समलिंगी तेश्रोलिंगीले संविधान सभामा आफूहरुको प्रतिनिधित्व नभए आन्दोलन गर्ने

समलिंगी तेश्रोलिंगीले संविधान सभामा आफूहरुको प्रतिनिधित्व नभए आन्दोलन गर्ने

रुपन्देही (पहिचान) माघ २ -समलिंगी तेश्रोलिंगीले संविधानसभामा मनोनित गर्ने २६ सिटमा आफ्नो समूदायको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरेका छन् । संविधानमा आफ्नो समुदायको हक अधिकार स्थापित गर्न कानुन बनाउने थलो संविधानसभामा आफूहरुको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने समलिंगी तेश्रोलिंगीको माग छ । समलिंगी तेश्रोलिंगीको संस्था नील हीरा समाजले विहिबार बुटवलमा पत्रकार सम्मेलन गरी २६ सिटमध्ये सकेसम्म तीन सिट, नभए न्युनतम १ सिट आफ्नो समुदायलाई दिनुपर्ने माग गरेको हो ।

समाजले आफूहरुको प्रतिनिधित्व सुनिश्चित नहुदासम्म काठमाडौं सहित देशका मुख्य शहरमा शान्तिपुर्ण दवावमुलक कार्यक्रम गर्ने चेतावनी दिएको छ । समानुपातिक उम्मेदवार रहेकी तेश्रोलिंगी आनिक रानाले देशभर समलिंगी तेश्रोलिंगीको जनसंख्या अनुमानित ७ लाख रहेको दावी गर्दै यति ठूलो समुदायलाई दलहरुले उपेक्षा गर्नु विडम्बना भएको गुनासो गरिन ।
चुनाव अघि विभिन्न दलहरुले आश्वासन दिएर प्रयोग गरे तर अहिले सबैले बेवास्ता गरेपछि अन्तिम विकल्पस्वरुप सरकारसंग माग गरेका हौं’–रानाले पत्रकार सम्मेलनमा भनिन ः एमालेले त हाम्रो समुदायका पुर्व सभासद सुनिलवावु पन्तलाई पार्टी प्रवेश गराएर प्रतिनिधित्व गराउने सार्वजनिकरुपमै भनेको थियो, उसैले झन धोका दियो ।’ संविधानमा समलिंगी तेश्रोलिंगीको विषयमा केही उल्लेख नहुंदा नागरिकता र पासपोर्ट बनाउन कठिनाई झेल्नुपरेको, परिवार र  समाजमा समेत अपहेलना, विभेद र लाञ्छना भोग्नुपरेकाले नयां संविधान लेखनमा आफ्नो समुदायको प्रतिनिधित्व चाहेको रानाले बताइन ।
हामीले संविधानसभामा त्यस्तो ठूलो माग र भाग केही खोजेका छैनौं,पहिचानको अधिकार संविधानमा लेख्न प्रतिनिधित्व मात्रै चाहेका हौं’– नील हिरा समाज रुपन्देहीकी कार्यक्रम प्रमुख तेस्रोलिंगी मनिला न्यौपानेले भनिन ः संविधानसभालाई समावेशी बनाउने धनेर सबैले भनेका छन,हामीलाई बाहिर राखेर कसरी समावेशी हुन्छ ?’ नील हिरा समाज नवलपरासीकी प्रमुख तेस्रोलिंगी पुष्पा लामाले आफूहरुको सहभागिता विनाको संविधान मान्य नहुने बताइन ।
संविधान सभाको चुनावमा दुई वटा दलबाट समानुपातिकमा एक–एक जना र प्रत्यक्षमा एक जना तेस्रोलिंगीको उम्मेदवारी परेको भएपनि उनीहरु पराजित भएका थिए । चुनाव अघि उनीहरुले ६० जनाको उम्मेदवारी घोषणा गरेका थिए । विघठित संविधान सभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व सुनिलवावु पन्तले गरेका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.