तेस्रोलिंगी डन मोहिनीले धम्की दिए फेरी हिरासतमा लिने : प्रहरी प्रशासन

तेस्रोलिंगी डन मोहिनीले धम्की दिए फेरी हिरासतमा लिने : प्रहरी प्रशासन

काठमाडौं (पहिचान) चैत्र २५ – काठमाडौंका प्रमूख जिल्ला अधिकारी एकनारायण अर्यालले अपराधमा संलग्न जो जुकै व्यक्ति उम्कन नपाउने वताएका छन् । समाजमा डर त्रास फैल्याउने ब्यक्तिलाई सार्वजनिक अपराध ऐन अन्तरगत मुद्धा लगाएर हिरासतमा राख्न सकिने भन्दै अर्यालले कोही कही कतैबाट असुरक्षीत भए प्रहरी समक्ष जान आग्रह गरे ।

आफुलाई भेट्न बुधबार आफ्नै कार्यकक्षमा पुगेको यौनिक तथा लैगिंक अल्पसंख्यकको अधिकारका लागि काम गर्दै आएको संस्था नील हिरा समाजको प्रतिनिधि मण्डलसँग प्रजिअ अर्यालले प्रहरीमा उजुरी गरे एउटै ब्यक्तिले पटक पटक धम्क्याए वा कुटपीट गरे सार्वजनिक अपराध ऐन अन्तरगत पटक पटक थुनामा राख्न सकिने बताए । हिरासतमा रहेका तेस्रोलिंगी डनको रुपमा चिनिएका दिलिप राई मोहीनीले केही यौनिक तथा लैगिंक अल्पसंख्यकलाई ज्यान मार्ने तथा अङग भङग बनाइदिने धम्की दिएपछि आँफुहरु असुरक्षित भएको महशुस गरेको भन्दै आवश्यक सुरक्षा प्रवन्ध मिलाईदिन नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले गरेको आग्रहमा प्रजिअ अर्यालले त्यस्तो धम्कि दिने ब्यक्ति रिहा भएपनि सार्वजनिक अपराध ऐन अन्तरगत फेरी मुद्धा चलाउन सकिने बताए ।

प्रजिअ आर्यालले आफुले यौनिक तथा लैगिंक अल्पसंख्यकको प्रतिनिधि मण्डलले राखेको मागलाई गम्भिरता पूर्वक लिएको र महानगरिय प्रहरी परिसर काठमाडौंमा समेत यसबारे गम्भिर बन्न आग्रह गरिसकेको बताएका समाजकी अध्यक्ष गुरुङले जानकारी दिइन् । अर्यालले प्रहरी प्रशासनले आफूलाई तेस्रोलिंगीको डन भन्दै ज्यानै मार्नेसम्मको धम्की दिने राईलाई विशेष निगरानीमा राख्न आफुले निर्देशन दिएको पनि बताए ।

नील हिरा समाजका कानुनी सल्लाहकार एवं अधिवक्ता प्रेम बहादुर थापाले मोहिनीको पटक पटकको धम्की, कुटपीट, सार्वजनिक दुरव्यवहार अन्त्य गर्न प्रशासनले सहयोग गर्ने बिश्वास व्यक्त गरे । जुनसुकै किसिमका डर, धम्कि तथा त्रास फैल्याउने ब्यक्ति कानुनको भागिदार हुने अधिबक्ता सुजन पन्तले बताए । पन्तले कसैलाई अंगभङ हुने गरी कुटपिट गरे पीडितले ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गर्न सक्ने कानुनी प्रावधान रहेको र त्यस्तो अभियोग प्रमाणीत भए २० वर्ष सम्म जेल सजाय हुने बताए । तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठ, सिर्जु थापा, मुस्कान, पीडित तेस्रोलिंगी साथी शिक्षक अनिल शेर्पा लगायतले अझै पनि मोहिनीको यसअघिका त्रास र आतंकले आफूहरु डराइरहनु परेको वताए ।

मोहिनी हिरासत मुक्त भएपछि आफूहरुको जीवन रक्षा नहुने खतरा रहेको भन्दै उनीहरुले सुरक्षा दिलाइदिन प्रजिअ अर्याल समक्ष आग्रह गरे । यसैगरी महानगरिय प्रहरी परिसर काठमाडौं प्रहरी बरिष्ठ उपरिक्षक उत्तमकुमार कार्कीले समलिंगी तेस्रोलिंगीलाई अन्याय नसहन आग्रह गर्दै प्रहरी संधै समलिंगी तेस्रोलिंगीको साथमा रहेको बताए । उनले दोषी राईमाथी कडा कारबाही हुने तर त्यसका लागि यौनिक तथा लैगिक अल्पसंख्यक र नील हिरा समाजले साथ दिनु पर्ने बताए ।

हनुमानढोकामै पुगेका समलिंगी तेस्रोलिंगीलाई प्रहरी बरिष्ठ उपरिक्षक कार्कीले स्वतन्त्र पूर्वक हिडडुल गर्न पाउने अधिकार सबै नागरिकमा समान रहेको वताउँदै अरुलाई असर पर्ने काम नगर्न सुझाव पनि दिए । नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङको नेतृत्वमा हनुमानढोका पुगेका समलिंगी तेस्रोलिंगीले मोहिनीले आफूहरुको कोठामा आएर विभिन्न सामान चोरी समेत गर्ने गरेको वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.