भारोत्तोलनमा तारादेवी र कमलबहादुरको राष्ट्रिय कीर्तिमान

भारोत्तोलनमा तारादेवी र कमलबहादुरको राष्ट्रिय कीर्तिमान

पहिचान/ वीरगञ्ज, बैशाख ३- मंगलबारदेखि वीरगञ्जमा सुरु प्रथम महिला तथा पुरुष खुला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीकी तारा देवी पुनले चार र नेपाल आर्मीका कमल बहादुर अधिकारीले तीनवटा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

नेपाल प्रहरीकी पुनले स्न्याच तर्फ एक, क्लीन एण्ड जर्कमा दुई र कुलमा एक गरी चार राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । स्न्याच तर्फ आफ्नै नाममा रहेको ६६ केजी तौलमा सुधार गर्दै ताराले ६७ केजी भार उठाइन् भने क्लीन एण्ड जर्कमा पनि आफ्नै नामको ९० केजीको रेकर्ड सुधार्दै ९१ केजीको भार उठाएर राष्ट्रिय कीर्तिमान राखिन् ।

क्लीन एण्ड जर्कमै पुनले पहिलेको रेकर्ड तोड्दै ९५ केजी भार उचालेर अर्को राष्ट्रिय कीर्तिमान कायम गरिन् भने कुल तर्फ एक सय ५६ केजीलाई तोड्दै कुल १ सय ६२ केजी भार उठाइन् ।

यस्तै पुरुष तर्फको ७७ केजी तौल समूहमा नेपाल आर्मीका कमल बहादुर अधिकारीले स्न्याच तर्फ आफ्नै नाममा रहेको १ सय २२ केजी तौलमा सुधार गर्दै एक सय २२ केजी भार उठाए भने क्लीन एण्ड जर्कमा पनि आफ्नै एक सय ६१ केजीको आफ्नै रेकर्ड सुधार्दै एक सय ६२ केजीको भार उठाएर कुल २ सय ८४ भार बहन गरी राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

एक सय पाँच केजीभन्दा माथिको स्पर्धामा तारा क्यासिनोका गोपाल श्रेष्ठले क्लीन एण्ड जर्कतर्फ एक सय ५६ केजी भार उठाउँदै नयाँ कीर्तिमान सहित स्वर्ण जितेका छन् ।

एक सय ५ केजी तौल समूहमा नेपाल प्रहरीका दीपेन्द्र महर्जनले स्न्याचमा ९६ केजी र क्लीन एण्ड जर्कमा एक सय २३ केजी भार उठाए भने ५६ केजी तौल समूहमा नेपाल प्रहरीका लक्ष्मण रञ्जितले स्न्याचमा ७५ केजी र क्लीन एण्ड जर्कमा ९५ केजी उठाएर स्वर्ण पदक जिते ।

यस्तै पुलिसकी देवी चौधरीले ५३ केजी समूहमा स्न्याचतर्फ ५९ केजी तौल बहन गर्दै कीर्तिमान सहित स्वर्ण पदक जितेकी छन् । यसअघि झन्ट कटुवालको नाममा ५७ केजीको राष्ट्रिय कीर्तिमान थियो ।

५८ केजी समूहमा उत्तम खत्रीले क्लीन एण्ड जर्कतर्फ ७८ केजी उचाल्दै राष्ट्रिय कीर्तिमान बनाइन् । उनले पनि झन्ट कटुवालकै नाममा रहेको ७७ केजीको कीर्तिमानलाई भंग गरेकी हुन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.