पहिचान अनुसारको नागरिकता माग्दै तेश्रोलिङ्गी अजिता भुजेल

पहिचान अनुसारको नागरिकता माग्दै तेश्रोलिङ्गी अजिता भुजेल

इन्दिरा न्यौपाने/पहिचान/मकवानपुर, चैत ४ – तेश्रोलिङ्गी अजिता भुजेलले पहिचान अनुसारको नागरिकताको माग गर्दै निवेदन दिनु भएको छ । भुजेलले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा हेटौडा नगरपालिकाको सिफारिस र अन्य कागजपत्र पूरा गरी पहिचान अनुसारको नागरिकताको लागि निवदेन दिनु भएको हो । गृहमन्त्रालयले २०६९ साल पुष १६ गते पहिचान अनुसारको नागरिकता दिन सबै जिल्ला प्रशासन कार्यालयहरुमा परिपत्र जारी गरेपछि समलिङ्गी तेश्रोलिङ्गीहरुले पहिचान अनुसारको नागरिकताका लागि प्रशासन कार्यालयमा निवेदन दिन थालिसकेका छन् । मकवानपुरका प्रमूख जिल्ला अधिकारी कमलकृष्ण रेग्मीले सबै प्रक्रिया पूरा गरेर आएमा महिला पुरुषलाई जस्तै सामान्य रुपमै पहिचान अनुसारको नागरिकता दिन सकिने बताउनु भएको छ ।

तेश्रोलिङ्गी अजिता भुजेलले हेटौडा नगरपाकिा वडा नम्वर ११ नवलपुरको वडा कार्यालयले अन्य भनेर नागरिकता दिन गरेको सिफारिस र बाँकी अरु कागजपत्र सहित प्रशासन कार्यालयमा सिफारिस गरेको बताउनु भएको छ । समलिङ्गीतेश्रोलिङ्गीहरुको मातृ संस्था नील हिरा समाजले सर्वोच्च अदालतमा पहिचान अनुसारको नागरिकता पाउन दायर गरेको रिटमा सर्वोच्चले २०६४ पुष ६ गते पहिचान अनुसारको नागरिकता दिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । यो आदेश गृहमन्त्रालयले परिपत्र जारी नगर्दा कार्यान्वयनमा आउन सकेको थिएन ।

गृहले सर्वोच्चको आदेश भएको ५ बर्ष पछि परिपत्र जारी गरेकाले समलिङ्गी तेश्रोलिङ्गीले पहिचान अनुसारको नागरिकता लिन थालेका छन् । यसअघि विष्णु अधिकारी, दिलु वुर्दुजा र चन्दा मुसलमानले पहिचान अनुसारको नागरिकता लिइसक्नु भएको छ । पहिलेनै पहिचान लुकाएर नागरिकता लिएकाहरुलाई भने अहिले गृहको परिपत्रले पहिचान अनुसारको नागरिकता लिन समस्या परेको नील हिरा समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तले बताउनु भएको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.