संविधान सभामा प्रतिनिधित्व नगराए आन्दोलन गर्ने समलिंगी तेश्रोलिंगीको चेतावनी

संविधान सभामा प्रतिनिधित्व नगराए आन्दोलन गर्ने समलिंगी तेश्रोलिंगीको चेतावनी

अम्विका दाहाल /काठमाडौं (पहिचान) पुष २६- समलिंगी तेश्रोलिंगीले संविधान सभामा आफूहरुको प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् । संविधान लेख्ने थलोमा आफूहरुको प्रतिनिधित्व नभए आन्दोलन गर्ने समलिंगी तेश्रोलिंगीले चेतावनी दिएका छन् । नील हिरा समाजले गरेको पत्रकार सम्मेलनमा समलिंगी तेश्रोलिंगीले  अधिकार नलेखिएको संविधान जारी भए च्यात्ने चेतावनी पनि दिए ।

सुनिलवावु पन्त समलिंगी तेश्रोलिंगीको प्रतिनिधिव गर्दै नेकपा संयुक्तबाट विघठित संविधान सभामा पुग्नु भएको थियो । तर अहिले एक जनालाई पनि दलहरुले संविधान सभामा प्रवेश गराउने संकेत दिएका छैनन् । नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले संविधान सभामा कम्तीमा ३ जना समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व हुनुपर्ने माग गरिन । प्रतिनिधत्व नभए आन्दोलन गर्ने गुरुङले चेतावनी दिइन । 333

तेश्रोलिंगी अधिकार कर्मी भूमिका श्रेष्ठले सरकार र दलहरुलाई प्रतिनिधित्व गराउन आग्रह गरेपनि अहिले सम्म सुनुवाई नभएको बताइन । नेपाली काँग्रेसले चुनावमा आश्वासन दिएर भोट मागेपनि अहिले फर्केर नहेरेको श्रेष्ठको भनाई छ । मन्त्रीपरिषदले मनोनित गर्ने २६ जनामा कम्तीमा १ जना मात्रै भएपनि समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व हुनुपर्ने श्रेष्ठको माग छ । दलहरुलाई प्रतिनिधत्व गराउन दवाव दिइरहेका छौ श्रेष्ठले भन्नुभयो ः यसमा सबैको सहयोग हुन्छ भन्ने विश्वास छ ।

तेश्रोलिंगी शिल्पा चौधरीले तामझाम गरेर पार्टीमा प्रवेश गराएको नेकपा एमालेले एक जना पनि संविधान सभामा प्रतिनिधित्व नगराउनु दुखद भएको बताइन । चुनाव प्रचारमा एमालेले खर्च गर्न समेत भन्यो चौधरीले भनिन ः पूरा गर्न नसक्ने आश्वासन किन दिएको हो ? चुनाव प्रचारमा खटाउने एमालेले संविधान सभामा एक जना पनि समलिंगी तेश्रोलिंगीलाई प्रतिनिधित्व नगराएकोमा दुख लागेको चौधरीको भनाई छ । 11

तेश्रोलिंगी आनिक रानाले राष्ट्रिय जनमुक्ती पार्टीले समानुपातिकको बन्द सूचिमा राखेपनि अहिले सिफारिस नगरेर धोका दिएको बताइन । बाहिर हासेपनि भित्र मन रोइरहेको छ रानाले भनिन् ः समलिंगी तेश्रोलिंगीलाई कहिले सम्म अधिकार विहिन बनाइरहने हो ? तेश्रोलिंगी मनोज शाहीले राप्रपा नेपालले संविधान सभामा प्रतिनिधित्व गराउने आश्वासन दिएर चुनाव प्रचार प्रसारमा खटाएपनि अहिले वास्ता नगरेको बताए । हामीले राष्ट्रपति प्रधानमन्त्री मागेका छैनौ शाहीले भने ः संविधान सभामा हाम्रो समूदायको प्रतिनिधित्व गराउनु पर्छ भनेका हौ । तेश्रोलिंगी विवेक सिंहले दलहरुले संविधान सभामा प्रतिनिधित्व नगराए आन्दोलन गर्नुको विकल्प नरहेको बताउनु भयो ।

22नील हिरा समाजको प्रेस विज्ञप्ती 

सम्पूर्ण पत्रकार साथीहरुलाई नमस्कार
नील हिरा समाजले विगत १३ बर्षदेखि समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीको अभियान संचालन गर्दै आएको छ । यो अभियानमा पत्रकार साथीहरुले पुर्याउँदै आएको सहयोग प्रती हामी धेरै आभारी छौ । अभियान संचालन गरेदेखि अहिले सम्म प्राप्त गरेका उपलव्धी नगन्य छन् । पहिचान अनुसारको नागरिकता दिन २०६४ साल पुष ६ गते सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशपछि तीन जना तेश्रोलिंगीले पहिचान खुलाएर नागरिकता प्राप्त गरे । तर फेरी गृहमन्त्रालयले पहिचान अनुसारको नागरिकता दिन रोक्यो । नील हिरा समाजको लामो प्रयास पछि २०६९ साल पुष १६ गते गृहमन्त्रालयले समलिंगी तेश्रोलिंगीलाई पहिचान अनुसार अन्य उल्लेख गरेर नागरिकता दिन परिपत्र जारी गर्यो । गृहमन्त्रालयको परिपत्रपछि केही जिल्ला प्रशासन कार्यालयहरुले अन्य उल्लेख गरेर नागरिकता दिएपनि केही जिल्ला प्रशासन कार्यालयहरुले समलिंगी तेश्रोलिंगी भएको चिकित्सकबाट प्रमाणित भएको कागज माग गरे । तेश्रोलिंगी आनिक रानाले नागरिकता लिन जाँदा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले डाक्टरको प्रमाण लिएर आउन भन्यो । विश्व स्वास्थ्य संगठनले समलिंगी तेश्रोलिंगी हुनु रोग होेइन भनिसकेपनि सरकारी निकायमा रहेका व्यक्तीको गलत सोचका कारण चाहेर पनि पहिचान अनुसारको नागरिकता लिन नपाउनु हाम्रा लागि विडम्वना छ । पहिचान अनुसारको नागरिकता दिन आनाकानी गर्ने जिल्ला प्रशासन कार्यलयको विभेदकारी व्यवहार विरुद्ध नील हिरा समाजले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । सर्वोच्चले नागरिकता दिन नमिल्नुको कारण जिल्ला प्रशासन कार्यालयहरुसँग माग गरिसकेपनि त्यसको जवाफ नआउँदा पहिचान अनुसारको नागरिकता लिनबाट लाखौ समलिंगी तेश्रोलिंगी बञ्चित भइरहेका छन् । नागरिकतासँगै राहदानी बनाउन पनि हामीलाई समस्या छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलबाट अन्य भनेर नागरिकता लिएका काभ्रेका अन्तरलिंगी तील कुमारी हुमागाईलाई राहदानी बनाउन समस्या भएको छ । हुमागाईलाई परराष्ट्रका कर्मचारीले प्रशासनले अन्य भनेर नागरिकता दिएपनि राहदानी अर्थात पासपोर्ट दिन नमिल्ने भनेर फर्काइदिएका छन् । तील कुमारीसँग ९८४९९२६८५२ नम्वरमा फोन गरेर अझ धेरै कुरा बुझ्न सक्नुहुन्छ । नागरिकता र राहदानी बनाउन मात्रै होइन हामीले घर, परिवार, समाज र राज्यबाट लाञ्छना र विभेद भोग्दै आएका छौ । हामीले भोग्दै आएका लाञ्छना र विभेद अन्त्य गर्ने कानुन बन्ने थलो संविधान सभामा हाम्रो प्रतिनिधित्व भएको छैन । हामीलाई चुनाव अघि भोट बैंकको रुपमा दलहरुले संविधान सभामा पुर्याउँछौ भने पनि एक जना पनि समलिंगी तेश्रोलिंगीलाई संविधान सभामा कुनै पनि दलले पुर्याएनन् । तामझामका साथ पार्टी प्रवेश गराएको नेकपा एमालेले समेत संविधान सभामा पुर्याउन कुनै चासो दिएको छैन । नेपाली काँग्रेसले पनि समलिंगी तेश्रोलिंगीलाई संविधान सभामा पुर्याउन कुनै पहल गरेको छैन । विघठित संविधान सभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व सुनिलवावु पन्तले गर्नु भएको थियो । तर अहिले एक जना पनि समलिंगी तेश्रोलिंगीको संविधान सभामा प्रतिनिधित्व भएको छैन । हामी अधिकार विहिन समलिंगी तेश्रोलिंगीको अधिकार संविधानमा लेखाउन संविधान सभामा हाम्रो प्रतिनिधित्व गराउन राजनीतिक दल र सरकारलाई आग्रह गर्छौ । मन्त्रीपरिषद्ले मनोनित गर्ने २६ जनामा कम्तीमा ३ जना समलिंगी तेश्रोलिंगीलाई मनोनित गर्न हामी आग्रह गर्छौ । संविधान लेख्ने थलो संविधान सभामा हामीलाई प्रतिनिधित्व गराउनै पर्छ । संविधान सभामा हाम्रो प्रतिनिधित्व गराउनका लागि पत्रकार साथीहरुले सहयोग गर्नुहुनेछ भन्नेमा हामीलाई पूर्ण विश्वास छ । हामी अव चुप लागेर बस्दैनौ । संविधान सभामा प्रतिनिधित्व नगराएसम्म हामी निरन्तर आन्दोलन गर्छौ । समलिंगी तेश्रोलिंगीलाई राजनीतिक दल र सरकारले संविधान सभामा पुर्याउनु पर्छ भनेर हामी खवरदारी गरिरहन्छौ । यसमा पत्रकारको साथ सहयोग निरन्तर रहनेमा हामी विश्वस्त छौ ।
अध्यक्ष
पिंकी गुरुङ

मिति २०७०।०९।२६

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.