समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस

समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस

  • मंगलबार, बैशाख ३१ २०७०

भवानी घिमिरे/ पहिचान काठमाडौं बैशाख ३१ -समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको दिवस विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ । समलिङ्गी तेश्रोलिङ्गीको मातृ संस्था नील हिरा समाजले मे १७ तारिखका दिन विभिन्न कार्यक्रम गरेर दिवस मनाउने तयारी गरिरहेको छ । नेपाल सहित विश्वका १४ देशमा सन् २००६ अर्थात २०६३ सालदेखि समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस मनाउन शुरु भएको हो । १८ औ शताव्दी ताका देखिनै समलिङ्गी तेश्रोलिङ्गी मानसिक रोगी हुन भन्ने गरिएको भएपनि सन् १९९० मे १७ तारिखका दिन विश्व स्वास्थ्य संगठनले समलिङ्गी तेश्रोलिङ्गी मानसिक रोगको सूचिबाट हटाएको सम्झनामा हरेक बर्ष समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको दिवस मनाइन्छ । समलिङ्गी तेश्रोलिङ्गीका अभियन्ताहरु यो बर्षको दिवसको अवसरमा फ्रान्सको राजधानी पेरिसमा जम्मा हुँदैछन् । नेपालको प्रतिनिधित्व गर्दै पेरिसमा हुने समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसका लागि नील हिरा समाजका संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक सुनिलवावु पन्त मंगलवार पेरिस प्रस्थान गरेका छन् ।

पूरातन सोचबाट ग्रस्त विश्वलाई समलिङ्गी तेश्रोलिङ्गी मानसिक रोग होइन भन्ने सन्देश दिने उद्धेश्यका साथ फ्रान्सको पेरिसमा विशेष कार्यक्रम भइरहेको पन्तले बताए । विश्वका ८० वटा देशमा अहिले पनि समलिङ्गी तेश्रोलिङ्गीलाई अपराधी भनेर हेर्ने गरिएको छ । समलिङ्गी तेश्रोलिङ्गी अपराधी होइनन् पन्तले पेरिस प्रस्थान गर्नुअघि संचारकर्मीसँग भन्नुभयो ः समलिङ्गी तेश्रोलिङ्गी अपराधी होइनन् । तर जवरजस्ती अपराधीको विल्ला भिराउने काम हुनु दुखद पक्ष हो । विश्वका केही देशमा अहिले पनि समलिङ्गी तेश्रोलिङ्गीलाई मृत्युदण्ड समेत दिने गरिएको छ । यो मानवता विपरितको गैरकानुनी काम हो ।

जन्म दिने आमा र जन्मन अधिकार दिने बाबुको के गल्ती छ र उनीहरुबाट जन्मने सन्तानले मृत्युदण्ड पाउनु ? यो पुरातन अन्ध विश्वास अन्त्य हुनै पर्छ । नेपालमा अरु देशको तुलनामा खुल्ला हुने वातावरण तयार भएको देखिएपनि यो या त्यो वाहनामा समलिङ्गी तेश्रोलिङ्गीका अभियन्तालाई कमजोर बनाउने प्रयास अहिले पनि कायमै छ । यसको पछिल्लो प्रमाण समलिङ्गी तेश्रोलिङ्गी समूदायको मातृ संस्था नील हिरा समाज नविकरण नगरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंका तत्कालिन प्रमूख जिल्ला अधिकारी चुडामणी शर्माले देखाइसक्नु भएको छ । यस्तो अमानविय व्यवहार अवका प्रशासकले नगर्लान भन्नेमा देशभरका समलिङ्गी तेश्रोलिङ्गीले अपेक्षा गरेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.