चुनावी अभियान तिव्र

चुनावी अभियान तिव्र

पहिचान /जेठ १९ -समलिङ्गी तेश्रोलिङ्गीको मातृ संस्था नील हिरा समाजले चुनावी अभियान तिव्र पारेको छ । चुनाव पछि बन्ने संविधानसभामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको प्रतिनिधित्व सुनिश्चित गर्न समाजले अभियान तिव्र पारेको हो । राजनीतिक दललाई समलिङ्गी तेश्रोलिङ्गीको प्रतिनिधित्व सुनिश्चित गराउन माग माग गर्दै आएको छ ।
समाजले महेन्द्रनगर, टिकापुर र नेपालगंजमा पत्रकार सम्मेलन गरेर अवको संविधानसभामा समलिङ्गी तेश्रोलिङ्गीको प्रतिनिधित्व सुनिश्चित गराउन राजनीतिक दललाई दवाव दिन सबैलाई आग्रह गरेको छ । समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तले राजनीतिक अधिकार दिलाउन सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।
पन्तले सहज रुपमा समलिङ्गी तेश्रोलिङ्गीलाई आफ्नो पहिचान सहितको नागरिकता लिन र फोटो सहितको मतदाता नामावलीमा नाम लेखाउन गाउँ गाउँमा खटिएको टोलीले सहयोग गर्नु पर्ने बताउनु भयो । महेन्द्रनगर र टिकापुर पछि नेपालगंजमा भएको पत्रकार सम्मेलनमा पन्तले निर्वाचन आयोगले संचालन गरेको फोटो सहितको मतदाता नामावलीमा गएको बैशाख १५ गतेसम्म १ सय ७१ जनाले समलिङ्गी तेश्रोलिङ्गी उल्लेख गरेर मतदाता नामावलीमा नाम लेखाएको जानकारी दिनुभयो । त्यसपछि पनि धेरैले नाम लेखाएको तर त्यसको अन्तिम विवरण निर्वाचन आयोगले सार्वजनिक नगरेको पन्तले बताउनु भयो ।
यसबारे निर्वाचन आयोगका मधु रेग्मीले अहिले दल दर्तामा व्यस्त रहेकाले एकिन तथ्याङक दिन नसकिने पहिचान अनलाइनलाई बताउनु भयो । केहीदिनमा मतदाता नामावलीमा समलिङ्गी तेश्रोलिङ्गी उल्लेख गरेर नाम लेखाएकाहरुको तथ्याङक एक मुष्ट गर्छौ रेग्मीले भन्नुभयो ः अहिलेलाई बैशाख १५ गते सम्मकै १ सय ७१ जनाले मात्रै नाम लेखाएको विवरण प्राप्त छ ।
पश्चिम तारा  नेपालले आइतबार नेपालगन्जमा गरेको अन्तरक्रिया कार्यक्रममा पुर्व सभाषद एवं यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका अभियन्ता सुनिलबाबु पन्तले यौनिक अल्पसंख्यकका लागि नागरिकताको समस्या रहेको बताउदै नागरिकता सहजरुपमा प्राप्त हुने अवस्था सिर्जना गर्न माग गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा सहभागी यौनिक अल्पसख्यकहरुले समलिङ्गी तेस्रोलिङ्गीलाई समाजले अहिलेपनि विभेदपुर्ण व्यवहार गरिरहेको गुनासो गरे ।
निलहिरा समाजको सहयोग तथा नौलो सिर्जना नेपाल र पश्चिम तारा नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष
शुक्रऋषि चौलागाई, राससका क्षेत्रिय प्रमुख निरज गौतम र प्रेस युनियन
बांकेका अध्यक्ष नरेन्द्र थापा लगायतले धारणा राख्नुभएको थियो ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.