शहरका सडकमा गाडि चलेका छैनन् । फागुन ७ गते प्रजातन्त्र दिवसमा विदा पाएका सरकारी कार्यालयका कर्मचारी मंगलवारको बन्दमा गाडि नचल्दा पैदल हिडेर कार्यालय पुगेका छन् । सडकमा सुरक्षा निकाय, विरामी बोक्ने एम्वुलेन्स, कुटनीतिक नियोग र प्रेस लेखिएका गाडि फाट्ट फुट्ट चलेका छन् । सडकका चोक चोकमा नेकपा माओवादीका कार्यकर्ता पलेटी कसेरै बसेका छन् । ललितपुरको कुपण्डोलमा गीत गाउँदै नाचिरहेका छन् भने पुतलिसडकमा पार्टीको झण्डा फराउँदै सडकमा गाडि कुदाउलान कि भनेर नियालिरहेका छन् ।

हरेक हप्ताको मंगलवार भिड हुने काठमाण्डौं कमलादीको मन्दिरमा दर्शनार्थी धेरैनै कम छन्् । गणेश मन्दिरमा दर्शनार्थी कम हुनुको कारण नेकपा माओवादीको बन्दकै प्रभाव हो । मन्दिर परिसरमा हरेक मंगलवार दर्शनार्थीको भिड लाग्ने गरेकोमा बन्दले गर्दा मन्दिर पुग्नेले पुग्ने वित्तिकै दर्शन गर्न पाइरहेका छन् । बन्दका कारण काम विशेषले लामो दूरीको यात्रा गर्नुपर्नेहरुले सास्ती पाएका छन् । नेकपा माओवादीको बन्दको त्रासले नागरिक साइकल चलाउन समेत डराएका छन् । अरु बन्दमा सकडमा धेरै साइकल चलाइएको देखिएपनि नेकपा माओवादीको बन्दमा साइकल समेत फाट्ट फुट्ट मात्रै चलेका छन् । बजार पसल पूरै ठप्पनै छ ।
एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच प्रजातन्त्र दिवसको दिन वहालवाला प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिएर २०७० साल जेठ २२ गते संविधानसभाको चुनाव गर्ने सहमति भएको भोली पल्ट सहमतिको विरोधमा बन्द भएको हो ।

चुनावी परिषद्को नेतृत्व सम्हाल्नु अघिनै विरोधमा भएको बन्दले प्रधानन्यायाधीश रेग्मीका आगामी दिन सहज नहुने अड्कल काट्न थालिएको छ । हुनत, आज मंगलवार राष्ट्रपति डाक्टर रामवरण यादवले सहमति गर्ने मूख्य चार दल, सहमतिको विरोधमा बन्द आव्हान गर्ने नेकपा माओवादी सहित विघठित संविधानसभामा प्रतिनिधित्व गरेका सबै दललाई छलफलका लागि वोलाउनु भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा सबै दलबीच प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिने सहमति जुटाउने अन्तिम प्रयास हुनेछ । सबै दलको समर्थन भए नेतृत्व स्वीकार गर्ने संकेत दिएका रेग्मीले राष्ट्रपति कार्यालयमा हुने दलहरुको छलफलमा विरोध भए के गर्लान भन्ने टुङ्गो छैन ।

यसका सुत्रधारका रुपमा रहेका राष्ट्रपति डाक्टर रामवरण यादव र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार दलको सहमति जुटाएपनि वाहिर रहेका दुई दर्जन दलको सहमति जुटाउन बाँकीनै छ । सरकारमै रहेका एकीकृत माओवादी र मधेशी मोर्चा वाहेकका दल र सरकार वाहिर रहेका काँग्रेस एमाले बाहेकका दलले आफूहरुलाई साक्षी मात्रै बनाउने गरेको गुनासो गर्दै आएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा हुने सर्वदलिय छलफलमा साक्षी मात्रै बस्ने भनेर प्रश्न उठ्ने निश्चित छ ।

मूख्य दलहरुबीच भएका सहमति बाहेकका विषय अरु दलले उठाएमा त्यसलाई कसरी सम्वोधन गर्ने भन्ने चुनौती मूख्य दलहरुमा छ भने विरोधकाबीच नेतृत्व सम्हाल्नु पर्दाका चुनौती रेग्मीमा पनि छ । नकारात्मक मात्रै सोच्नु र नकारात्मक विषय मात्रै उठाउनु अहिलेको परिस्थिति अनुकुल होइन । नकारात्मकबाट सकारात्मक सोच्नु र अहिले गतिरोध अन्त्य गरेर देशलाई चुनाव मय बनाउनु सबैका लागि हितकर हुनेछ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.