आन्दोलन गर्न बाध्य नपारियोस् ः समलिंगी तेश्रोलिंगी

आन्दोलन गर्न बाध्य नपारियोस् ः समलिंगी तेश्रोलिंगी

  • बिहिबार, मंसिर २७ २०७०

काठमाडौं (पहिचान) मंसिर २७ -समलिंगी तेश्रोलिंगीका अधिकार नलेखे उनीहरुकै सन्तान अधिकार विहिन हुन्छन् । उनीहरुकै सन्तान भोली हामी जस्तै गरी अधिकार लेखाउन आग्रह गरिरहन्छन् । त्यतिवेला गल्ती गरिएछ भन्ने दिन नआओस् । तेश्रोलिंगी आनिक रानाले भनिन ः आफ्ना सन्तान महिला पुरुष मात्रै जन्मन्छन भन्ने सोच अन्त्य हुनु पर्छ । रानाले आफू चाहेर तेश्रोलिंगी बच्चा नजन्मेको बताइन । समलिंगी तेश्रोलिंगीको अधिकार नलेखी संविधान जारी गर्न खोजे सभासद्को आँखाको ज्योती गुम्छ । हामी सडक आन्दोलन गर्दैनौ, हतियार उठाउँदैनौ, बन्द हड्ताल गर्दैनौ तेश्रोलिंगी आनिक रानाले भनिन ः संविधानमा समलिंगी तेश्रोलिंगीको अधिकार नलेखिए आँखाको ज्योती  गुम्छ ।

आनिक रानालाई राष्ट्रिय जनमुक्ती पार्टीले समानुपातिक तर्फको बन्द सूचीमा राखेको थियो । पार्टीले समानुपातिक तर्फ दुई जना प्रतिनिधि पठाएको छ रानाले भनिन ः लामो समय पार्टीमा योगदान गरेको तेश्रोलिंगीलाई पार्टीले लगेन । चुनाव प्रचारमा खटिदाँका दिन सम्झदाँ अहिले मलाई रुन मन लाग्छ । रानाले आफ्नै देशमा समलिंगी तेश्रोलिंगी शरणार्थी बनेर बस्नु परेको वताइन । समलिंगी तेश्रोलिंगीको संस्था नील हिरा समाजले काठमाण्डौमा गरेको पत्रकार सम्मेलनमा यस्तो गुनासो व्यक्त गर्ने तेश्रोलिंगी आनिक राना एक्लो भने होइनन् ।

तेश्रोलिंगी भूमिका श्रेष्ठलाई काँग्रेसले महाधिबेशन प्रतिनिधि सम्म बनायो तर संविधान लेख्ने थलो संविधान सभामा पुर्याउछु भनेर धोका दियो । श्रेष्ठले भनिन ः शुरुमा प्रयोग गर्ने र अन्तिममा मिल्काइदिने काँग्रेसको कदमले मलाई दुख लागेको छ । श्रेष्ठले पुरुषकोमा राख्दा पुरुष रिसाउने, महिलाकोमा राख्दा महिला रिसाउने भनेर काँग्रेसले आफ्नो नाम हटाएर धोका दिएको बताइन । समलिंगी तेश्रोलिंगीकै कारण काँग्रेस ठूलो पार्टी भएको दावी गर्दै श्रेष्ठले समलिंगी तेश्रोलिंगीका अधिकार संविधानमा नलेखे काँग्रेसले अर्को चुनावमा त्यसको असर देख्ने चेतावनी दिइन । श्रेष्ठले संविधान सभामा २६ जना मनोनित गर्दा एक जना मात्रै भएपनि समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व गराउन काँग्रेससँग माग गरिन । नेपाली काँग्रेसले काठमाण्डौंबाट तेश्रोलिंगी भूमिका श्रेष्ठलाई समानुपातिक तर्फको सभासद् बनाउन सिफारिस गरेको थियो । यस्तै नेपाली काँग्रेस बाजुराले अन्तरलिंगी पार्वती रेग्मीलाई समानुपातिक तर्फको सभासद् बनाउन सिफारिस गरेको थियो ।LGBTI second

राष्ट्रिय जनमुक्ती र नेपाली काँग्रेसले त समानुपातिक तर्फको सूचीमा नाम राखेर र समानुपातिक तर्फको सूचीमा नाम राख्न सिफारिस गरेर धोका दिए । तर नेकपा एमालेले त चिल्ला र फुस्रा कुरा गरेर एक जनाको नाम पनि समानुपातिक तर्फ पारेन । पार्टी मूख्यालय बल्खुमा तामझामका साथ पार्टी प्रवेश गराएर एमालेले अव एमाले समलिंगी तेश्रोलिंगीको अभिभावक पार्टी भयो भन्यो । जन्म दिने आमा र जन्मन अधिकार दिने बाबुबाट निकालिएका हामीलाई धेरै खुशी लागेको थियो एमालेले अभिभावक भयौ भन्दा तेश्रोलिंगी सुमन तामाङले भने ः सोझा सिधा छौ भनेर एमालेले हामीलाई धोका दियो । एमालेले आफूहरुलाई भोट बैंकको रुपमा मात्रै प्रयोग गरेको तामाङको गुनासो छ । एमालेको भोट तान्ने रणनीति मात्रै रहेछ समानुपातिकमा समलिंगी तेश्रोलिंगीलाई प्रतिनिधित्व गराउँछौ भनेर एमालेले झुक्यायो तामाङले भने ः दुख लागेको छ । सास रहेसम्म आश रहन्छ भनेझै संविधान सभामा मन्त्रीपरिषदले मनोनित गर्ने २६ जनामा एमालेले ३ जनालाई प्रतिनिधित्व गराउनु पर्ने तामाङको माग छ ।

तेश्रोलिंगी विष्णु अधिकारीले आफ्नो प्रतिवद्धता पूरा नगरे एमालेलाई नोक्सान हुने बताए । पार्टी प्रवेश गर्दा धेरै खुशी थियौ अधिकारीले भन्नुभयो ः पार्टीका लागि गरेको योगदान एमालेले भुल्यो । समलिंगी तेश्रोलिंगीको पहिचानको आन्दोलन कुनै राजनीतिक दलले शुरु नगरेको बताउँदै अधिकारीले राजनीतिक अधिकारबाट विमूख नगराउन एमालेलाई आग्रह गरे । तेश्रोलिंगी सपना चौधरी त बर्दिया क्षेत्र नम्वर १ मा अहोरात्र खटिइन । एमाले उपाध्यक्ष समेत रहेका बामदेव गौतमको प्रचारमा अहोरात्र खटिदाँ गौतम विजयी भए तर हामी समलिंगी तेश्रोलिंगीलाई प्रतिनिधित्व नगरेर एमालेले धोका दियो । गौतमले संविधानमा समलिंगी तेश्रोलिंगीका अधिकार लेख्नेबारे एक शव्द पनि नवोलेकोमा चौधरीले आपत्ती समेत जनाइन । नेपाल ट्रेड युनियन जिफन्टमा आवद्ध तेश्रोलिंगी शिला गुरुङले पनि एमालेले धोको दिएको बताए ।

समलिंगी तेश्रोलिंगी हामी सधै चुप लागेर समर्थन मात्रै गरेर बस्दैनौ उनीहरु सबैले एकै स्वरमा भने ः आन्दोलन गर्न बाध्य नपारियोस । अघिल्लो संविधान सभामा समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता सुनिलवावु पन्तको प्रतिनिधित्व थियो । पन्तले मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको मस्यौदामा समलिंगी तेश्रोलिंगीलाई पहिचान अनुसारको नागरिकता दिन, समलिंगी विवाहलाई मान्यता दिन, शिक्षा, स्वास्थ्य, रोजगारमा विभेद नगरिने लगायतका व्यवस्था लेखाएका थिए । समलिंगी तेश्रोलिंगीलाई अहिले आफ्नो समूदायको प्रतिनिधित्व नहुँदा पन्तको पहलमा भएका अधिकार समेत खोसिने चिन्ता छ । उनीहरुले प्राप्त भएका उपलव्धीको रक्षा गर्दै थप उपलव्धीका लागि दवाव दिइरहने बताएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.