शिक्षक शिक्षिका पहिचान गर्दै समलिंगी तेश्रोलिंगी

शिक्षक शिक्षिका पहिचान गर्दै समलिंगी तेश्रोलिंगी

  • शनिबार, माघ २५ २०७०

कास्की (पहिचान) माघ २५ -नील हिरा समाजले संचालन गरेको समलिंगी तेश्रोलिंगी मैत्री विद्यालय बनाउने अभियान देशव्यापी बनाउन शिक्षक शिक्षिकाले सुझाव दिएका छन् । समलिंगी तेश्रोलिंगीबारे एक दिने तालिम लिएका र तालिम दिएका प्रशिक्षक शिक्षक शिक्षिकाले समलिंगी तेश्रोलिंगी मैत्री विद्यालय बनाउने अभियान देशव्यापी बनाउन समाजलाई सुझाव दिएका हुन् । नील हिरा समाज र नौलो विहानीले पोखरामा गरेको समिक्षात्मक कार्यक्रम सहभागी शिक्षक शिक्षिकाले समलिंगी तेश्रोलिंगीबारे आफूहरुमा रहेको भ्रम हटेको र विद्यालयलाई समलिंगी तेश्रालिंगी मैत्री बनाउने प्रतिवद्धता व्यक्त गरे ।
बालबालिकाको दोश्रो पाठशाला विद्यालयमा समलिंगी तेश्रोलिंगीलाई अध्ययन गर्नबाट वञ्चित गर्नु अपराध हुने बुझेको र पहिलो पाठशाला घरका अभिभावकलाई बुझाउन पर्ने आवश्यकता महसुस गरेको समिक्षात्मक कार्यक्रम सहभागी शिक्षक शिक्षिकाले बताए । यो अभियान यतिमा मात्रै सिमित नगर्नुहोस् सहभागी सबै शिक्षक शिक्षिकाले एकै स्वरमा भने ः देशभरका शिक्षक शिक्षिका र अभिभावकलाई चेतना दिनु आवश्यक छ ।
महिला पुरुष मात्रै नभएर अन्य भनेर पनि अध्यापन गराउनुपर्ने चेतना आफूमा जागेको बाराही उच्च मावि कस्कीकी शिक्षिका जीवनकुमारी सिलवालले बताइन । समलिंगी तेश्रोलिंगीलाई बसाई व्यवस्थापन गर्नु पर्ने रहेछ सिलवालले भनिन् ः महिला एकातिर पुरुष अर्कोतिर राख्नु भन्दा जसलाई जो सँग मन पर्छ उसलाई उ बस्न चाहेको वेञ्चमा बस्नु दिनु पर्छ । जन्मदा पुरुष हुर्कदै बढ्दै जादाँ महिला स्वभाव, जन्मदाँ महिला हुर्कदै बढ्दै जाँदा पुरुष स्वभाव यस्ता व्यक्तीको स्वभाव बदल्ने प्रयास नगरौ सिलवालले भनिन् ः यस्ता व्यक्तीलाई अध्ययनमा विभेद गर्नु हुँदैन । सिलवालले समलिंगी तेश्रोलिंगी मैत्री विद्यालय बनाउने अभियान पूर्ण नभएको र यसलाई निरन्तरता दिदै देशव्यापी बनाउनु पर्नेमा जोड दिइन ।
शालिग्राम उच्च मावि स्याङजाका शिक्षक चिरञ्जिवी आचार्यले यो अभियानले परिवर्तनको झल्को दिएको र समलिंगी तेश्रोलिंगी माथि भइरहेको हेयको दृष्टिकोण परिवर्तन गर्न सहजता प्रदान गरेको बताए । उनले समलिंगी तेश्रोलिंगी विद्यार्थीलाई छात्रवृत्ती उपलव्ध गराउन सबै विद्यालयका शिक्षक शिक्षिकाले पहल गर्नु पर्ने बताए । उनले पहिचान सहितको प्रमाणपत्र दिने विषयमा जिल्ला शिक्षा कार्यालय सहित माथिल्लो निकायलाई हुगार्ने बताए । चिरञ्जिवीले पर्वतमा दुई जोडी समलिंगीको पहिचान भएको सुनाए । उनले आफ्नो विद्यालयले समलिंगी तेश्रोलिंगी मैत्री बनाउने निर्णय गरेको बताए । विश्व वैंकको सहयोगमा समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता, नील हिरा समाजका संस्थापक एवं पूर्व सभासदे सुनिलवावु पन्तले प्रशिक्षक बनाएका शिक्षकले दिएको प्रशिक्षणमा सहभागी प्रतिनिधि शिक्षक शिक्षिकाको एक दिने तालिम पछिको सुनाउँदै अर्का शिक्षक गोविन्द साप्कोटोले समलिंगी तेश्रोलिंगी मैत्री विद्यालय मात्रै नभएर समलिंगी तेश्रोलिंगी मैत्री अभिभावक बनाउने अभियान चलाउन पनि सुझाव दिए । उनले हरेक ठाउँमा यो विषय उजागर गरेर आफूहरु प्रेरणाको श्रोत बन्न चाहेको बताए । उनले यस विषयमा राज्यको तर्फबाट सोच्नु पर्ने र यसको दायीत्व राज्यले लिनुपर्नेमा जोड दिए । देवी प्रसाद बस्याल
तेश्रोलिंगी हुनु प्राकृतिक कुरा
मानविय भावना एकै कहाँ छर, समान पहिचान सम्मान र अधिकार
पुरुष महिला तेश्रोलिंगी भनेर, तथ्याङक राखौ सबैलाई गनेर
भगवानका पालामा तेश्रोलिंगी थिए, अर्जुनले व्रिहन्नलाको रुप लिए
नारेश्वर, शीव जानेकै कुरा, वहुकारा देवी थिए भागीरथ
जमाना फिर्दै जगतमा आयो, एलजिविटिआईको चेतना फैलायो
कानुनी मान्यता तिनलाई दिनु, उनकै अधिकार हो नागरिकता लिनु
हामी जुटेका छौ तिनकै आवाजमा, एड्भोकेसी गर्दै हिड्छौ जगतमा
विडिएस आयो खोजी गर्दै यहाँ, तेश्रोलिंगीहरु बसेका छन् कहाँ
खोजिन्छन अव कहाँ छन् भनेर, दिलाइन्छ अधिकार हामी सब मिलेर
तेश्रोलिंगी मैत्री विद्यालय बनाऔ, मानवीय प्रकार सबैलाई जनाऔ
शिक्षक यस्को प्रमूख बाहक हुन्छ, यिनकै कार्यक्रमले सबैलाई छुन्छ
पाठ्यक्रम बन्छ यसकै आधारमा, चेतना फैलाउ सबैको घर घरमा ।।
देवीलाल बस्यालले मात्रै होइन नील हिरा समाजको समलिंगी तेश्रोलिंगी मैत्री विद्यालय बनाउने अभियान देशैभर फैलाउनु पर्ने आवाज पटक पटक भने । राज्यले सम्वोधन गर्नु पर्छ समिक्षात्मक कार्यक्रममा सहभागी शिक्षक शिक्षिकाले भने ः यो विषयमा राज्यले ध्यान दिएको पाइएन । १४ बर्षको उमेर विवाह भयो, १५ बर्षको उमेरमा बच्चा जन्मियो विमला गुरुङले भनिन ः सिंगारु त जन्मिएन नि ? आफ्नो परिवारमा यो शव्द सुन्दा के भनेको होला जस्तो लागेपनि नील हिरा समाजले दिएको तालिमबाट बुझ्ने मौका पाएको सुनाइनन् । उनले समलिंगी तेश्रोलिंगीलाई आत्मसात गर्दै गाविस, जिविसलाई बजेट छुट्टयाउन आग्रह गरेको जानकारी दिइन । केटी भएर केटी लिएर बस्ने एक जना दाईको भनाई उद्धृत गर्दै विमलाले भनिन ः उसले आफ्नी बहिनीलाई धेरै हप्काउथ्यो । अहिले थाहा भयो म जस्ता धेरैलाई यो विषयमा जानकारी दिन आवश्यक छ ।

प्रधुम्न पनेरु उच्चमाविका कृष्ण खड्काले तेश्रोलिंगी लेखेकोमा जिज्ञासा आएको बताउँदै यौनिक तथा लैगिंक पहिचान स्वीकार गर्न अझै पनि नसक्नेहरु रहेको बताए । समिक्षात्मक कार्यक्रममा सहभागी शिक्षक शिक्षिकाले समलिंगी तेश्रोलिंगी मैत्री विद्यालय बनाउने अभियान मोवाइल क्लिनिककै रुपमा अगाडि बढाउनु पर्ने सुझाव दिए । रिता आचार्य छात्र र छात्रा बाहेक अरु शव्द प्रयोग गरिएको नसुनेकाले समलिंगी तेश्रोलिंगीको विषय शुरुमा नौलो लागेपनि अव आफ्नो विद्यालयलाई समलिंगी तेश्रोलिंगी मैत्री बनाउने प्रतिवद्धता जनाइन । आफ्नो विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने एक जना केटा तर केटीको हाउ भाउ देखाउने विद्यार्थी भएको सुनाउँदै उनले भनिन समलिंगी तेश्रोलिंगीलाई उचित किसिमको माया, ममता र सम्मान दिनु पर्र्यो ।

जिल्ला शिक्षा अधिकारी कार्यालय कास्कीको विद्यालय प्रशासन शाखाका कृष्णप्रसाद भण्डारीले सुनेको मात्रै विषय भएकाले आफूमा केही भ्रम रहेको स्वीकार गर्दै अहिले हरेक महिनाको १ गते हुने जिल्ला शिक्षा कार्यालयको कार्यक्रममा अरुलाई पनि समलिंगी तेश्रोलिंगीबारे बुझाउने गरेको बताए । उनले समलिंगी तेश्रोलिंगीको वयवहारबारे बताएर योजना बनाउन पहल गर्ने र सुधारात्मक काम गर्ने प्रतिवद्धता जनाए । प्रेस चौतारी कास्की अध्यक्ष श्याम कुँवरले समलिंगी तेश्रोलिंगीबारे बुझाएमा एकरुपता ल्याउन सहयोग गरेको बताए । आफुहरुले यौनिक तथा लैगिंक अल्पसंख्यकको विषयमा बुझ्ने अवसर पाएको बताउँदै राज्यबाट अधिकार दिलाउन पहल एवं ध्यानाकर्षण गराउने बताए । शिशुकल्याण निमावी निर्मल आचार्यले लुकेर रहेकालाई खुलेर आउने वातावरण बनाउने प्रतिवद्धता जनाए ।

कार्यक्रमा समलिंगी तेश्रोलिंगी मैत्री विद्यालय अभियानका फोकल पर्सन रेमश पन्तले अभियानका क्रमम केही समलिंगी तेश्रोलिंगी व्यक्ति पहिचान भएको बताए । पन्त लगायतका प्रशिक्षकले यो अभियानलाई शहरमा मात्रै नभएर ग्रामिण क्षेत्रमा पनि पुरयाउनु पर्नेमा जोड दिएका दिए । नील हिरा समाजको शाखा कार्यालय नौलो विहानी पोखराका राजु थकाली र नील हिरा समाजका प्रशासन प्रमूख परशु राईले समलिंगी ते।ोलिंगीलाई हेर्ने दृष्टिकोणमा आएको परिवर्तन सबै ठाउँमा पुरयाउने अभियानमा राज्यले कुनै सहयोग नगरेको बताए । नील हिरा समाजका वित्त प्रमूख विष्णुराज पन्तले शुरुमा लुकेर कार्यक्रम संचालन गर्नु परेको अवस्था सुनाउँदै अव ति दिनबाट यो दिनमा आउँदा आफूलाई धेरै खुशी लागेको बताए । शिक्षिका ऐश्वर्या रेग्मीले हिजडा भन्ने मात्रै सुनेको बताउँदै आफुहरुले समलिंगी तेश्रोलिंगीको भावना प्रति दमन गरेको महसुस भएको सुनाइन । समिक्षात्मक कार्यक्रममा सहभागी शिक्षक शिक्षिकाले नील हिरा समाजमा सुनिलवावु पन्तको नेतृत्व आवश्यक रहेको बारम्वार भने । नील हिरा समाजमा सुनिलवावु पन्तको आवश्यक छ, उहाँको नेतृत्व विना यो अभियान अगाडि बढ्नेमा शंका छ कार्यक्रममा सहभागी शिक्षक शिक्षिकाले भने ः नील हिरा समाज र नौलो विहानीले सुनिलवावुलाई यो अभियानमा ल्याउनुहोस् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.