“यौनिक तथा लैङ्गिक अल्पसंख्यक समाजमा असुरक्षित”

“यौनिक तथा लैङ्गिक अल्पसंख्यक समाजमा असुरक्षित”

  • बुधबार, साउन २३ २०७०

नरेश फुयांल–काठमाडौं, साउन २३ । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरु समाजमा हरेक क्षेत्रमा अझै पनि असुरक्षित रहेका भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । घर परिवार, विद्यालय र कार्यालयमात्र नभएर राज्यका विभिन्न निकायहरुमा समेत उनीहरु अपमानित र प्रताडित हुने गरेको वक्ताहरुको भनाई छ ।

नील हिरा समाज र इन्सेकद्धारा बुधवार राजधानीमा आयोजित “यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय र सुरक्षा प्रश्न” विषयक अन्र्तक्रियामा बोल्दै इन्सेक अध्यक्ष सुबोध प्याकुरेलले सामाजिक सचेतनाको अभावका कारण लैङ्गिक अल्पसंख्यकहरु अदालत देखी कार्यालयसम्मै असुरक्षित रहेका बताए । दलहरुको समेत चेतनास्तर नबढ्दा तेस्रो लिङ्गीका सवालमा आम समुदायलाई बुझाउन गार्‍हो भएको उनको ठम्याई छ । द्धन्दकालमा तेस्रो लिङ्गीहरुमाथी तत्कालीन नेकपा माओवादीले गरेको व्यवहारको स्मरण र कटु आलोचनासंगै प्याकुरेलले प्रश्न गरे “आफूलाई परिवर्तनकामी भन्ने राजनितिक दलहरुमा त यस्तो धारणा छ भने समुदायमा झन के होला ?”

कार्यक्रममा बोल्दै यूएसआईपीका राष्ट्रिय सल्लाहकार शोभाकर पराजुलीले तेस्रो लिङ्गीहरुको समस्या अन्य लिङ्गीहरुको पनि साझा समस्या हुने बताए । स्वदेशी कानुनहरुभन्दा पनि बलिया अन्र्तराष्ट्रिय सन्धी, महासन्धीहरुमा हस्ताक्षर गरेको नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको अधिकार सूनिश्चित नहुनु दुखद रहेको उनको भनाई छ ।

यसैगरि निलहीरा समाजका संस्थापक अध्यक्ष तथा पूर्व सभासद सुनिलबाबु पन्तले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई सडकमा आएर यौनपेशा अपनाउन प्रशासनले नै बाध्य पारेको आरोप लगाए । “६ बर्ष अघि रेष्टुरेन्ट र डान्सबारमा प्रवेश गर्न प्रशासनबाटै रोक लगाइएपछि उनीहरु बाध्य भएर सडकमा आउनु परेको यथार्थ हो । डान्स रेष्टुरेन्टमा वेटर वेट्रेसको काम गर्दै आएका साथीहरुलाई समेत त्यहां पस्न नदिइएपछि विकल्पको खोजीमा उनीहरुले यौनपेशा अपनाएका हुन्” पन्तको भनाई छ । रातमा हिंड्यो र ट्याक्सी चढ्यो भन्दैमा उ यौनकर्मी नै हो भन्ने गलत बुझाइका कारण पनि यौनिक अल्संख्यकहरुले समस्या झेल्नु परेको उनको दुखेसो छ ।

प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवअधिकार सेलका प्रहरी उपरिक्षक देब बहादुर बोहोराले सुरक्षाको सवालमा सबै हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिंदै आम नागरिकको सहयोग विना सुरक्षा कायम हुन नसक्ने धारणा व्यक्त गरे । आफ्नो कामको परिणामबाट समाजलाई पर्ने प्रभाव र असरका बारेमा बुझिदिन लैङ्गिक अल्पसंख्यकहरुलाई आग्रह गर्दै बोहोराले भने “नत्र विकृती जन्मन सक्छ, अपराध मौलाउन सक्छ ।”

यसैगरि प्रहरी सहायक उपरिक्षकद्धय चन्द्रकुवेर खापुङ्ग र गणेश चन्दले लैङ्गिक आधारमा प्रहरी कसैप्रति पनि पूर्बाग्रही नहुने स्पष्ट पार्दै प्रचलित कानुनको पालना गराउने कार्यलाई कतिपयले गलत बुझेको जिकीर गरे । पक्राउ परेका तेस्रो लिङ्गीहरुलाई राख्ने अलग थुनुवा कक्ष नहुंदा आफूहरुलाई अप्ठ्यारो महसुस भएको उनीहरुको भनाई छ । कार्यक्रममा केही तेस्रोलिङ्गी यौनकर्मीहरुले आफ्ना अनुभव र समस्याहरु पनि सुनाएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.