‘हामीलाई हासोको पात्र नबनाईयोेस’

‘हामीलाई हासोको पात्र नबनाईयोेस’

काठमाडौं (पहिचान) साउन ९ – हामीले यति धेरै के नै मागेका छौ र ? कोटा चाहियो भनेका छैनौ, आरक्षणको माग गरेका छौनौ, न त आयोग नै चाहियो भनेका छौ । हामीले केवल मागेका छौ त नागरिक पहिचान, थोरै आत्म सम्मान, जीवनको अधिकार, थोरै समानता अनि बिभेद हिंसाबाट संरक्षण, बस । के यति आधारभुत अधिकार दिन पनि तपाईहरु तयार हुनु हुन्न र ? नेकपा एमालेका सचिव शंकर पोखरेल र एमाले संसदीय दलका प्रमूख सचेतक अग्नी खरेलसँग यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीहरुले भने, के हामी समलिंगी तेस्रोलिंगी भएर जन्मनु नै हाम्रो अपराध हो त ?

समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ, कार्यकारी निर्देशक मनिषा ढकाल, तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठ, भक्ती शाह र मलायका लामाले एमाले पार्टी कार्यालय बल्खुमा पुगेर संबिधानको मस्यौदमा लेखिएको यौनिक अभिमुखीकरण शब्द नहटाउन आग्रह गरे । एमाले सचिव शंकर पोखरेलले यौनिक तथा लैगिंक अल्पसंख्यक लेख्दा पुग्दैन र ? भन्ने प्रश्न गर्दा समलिंगी तेस्रोलिंगीले भने, यौनिक अभिमुखीकरण भए मात्रै हाम्रो समूदायको अधिकार लेखिन्छ ।

IMG_20150725_121546206पोखरेलले यसबारे पार्टीमा र संबिधान सभामा कुरा उठाउने बताउँदै मस्यौदामा यौनिक तथा लैगिंक अल्पसंख्यकको अधिकार लेखिने प्रतिवद्धता जनाए । एमाले संसदीय दलका प्रमूख सचेतक अग्नी खरेलले अल्पसंख्यकको परिभाषाका बिषयमा लामो छलफल भएकाले छुट्टै यौनिक तथा लैगिंक अल्पसंख्यक राखिएको वताए । अधिकार लेखिदैन भनेर नआत्तिन खरेलले यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीलाई आग्रह गरे । सचिव पोखरेल र प्रमूख सचेतक खरेललाई यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायले लिखित सुझावनै पेश गरे ।
लिखित सुझाव यस्तो छ :
हेर्नुहोस हामी सदियौदेखि हेपिएका, बहिष्करणमा परेका, विभेद र हिंसाको सिकार भएका अल्पसंख्याक समूदाय हौ । आज सम्म हामीले न त परिवारबाट माया पायौ, न त छिमेकीले हामीलाई स्वीकार गरे, न त समाजले हामीलाई कुनै इज्जत नै गर्छ, र न राज्यबाट हामीले कुनै संरक्षण नै पाएका छौ । घरबाट निकालिनु परेको छ, गाउँ घर छोड्न बाध्य छौ । सडकमा हिड्दा मानिसहरुले गालि गर्ने, लछार पछार गर्ने, लखेट्ने गर्छन । डेरा पाइदैन बस्नलाई, धेरैले पढ्न पनि पाएनौ । हातमा सीप छैन, काम पनि सितिमित कसैले दिदैनन् । दिइहाल्यो भने पनि हाम्रो हरेक स्वभाव र पहिचान थाहा पाएर जागिरबाट निकाली दिन्छन् । के यही हो त हामीले जन्मसिद्ध ल्याएको अधिकार उपभोग गर्न पाएको ? के २१ ऋौ शताव्दीमा लेखिने संबिधानले हामीलाई अलिकति पनि संबोधन नगर्ला त ?

फेरी हामीले यति धेरै के नै मागेका छौ र ? कोटा चाहियो भनेका छैनौ, आरक्षणको माग गरेका छौनौ, न त आयोग नै चाहियो भनेका छौ । हामीले केवल मागेका छौ त नागरिक पहिचान, थोरै आत्म सम्मान, जीवनको अधिकार, थोरै समानता अनि बिभेद हिंसाबाट संरक्षण, बस । के यति आधारभुत अधिकार दिन पनि तपाईहरु तयार हुनु हुन्न र ? के हामी समलिंगी तेस्रोलिंगी भएर जन्मनु नै हाम्रो अपराध हो त ? हेर्नुस हामीले धेरै अन्याय सहि सकेका छौ । अब हामीले पनि मुक्ति पाउनु पर्छ । अब हामीलाई समाजमा हासोको पात्र, हेलाको पात्र वा गालिको पात्र बनाई नराख्नु होस । हामी पनि सामान्य ढंगले एउटा सम्मानित नागरिक भएर बाँच्न चाहन्छौ ।

एउटा सम्मानित पेशा अपनाएर परिश्रम गरेर बाँच्न चाहन्छौ । बस राज्यले हामीलाई पहिचान र समान अवसर मात्र प्रदान गरोस । हामी दुख गरेर बाच्न सक्छौ । के यहाँले हामीलाई मद्धत गर्र्नु हुन्छ ? यहाँबाट हामीले ठूलो आशा लिएका छौ । यो संबिधानले हामीलाई नेपाली नागरिक र हाम्रो पहिचान स्थापित गर्छ भन्नेमा । सबैको अधिकार लेख्ने थलो संबिधान सभाले हाम्रो समूदायको अधिकार लेख्नेमा हामी बिश्वस्त हुँदै यौनिक अभिमुखीकरणबारे प्रष्ट हुन आग्रह गछौ । साथै संबिधानको मस्यौदामा लेखिएको यौनिक अभिमुखीकरण, यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकार नहटाउन पनि अनुरोध गर्दछौ ।
नील हिरा समाज

मनिषा ढकाल                                         पिंकी गुरुङ
कार्यकारी निर्देशक                                       अध्यक्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.