संविधानसभामा समलिंगी तेश्रोलिंगीको अनिवार्य प्रतिनिधित्व हुनु पर्ने मांग

संविधानसभामा समलिंगी तेश्रोलिंगीको अनिवार्य प्रतिनिधित्व हुनु पर्ने मांग

धनुषा (पहिचान) चैत्र १४ -संविधानसभामा मनोनयन हुने २६ जनामा समलिंगी तेश्रोलिंगीको अनिवार्य प्रतिनिधित्व हुनु पर्ने मांग गरिएको छ । समलिंगी तेश्रोलिंगीको हकहितका लागि कार्यरत संस्था सुनौलो बिहानी समाज धनुषा शाखाले गरेको पत्रकार सम्मेलनमा नील हिरा समाजकी तालिम अधिकृत सुशीला लामाले संविधानसभामा समलिंगी तेश्रोलिंगीको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने माग गरेकी हुन् ।

अझै पनि समाजमा अपहेलनाको शिकार बनिरहेका समलिंगी तेश्रोलिंगीको आवाज उठाउन संविधानसभामा समलिंगी तेश्रोलिंगीको अनिवार्य प्रतिनिधित्व हुनु पर्ने र मन्त्रीपरिषदबाट मनोनयन हुने २६ जना सदस्यहरुमा कम्तिमा दुई तीन जना समलिंगी तेश्रोलिंगीलाई समावेश गर्नु पर्ने आवश्यकता रहेको तेश्रोलिंगी तालिम अधिकृत लामाले माग गरिन । मुलुकभर ४ लाखको हाराहारीमा समलिंगी तेश्रोलिंगी रहेको भएपनि आफ्नो पहिचान पाउनबाट भने अहिलेसम्म वञ्चित रहनु परेकोमा दुख व्यक्त गर्दै लामाले भनिर्न हामी अझै पनि अपहेलित छौं, चाहे त्यो नागरिकताको सबाल होस अथवा आफुहरुले पाउने कुनै स्थानमा आरक्षणको कुरो होस काँही पनि पुरुष महिला बाहेक अन्य कुनै लिंगीले स्थान पाउन सकेको छैन । यो अत्यन्त दुखद अवस्था रहेको लामाको धारणा छ ।

नील हिरा समाजको धनुषा शाखाका संयोजक प्रदिप कुमार यादवले राहदानी बनाउँदा पनि समलिंगी तेश्रोलिंगीले आफ्नै पहिचान अनुसारको पहिचान खुलाउनु पर्ने भए पनि यो अझै पनि नहुँदा यो समुदाय मारमा परेको र अपहेलनाको शिकार बनेको गुनासो गरे । यादवले धनुषा जिल्लामा मात्रै ५ हजार भन्दा धेरै समलिंगी तेश्रोलिंगी रहेको र उनीहरु आफुहरुसंग नियमित सम्पर्कमा रहेको जानकारी दिए । यति धेरै संख्यामा समलिंगी तेश्रोलिंगी व्यक्तिहरु भएपनि राज्यले पहिचान दिन नसक्नु दुर्भाग्यपुर्ण रहेको यादवको भनाई छ । समाजमा सबै वर्ग, समुदायले आफ्नो पहिचान अनुसार नै बाँच्न पाउनु पर्ने बताउंदै अब बन्ने नयाँ संविधानमा समलिंगी तेश्रोलिंगीको पहिचानको लागि दवाव दिने उद्देश्यले यस समुदायको प्रतिनिधित्व संविधानसभामा अनिवार्य रहेको यादवको माग छ ।

अघिल्ले संविधानसभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व नोबेल शान्ति पुरस्कारको मनोनयनमा परेका सुनिलवावु पन्तले गरेका थिए । विडम्वना अघिल्लो संविधानसभा संविधाननै जारी नगरी भंग भयो । फेरी दोश्रो पटक गठन भएको संविधानसभामा एक जना पनि समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व भएको छैन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.