तेस्रोलिंगीहरु महिला भन्दा पनि सयौं गुणा बढी विभेदमा छन् : खाँड

तेस्रोलिंगीहरु महिला भन्दा पनि सयौं गुणा बढी विभेदमा छन् : खाँड

काठमाडौं (पहिचान) कार्तिक १४ – नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले समलिंगी तेस्रोलिंगी लैंगिक आधारमा विभेदमा परेका महिला भन्दा सयौं गुणा बढी विभेदमा रहेको बताएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अवाज रेडियो कार्यक्रम ‘पहिचान’सँग कुरा गर्दै खाँडले घर भित्र र आफ्नै आमाबाट समेत यो समुदायका व्यक्तिहरु विभेदमा पर्ने गरेको बताए ।
‘पहिला पहिला लिंग भनेकै पुरुष र महिला मात्र भन्ने थियो’ खाँडले आफ्नो अनुभव सुनाउँदै भने, ‘०६४ सालको संविधानसभा चुनाव पछि जव संविधानमा जनमत संकलनमा निस्कियौं त्यसपछि मात्र यो लिंगका विषयमा मैले थाहा पाउने अवसर पाएको हुँ ।’ त्यतिवेला जनमत संकलनका क्रममा काठमाडौंमा खटिएका उनले समलिंगी तेस्रोलिंगी समुदायको मातृ संस्था नील हिरा समाजका अध्यक्षबाट धेरै कुरा थाहा पाएको बताए ।
‘हामी संविधानसभा भवन अन्तराष्ट्रिय सम्मेलन केन्द्रको हलमा जनमत बुझ्ने प्रयास गरिरहेका थियौं, त्यही आएर यो समुदायका अध्यक्षले छोटोमा प्रभावकारी रुपमा आफ्नो भनाइ राख्नुभयो’ उनले भने, ‘त्यसपछि विभेदको अवस्था सुनेर हामी सबै स्तब्ध भयौं ।’ उनले लैंगिक हिसावले विभेदको कुरा गर्दा उनीहरु महिला भन्दा त सयौं गुणा बढी विभेदमा भएको भेटिएको बताए । ‘समलिंगी तेस्रोलिंगीमाथि विभेदको क्रम त घरबाट नैं सुरु हुँदो रहेछ‘ उनले स्मरण गर्दै भने, ‘बलिन्द्र आँसु झारेर भुक्तभोगीहरुले विभेदको अवस्थाबारे जानकारी गराएपछि हामी सबैजना उनीहरुका अधिकार संविधानमा राख्नै पर्छ भनेर सहमत भएका हौं ।’ अघिल्लो संबिधान सभामा यो समूदायको तर्फबाट सुनिलबाबु पन्तको प्रतिनिधित्व थियो ।
उनले अहिले आफूसँग भएको जानकारी बारे भने, ‘पुरुषको जस्तो शरिर देखिने महिला हुँदो रहेछ, महिलाको जस्तो स्वरुप देखिने व्यक्ति बच्चा जन्मदा पुरुष भएको हुँदो रहेछ, कतिपयको त महिला वा पुरुष स्पष्ट नहुने अवस्था पनि हुँदो रहेछ ।’ खाँडले प्रकृतिले गरेको सृजनालाई कसैले पनि विभेदको नजरले हेर्न नहुने बताए ।
‘आजको विश्वमा विज्ञानले मानिसको चाहना अनुरुप उसको जैविक लिंग समेत परिवर्तन गरिदिन सक्छ’ खाँडले भने, ‘त्यस्तो चाहना भित्रै देखि आउने व्यक्तिलाई राज्यले भरपुर स्वतन्त्रताको उपयोग गर्ने वातावरण बनाउनुपर्छ ।’ उनले राज्य जनअधिकारका लागि ‘बाधक नभएर सहयोगी बन्नुपर्ने’ भन्दै संविधानले यो समुदायलाई संबोधन गर्न थालिसकेकाले अब कानुन बनाएर अधिकार सम्पन्न बनाउनुपर्ने बताए । ‘कांग्रेस सत्तामा हँदा पनि यो समुदायसहित सबै अधिकारका लागि उठेका आवाजको संबोधनमा लागेको थियो, अब प्रतिपक्षबाट सरकारलाई दवाव सृजना गर्छ र अधिकारको अवाज संबोधन गर्न बाध्य पार्छ’ खाँडले भने ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.