‘म नै हुँ तेस्रोलिंगी’

‘म नै हुँ तेस्रोलिंगी’

नरेश फुयाँल / ‘म जन्मिदा बालक भएर जन्मिए । टिनेज कालमा मेरो सामाजिक लिंग केटाको रह्यो । अहिले म महिलाको भेषमा हिडीरहेको छु । अरुलाई यो मेरो स्वरुप देख्दा मन नपर्दो हो । कतिलाई त नपच्ला तर यसैमा मलाई गर्व छ’ नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ्ग आफ्नो कथा सुनाउँछिन्, म केटा भएर जन्मिए पनि विस्तारै ममा केटीको व्यबहार विकास हुँदै गयो अहिले मलाई केटा मन पर्छ । यही कुरालाई लिएर म जस्ता व्यक्तिलाई कतिले अप्राकृतित भन्छन् । तर, जसरी एक विपरितलिंगी केटालाई केटा मन पर्दैन त्यसैगरी मलाई केटी मन पर्दैन भने म कसरी अप्राकृतिक भएँ ? उनले प्रश्न गरिन् ।
pinki‘समाजले अझै हामीलाई छक्का, हिजडा, नपुसंक जस्ता अपशब्दहरु प्रयोग गर्ने गर्छन् । यो नबुझेर हो छक्का भनेका हामी होइनौं, हिजडा भनेको भारतीय तेस्रोलिंगीहरुमा रहेको एउटा कल्चर हो’, गुरुङ्गले भनिन्, ‘नपुसंक भनेको सन्तान उत्पाद गर्न नसक्ने व्यक्तिहरुलाई भनिन्छ । त्यो पनि हामी होइनौं ।’
अगाडी खचाखच भिड । मञ्चमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी एक नारायण अर्याल, स्थानीय विकास अधिकारी तिर्थराज भट्टराई तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु । भिडबाट एक महिला उठिन्, फटाफट मञ्चमा गएर उभिइन र भनिन्, हामी काममा डुप्लिकेसन गर्दैनौं । जनस्तरमै गएर काम गर्छौ । हाम्रा थुप्रै उपलब्धिहरु छन् । नयाँ संविधानमा हाम्रो अधिकार लेखिदैछ, राहदानी पायौं, म जस्तो तेस्रोलिंगीले अन्य उल्लेख गरेर नागरिकता लिन सकेका छौं । यि हामिले हाम्रै डेढ दशकको कार्यकालमा प्राप्त गरेका उपलब्धि हुन् । आइतबार जिल्ला विकास समिति काठमाडौंले आयोजना गरेको गैरसरकारी संस्थाहरुको वार्षिक प्रगति समिक्षा कार्यक्रममा तेस्रोलिंगी महिला मनिषा ढकालले आँफुलाई यसरी प्रस्तुत गरिन् । Manisha-1
समलिंगी तेस्रोलिंगीहरु आँफुलाई राज्यले पछि पारेको बताउँछन् । अप्राकृतिक भन्दै अन्य व्यक्ति सरह अधिकार नदिएको उनीहरुको गुनासो छ । ‘विश्व स्वास्थ्य संगठनले सन् १९९० मा नै हामीलाई प्राकृतिक भएको भन्ने पुष्टि गरिसकेको छ,’ यौनिक तथा लैगिक अल्पसंख्यकको अधिकारका लागि काम गर्दै आएको संस्था नील हिरा समाजकी कार्यकारी निर्देशक समेत रहेकी तेस्रोलिंगी महिला मनिषा ढकाल भन्छिन्, ‘तर अझै पनि हामीलाई राज्य तथा समाजले अन्य नागरिक सरह हेर्न सकिरहेको छैन ।’ यद्यपी पछिल्ला वर्षहरुमा समलिंगी तेस्रोलिंगीलाई राज्य तथा समाजले हेर्ने नजरमा सकारात्मक परिवर्तन भने आउन थालेको ढकाल बताउँछिन् ।
मैले आँफैलाई चिनिको रहेनछु
तेस्रोलिंगी भएर बेलाबेलामा सञ्चार माध्यममा छाइरहने एउटा परिचित नाम हो : भूमिका श्रेष्ठ । आफुलाई समाजबारे थाहै नहुँदा देखी आमाको सिन्दुर, पोते, लिबिष्टिक जस्ता श्रृगारका सामान लगाउने भूमिकालाई सुरुमा आँफुलाई तेस्रोलिंगी भएको थाहै थिएन । रत्नपार्कको सडकमा एक दिन हिडिरहेको बेला बाटो हिड्ने ब्यक्तिले छक्का भनेर जिस्काएपछि छक्का भनेको के हो भन्दै त्यसको अर्थ खोज्न थाले पछि बल्ल उनले आँफु तेस्रोलिंगी महिला भएको थाहा पाइन् ।
bhumikaa-1‘आँफु परक पहिचानकै कारण समाजको नजरमा दोस्रो दर्जाको नागरिकको रुपमा बाँच्न बाध्य भएपछि म जस्ता अरु समलिंगी तेस्रोलिंगीले विभेदको शिकार हुनु नपरोस भनेर म नील हिरा समाज पुगें,’ भूमिकाले अगाडी भनिन्, ‘त्यहाँ सुनिल दाई (सुनिलबाबु पन्त)ले मलाई आँफु तेस्रोलिंगी भएकोमा अपसोच भन्दा पनि गर्व गरेर अधिकार प्राप्तिको बाटोमा लाग्न प्रेरित गर्नु भयो । उहाँले देखाएको बाटोमा अहिले हामी हिडिरहेका छौं ।’
काठमाडौं नैकापकी श्रेष्ठ राजनीतिक रुपमा पनि त्यतीकै सक्रिय छिन् । उनी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् । राजनीतिक दलहरुले राजनीतिक रुपमै यौनिक तथा लैगिक अल्पसंख्यकका मागलाई संबोधन गर्न नसकेसम्म समाजले आँफुहरुलाई सकारात्मक रुपमा लिन नसक्ने भएकाले आँफु राजनीतिमा लागेको उनी बताउँछिन् । ‘म नेपाली काँग्रेसमा आबद्ध छु, अरु केही साथीहरु अन्य पार्टीमा आबद्ध छन् । पार्टीमा हाम्रो सक्रियताकै कारण संविधान सभाको दोस्रो निर्वाचनमा अधिकांश ठूला राजनीतिक दलहरुले आफ्नो चुनावी घोषणा पत्रमा यौनिक तथा लैगिक अल्पसंख्यकका मुद्धालाई पनि समेटेका हुन् ।’ श्रेष्ठले भनिन् । संविधानसभाले जारी गरेको संविधानको प्रारम्भिक मस्यौदामा यौनिक अभिमुखिकरण कै आधारमा विभेद गर्न पाइदैन भन्ने उल्लेख गरिएको भन्दै श्रेष्ठले अब यसलाई समेट्ने गरी सरकारले कानुन बनाएको खण्डमा समलिंगी तेस्रोलिंगीले पनि अन्य नागरिक सरह अधिकार पाउने बताइन् । श्रेष्ठलाई संविधान सभाको दोस्रो निर्वाचनमा नेपाली काँग्रेसले समानुपातिकबाट संविधान सभा सदस्यका लागि सिफारिस गरेको थियो ।
अधिकारमा लामो फड्को
समाजका कानुनी सल्लाहाकार प्रेमबहादुर थापाले यौनिक तथा लैगिक अल्पसंख्यकका अधिकार बिस्तारै सुनिश्चित हुँदै गएको बताए । ‘सुरुमा यो समुदायले नागरिकता पनि पाएको थिएन । ‘२०६४ सालमा सर्वोच्च अदालतले समलिंगी तेस्रोलिंगीलाई पहिचान अनुसार नागरिकता दिन सरकारलाई आदेश जारी ग¥यो । त्यसपछि जिल्ला प्रशासन कार्यलयहरुले अन्य उल्लेख गरेर नागरिकता दिन थाले । यही हप्ताबाट सरकारले ओ उल्लेख गरेर राहदानि पनि दिन सुरु ग¥यो, राष्ट्रिय मानवअधिकार आयोगका पूर्व क्षेत्रिय प्रमुख समेत रहेका अधिबक्ता थापाले थपे, ‘यसरी ढिलै भएपनि अधिकार सम्पन्न गर्दै जानु भनेको राज्यले स्वीकार्नु हो ।’
समलिंगी तेस्रोलिंगीका मुद्दामा बहस तथा पैरवी गर्दै आएका अधिबक्ता सुजन पन्तले अब राज्यले समलिंगी विवाहलाई मान्यता दिनु पर्ने विचार व्यक्त गरे । ‘दुई व्यक्ति सँगै बस्न पाउने सर्वोच्च अदालतको आदेश पछि यसबारे अध्यनन गर्न गठित समितिले करिव ५ वर्ष लगाएर विभिन्न देशमा गएर गरेको सोध तथा अनुगमपछि अध्ययन प्रतिवेदन तयार पारेर बुझाएको छ’ पन्तले भने, ‘समितिले समलिंगी विवाहलाई मान्यता दिदा कुनै फरक नपर्ने आशयको सकारात्मक प्रतिवेदन दिएको कुरा बाहिर आइसकेको छ । प्रधानमन्त्रीको कार्यलयलाई बुझाएको उक्त प्रतिवेदन अहिले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय पुगेका छ । आशा गरौं प्रतिवेदनको सिफारिस अनुसार मन्त्रालयले त्यसलाई अगाडी बढाउने छ ।’
अध्ययन प्रतिवेदन महिला मन्त्रालयमा गएकोमा समाजकी निर्देशक मनिषा ढकालले भने आश्चर्य प्रकट गरिन् । ‘कानुन निर्माणका लागि त्यो फाइल कानुन मन्त्रालयमा जानु पर्ने हो,’ उनले भनिन्, ‘कानुन मन्त्रालयमा उक्त फाइल पठाएर तत्काल सरकारले कानुनी मान्यता दिनु प¥यो ।’ निर्देशक ढकालले समलिंगी विवाहले मान्यता पाए त्यो यौनिक तथा लैगिक अल्पसंख्यकको अधिकारको यात्रामा अर्को कोषे ढुङ्गा हुने बताइन् ।
‘मेरा लागि मै राम्रो’
समाजका उपनिर्देशक परशुराम राईले अमेरिका लगायतका विकसित देशमा यौनिक तथा लैगिक अल्पसंख्यकलाई अन्य नागरिक सरह समान ब्यबहार गरिए पनि तिनै राष्ट्रलाई आदर्श मानेर हिड्ने नेपालले भने लामो समयसम्म समलिंगी तेस्रोलिंगीको पहिचान नामेट पारेको गुनासो गरे । राईले भने, ‘महिला पुरुषबीचको सम्बन्ध जसरी विपरित लिंगीलाई जायज लाग्छ त्यसरी नै हामीलाई पनि समान लिंगीप्रतिको सम्बन्ध जायज लाग्छ । हामीले अरुको सम्बन्धमा प्रश्न चिन्ह उठाएका छैनौं भने हाम्रो संबन्ध र पहिचानमा अरुले किन अबरोध गर्न खोज्छन् मैले बुझेको छैन ।’ सबैले आफ्नो व्यक्तिगत चहाना अनुसार बाँच्न पाउनु नागरिकको मौलिक अधिकार भएको भन्दै उनले कसैको मौलिक अधिकार बञ्चित गर्ने छुट् कसैलाई पनि नरहेको बताए । ‘हाम्रो बारे अब सबैले थाहा पाउनु पर्छ, अनिमात्रै समाजमा हामी प्रतिको विद्यमान हेराईको अन्त्य हुन्छ,’ उनले भने, ‘यसका लागि माध्यामिक तथा उच्च शिक्षामा पाठ्यक्रममै यौनिक अभिमुखिकरणबारे अध्यापन गराइनुु पर्छ ।’ गत शैक्षिक सत्रदेखी कक्षा ६, ७ र ८ को स्वास्थ्य तथा शारीरिक शिक्षाको पाठ्यक्रममा समलिंगी तेस्रोलिंगीबारे सामान्य जानकारी समावेश गरिएको छ । राईका अनुसार अहिले नेपालमा करिव साढे ९ लाख समलिंगी तेस्रोलिंगी भए पनि समाजमा अपहेलनाको डरले सबै खुलेका छैनन् । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक देशमा ८ देखी १० प्रतिशत यौनिक तथा लैगिंक अल्पसंख्यकका ब्यक्ति जन्मिन्छन् ।
के हो समलिंगी तेस्रोलिंगी ?
यौनिक तथा लैगिंक अल्पसंख्यक भित्र एलजीवीटीलाई गरी ५ वटा फरक फरक समुदाय हुन्छन् ।
एल (लेसवीयन)—महिला समलिंगी : महिला भएर महिलालाई नै मन पराउने ।
जी (गे)—पुरुष समलिंगी : पुरुष भएर पुरुषलाई नै मन पराउने ।
वी (वायोसेक्सुवल) : केटा र केटी दुबैलाई मन पराउने ।
टी (थर्ड जेण्डर) : पुरुष तेस्रोलिंगी र महिला तेस्रोलिंगी
पुरुष तेस्रोलिंगी : जन्मिदा महिला तर पछि पुरुषको हाउभाउ तथा बानी ब्यहोरा विकास हुदै जाने र महिलालाई नै मन पराउने ।
महिला तेस्रोलिंगी : जन्मिदा पुरुष तर पछि महिलाको हाउभाउ तथा बानी ब्यहोर विकास हुँदै जाने र पुरुष नै मन पराउने ।
आई (इन्टरसेक्स) : महिला र पुरुष दुबैको यौनाङ्ग हुने जसलाई समानमा नपुङ्गशक भनिन्छ ।

साभार : कारोवार दैनिक

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading