संबैधानिक अधिकार सुनिश्चितता भएपनि कार्यान्वयन चुनौतीपूर्ण

संबैधानिक अधिकार सुनिश्चितता भएपनि कार्यान्वयन चुनौतीपूर्ण

काठमाडौं (पहिचान) माघ ६ – यौनिक तथा लैंगिक अल्पसख्यक समुदायको अधिकारको संवैधानिक सुनिश्चितता भएपनि व्यवहारिक कार्यान्वयन चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका छन् । पत्रकारहरुसँग ‘नील हिरा’ समाजले गरेको अन्तरक्रियामा सहभागीहरुले समलिंगी तेस्रोलिंगीको संवैधानिक अधिकार प्राप्त भइसके पनि उनीहरुप्रति विभेद र बहिस्कारका घटना कायम रहेको भन्दै व्यवहारिकताका लागि कानुनी प्रष्टताको खाँचो औंल्याएका छन् ।

12625655_757061074394902_1139293170_nयस्तै सहभागीहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीको अधिकारका लागि संचारमाध्यमको सहयोग आवश्यक रहेको पनि बताए । कार्यक्रममा नेपाली संचार माध्यम बिस्तारै समलिंगी तेस्रोलिंगीका विषयमा सचेत हुँदै गएको नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले बताइन् । संस्था स्थापनाको चर्चा गर्दै समलिंगी तेस्रोलिंगीलाई आफ्नो अधिकारबारे थाहै नभएको समयमा २००१ मा सुनिलबाबु पन्तले नील हिरा समाज स्थापना गरेको बताइन् ।

सडकबाट सुरु गरेको संस्थाले संवैधानिक अधिकार प्राप्त गरेको भन्दै यसमा सहयोग गर्ने राजनीतिक दल, व्यवस्थापिका संसद र संचारमाध्यमप्रति गुरुङले आभार ब्यक्त गरिन् । नयाँ संविधानको धारा १२, १८ र ४२ मा यौनिक तथा लैगिक अल्पसंख्यकको अधिकार उल्लेख गरिएको छ । यसको कार्यान्वयनका लागि अब कानुन निर्माण गर्नु पर्ने आवश्यकतामा उनले जोड दिइन् । समाजमा अझै पनि समलिंगी तेस्रोलिंगीप्रति विभेद रहेको भन्दै यो अवस्था न्यूनिकरण हुँदै जाने विश्वास रहेको बताएकी उनले संचारमाध्यमको यसमा महत्वपूर्ण भूमिका रहने बताइन् ।

राज्यले समलिंगी तेस्रोलिंगीलाई विपरित लिंगी महिला पुरुषसरह अधिकार प्रदान नगरेका कारण कतिपय यौनिक तथा लैगिक अल्पसंख्यक यौन व्यवसायमा लाग्न बाध्य भएको उनको भनाई छ । हरेक समुदाय, जाती तथा भाषामा केही नाकारात्मक सोचका ब्यक्ति हुने भन्दै अध्यक्ष गुरुङले त्यसलाई नकारात्मक रुपमा लिन नहुने र सबैलाई एउटै बास्केटमा राखेर मूल्यांकन गर्न नहुनेमा जोड दिइन् ।

अधिकार प्राप्तिको अभियानमा संचारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउदै समाजका उप निर्देशक परशुराम राईले अधिकार प्राप्त गरेपछि लुकेर बसेका यौनिक तथा लैगिक अल्पसंख्यकका ब्यक्ति खुलेर आउने बताए । राईले संविधान अनुसार अब कानुनमा अधिकार उल्लेख गर्न सबैले सहयोग गर्नेमा आफु विश्वस्त रहेको बताए ।

पत्रकार महासंघका केन्द्रीय सदस्य माधव दुलालले समलिंगी तेस्रोलिंगीको अधिकारका लागि संचालित रेडियो कार्यक्रम पहिचानबारे चर्चा गर्दै यौनिक तथा लैगिक अल्पसंख्यकको मानव अधिकार उल्लघंन राज्यपक्षबाटै भइरहेको बताए । उनले प्रहरीले विना कारण र विना प्रमाण समलिंगी तेस्रोलिंगीलाई दुःख दिने काम गरेको जानकारी दिए । काम देखाउन मात्रै पनि प्रहरीले विना कारण यौन व्यवसायीको आरोप लगाउदै पक्राउ गर्ने र मुद्धा चलाउने गरेको भन्दै यस्तो अवस्थाको अन्त्य हुने पर्नेमा जोड दिए ।

अपराधमा संलग्नलाई पक्रन नसक्ने र काम गरेको देखाउन सडकमा हिडडुल गर्ने समलिंगी तेस्रोलिंगीलाई त्यो अरोप लगाउने गरेको उनले वताए । संचार जगतको सहयोग विना प्राप्त अधिकार संस्थागत हुन नसक्ने भन्दै पत्रकार दुलालले थप अधिकार प्राप्त गर्नका लागि पत्रकारहरुको सहयोग आवश्यक रहेको बताए ।

नेपाल प्रेस युनियनका सचिव खिला कार्कीले हरेक समाज, जाती, समुदाय तथा लिंगमा एकै प्रक्रिती र स्वाभावका मान्छे नहुने भन्दै कोही ब्यक्ति खराव भए भन्दैमा समग्र समुदायलाई नै यसमा मुछिनु र लाल्छना लगाउनु न्यायासंगत नुहुने धाराणा राखे । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य रमेश वाग्लेले मानव अधिकारलाइ समाचार लेखनको क्षेत्र बनाएर काम गर्ने पत्रकारहरुका लागि यौनिक तथा लैगिक अल्पसंख्यकको विषय महत्वपूर्ण हुने बताए । सुरुमा आफुलाई यसबारे केही जानकारी नभए पनि बिस्तारै यौनिक तथा लैगिक अल्पसंख्यकको विषय मानवअधिकारका विषयमा महत्वपूर्ण रहेको जानकारी पाएको भन्दै सतहमा भन्दा पनि विषयको गहिराईमा गएर समाचार संकलन गर्नु पर्नेमा उनको जोड छ ।

अधिबक्ता सुजन पन्तले यौनिक तथा लैगिक अल्पसंख्यकको अधिकार संविधानमा सुनिश्चत गर्ने दक्षिण एसियामै नेपाल पहिलो रहेको भन्दै अब यसलाई ब्यबाहारमा कार्यान्वयन गर्नु चुनौतिपूर्ण रहेको बताए । संविधानलाई कार्यान्वय गर्नका लागि अब कानुन निर्माण गर्नु पर्ने र यसका लागि संचार माध्यमको महत्वपूर्ण हुने पन्तले बताए ।

साक्षात्कारमा पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाका अध्यक्ष पत्रकार कमलदेब भट्राईले न्यायलय, पुलिस प्रशासन र संचारमाध्यमलाई समलिंगी तेस्रोलिंगीबारे जानकारी दिनु पर्ने आवश्यकता औंल्याए । अझै पनि धेरैलाई यसबारे जानकारी नरहेको भन्दै उनले कानुन निर्माणका लागि व्यवस्थापिका संसदका सदस्यहरुलाई समलिंगी तेस्रोलिंगीका विषय र मुद्धाबारे जानकारी दिनु पर्नेमा जोड दिए । नेपाल प्रेस युनियन काठमाडौंका अध्यक्ष नकुल अर्यालले कतिपय कुरामा प्रगति भएपनि अझै पनि यौनिक तथा लैगिक अल्पसंख्यकका एक दशकअघी देखी कै मुद्धा उठेको बताए । उनले समलिंगी तेस्रोलिंगी भन्न बित्तिकै उनीहरुलाई यौनसँग मात्रै जोडेर बुझ्ने गरिएको भन्दै यसदेखी फरक विषय पनि आउनु पर्ने बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.