काठमाडौं (पहिचान) कार्तिक २०- देशभरका समलिंगी तेश्रोलिंगीले मंसिर ४ गते हुन लागेको संविधान सभा चुनावमा भोट नखसाल्ने घोषणा गरेका छन् । मूख्य भनिएका दलले एक जना पनि समलिंगी तेश्रोलिंगीलाई उम्मेदवार नबनाएको भन्दै समलिंगी तेश्रोलिंगीले चुनावमा भोट नखसाल्ने घोषणा गरेका हुन् । नील हिरा समाजका संस्थापक अध्यक्ष एवं पूर्व सभासद् सुनिलवावु पन्तले ठूला दलले आफ्ना कोही पनि प्रतिनिधि चुनावी मैदानमा नउतारेकाले चुनावमा मतदान नगर्ने घोषणा गरेको जानकारी दिए ।
केही साना दलले समलिंगी तेश्रोलिंगीलाई संविधान सभा चुनावमा उम्मेदवार बनाएका छन् त्यो खुशीको कुरा हो पन्तले भने ः संविधान सभामा पुर्याउने ग्यारेन्टी गरेका ठूला दलले एक जना पनि समलिंगी तेश्रोलिंगीलाई उम्मेदवार बनाएनन् किन र कस्का लागि मत खसाल्ने ? तामझामका साथ पार्टी प्रवेश गराएर गुलिया आश्वास दिने मूख्य दललाई भोट हाल्नुको कुनै औचित्य नरहेको पन्तको भनाई छ । पन्तले संविधान सभामा आफ्ना अधिकार लेखाउन सडक सघर्ष गर्ने चेतावनी दिए । सडकबाट दवाव दिनुको विकल्प रहेन पन्तले भने ः नयाँ संविधानमा अधिकार लेखाउन हामी सबै सडकबाट निरन्तर दवाव दिइरहन्छौ ।
नील हिरा समाजका नवनिर्वाचित पदाधिकारीले पनि संविधान सभा चुनावमा ठूला भनिएका एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेलाई भोट नहाल्ने र चुनावमा सहभागी समेत नहुने घोषणा गरेका छन् । नील हिरा समाजकी मानवअधिकार विभाग प्रमूख एवं नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि भूमिका श्रेष्ठले संविधान सभा चुनावमा आफ्नो नाम अन्त्यमा हटाएकोमा धेरै दुख लागेको बताइन ।
श्रेष्ठले राजनीतिक दलका कारण आफ्नो समूदायमा द्धन्द्ध सिर्जना भएको र यसले आफूलाई नयाँ ढंगले अगाडि बढ्ने हौसला मिलेको बताइन । श्रेष्ठले समलिंगी तेश्रोलिंगीलाई सहभागिता नगराएकाले राजनीतिक दलहरु प्रतिको आस्था र विश्वास टुटेर गएको बताइन । श्रेष्ठले आफ्ना अधिकार ठूला दलका नेताले चोलो र सारी लगाएर लेख्ने होलान भनेर व्यङ्गय समेत गरिन । ठूला दलले आफ्नो समूदायलाई अन्तिम समयमा घात गरेकोमा दुख लागेको बताइन ।
नील हिरा समाजका मलायका लामाले आफ्ना समूदायका एक जना पनि समूदायका सदस्यलाई उम्मेदवार नवनाएकाले भोट नखसाल्ने बताए । ठूला भनिएका दलले एक जना पनि समलिंगी तेश्रोलिंगीलाई उम्मेदवार नवनाएकोमा मलाई धेरै चित्त दुखेको छ मलायकाले भने ः म त चुनावमा कसैलाई पनि भोट हाल्दिन ।
११ सदस्यीय नयाँ नेतृत्व चयन
नील हिरा समाजको बार्षिक साधारण सभाले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । कार्य समितिको अध्यक्षमा संंजिव गुरुङ्ग, उपाध्यक्षमा उमेश पाण्डे, सचिवमा रोशन महतो र कोषाध्यक्षमा रविना श्रेष्ठ निर्विरोध निर्वाचित भए । मतदानबाट नविन शेरचन, मनोरञ्जन कुमार बैद्य, मणीराज लामा, श्रीकृष्ण थापा, रत्नकुमार घर्ती मगर, सुमन महर्जन, अर्जुन बस्नेत विजयी भएका छन् ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई नील हिरा समाजका संस्थापक सुनिलवावु पन्तले टिका लगाइदिएर कार्यकाल सफलताको सुभकामना दिए । नवनिर्वाचित अध्यक्ष संजिव गुरुङ्ग, उपाध्यक्ष उमेश पाण्डे, सचिव रोशन महता लगायतले समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका लागि सबैको साथ सहयोग लिएर अगाडि बढ्ने प्रतिवद्धता जनाए ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.