पहिचान मिडिया केवल समाचार सम्प्रेषण गर्ने माध्यम मात्र होइन, आवाजविहीनका आवाज उजागर गर्ने, ओझेलमा पारिएका मुद्दालाई सार्वजनिक बहसमा ल्याउने र समाजमा पहिचान, अधिकार तथा न्यायको पक्षमा पैरवी गर्ने साझा मञ्च हो। २०६९ सालमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएर सञ्चालनमा आएको पहिचान मिडिया यही उद्देश्यका साथ निरन्तर क्रियाशील छ।
जनचासोका विषयलाई प्राथमिकताका साथ उजागर गर्नु, समाजमा विद्यमान विभेद र असमानताबारे प्रश्न उठाउनु तथा आम नागरिकलाई सुसूचित गर्नु हाम्रो मुख्य उद्देश्य हो। प्रविधि र सञ्चारका माध्यम परिवर्तन भइरहे पनि सत्य, तथ्य र निष्पक्ष पत्रकारिताप्रतिको हाम्रो प्रतिबद्धता परिवर्तन भएको छैन। पत्रकार आचारसंहिताको पालना गर्दै विश्वसनीय समाचार, विचार र सूचना सम्प्रेषण गर्नु पहिचान मिडियाको मूल आदर्श हो।
पत्रकारिता समाजको ऐना मात्र होइन, समाजलाई सही दिशामा सोच्न र प्रश्न गर्न प्रेरित गर्ने माध्यम पनि हो। यही मान्यताका साथ पहिचान मिडियालाई पत्रकारका लागि अध्ययन, अभ्यास र अनुभव आदानप्रदान गर्ने पाठशालाका रूपमा विकास गर्ने विश्वास हामीले लिएका छौँ। पत्रकारिताको यात्रामा कमजोरी हुन सक्छन्, तर गल्तीलाई स्वीकार गर्ने, आवश्यक परे क्षमायाचना गर्ने र त्यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता हाम्रो प्राथमिकतामा रहन्छ।
यो यात्रा हाम्रो एक्लो प्रयासले सम्भव भएको होइन। पाठक, दर्शक, स्रोत, शुभेच्छुक, विज्ञापनदाता र सहयोगीहरूको साथ, विश्वास र मायाले नै पहिचान मिडियालाई निरन्तर अघि बढ्न प्रेरित गरेको छ। आगामी दिनमा पनि यहाँहरूको साथ र सहयोग पाइरहने विश्वास लिएका छौँ।
पहिचान मिडिया तपाईंहरूको पनि साझा मञ्च हो। तपाईंले देखेका, भोगेका र अनुभव गरेका विषय पनि समाचारका स्रोत हुन्। तपाईंको वरपर भएका घटना, समाजमा देखिएका समस्या, विभेद, अनियमितता, सम्भावना र सकारात्मक प्रयासबारे हामीलाई जानकारी दिनुहोस्। आफ्ना लेख, रचना, विचार र अनुभव पठाउनुहोस्। जनचासोका विषयलाई सार्वजनिक बहसमा ल्याउन तपाईंको सहभागितालाई हामी स्वागत गर्छौँ।
सूचना प्रविधिको विकासले भौगोलिक दूरीलाई साँघुरो बनाएको छ। कुनै ठाउँ दुर्गम भए पनि त्यहाँको आवाज दुर्गम रहनुपर्दैन। तपाईं जहाँ हुनुहुन्छ, त्यहीँबाट पहिचान मिडियासँग सूचना र समाचार साझा गर्न सक्नुहुन्छ। तपाईंको एउटा सूचना पनि सार्वजनिक सरोकारको महत्त्वपूर्ण विषय बन्न सक्छ।
पत्रकारिताको निरन्तरता र संस्थागत विकासका लागि आर्थिक स्रोत पनि उत्तिकै आवश्यक हुन्छ। पहिचान अनलाइनको प्रमुख आयस्रोत व्यावसायिक विज्ञापन हो। त्यसैले आफ्नो कार्यालय, सङ्घसंस्था, व्यापार तथा व्यवसायका सूचना र सन्देश प्रवाह गर्न पहिचान मिडियामार्फत विज्ञापन प्रचारप्रसार गर्न हामी आग्रह गर्दछौँ। तपाईंको व्यावसायिक सहकार्यले संस्थालाई दिगो बनाउन र जनसरोकारका विषयमा पत्रकारितालाई निरन्तरता दिन सहयोग पुग्नेछ।
सत्य, तथ्य र निष्पक्ष पत्रकारिता हाम्रो आदर्श हो। पहिचान, अधिकार र जनसरोकार हाम्रा प्राथमिकता हुन्। तपाईंको विश्वास हाम्रो शक्ति हो।
पहिचान मिडियाको यात्रामा साथ दिनुहुने सम्पूर्ण पाठक, दर्शक, शुभेच्छुक, समाचार स्रोत, सहयोगी र विज्ञापनदाताप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। आगामी दिनमा पनि तपाईंहरूको साथ, सुझाव र खबरदारीको अपेक्षा गर्दछौँ।
पहिचान मिडिया
Copyright © All right reserved to pahichan.com Site By: Sobij.