बंगलादेशमा समलिंगी अधिकारकर्मी पत्रकारको हत्या, नील हिरा समाजको निन्दा

बंगलादेशमा समलिंगी अधिकारकर्मी पत्रकारको हत्या, नील हिरा समाजको निन्दा

काठमाडौं (पहिचान) बैशाख १४ – बंगलादेशमा समलिंगी अधिकारकर्मी पत्रकार सहित दुई जनाको हत्या भएको छ । मारिनेमा समलिंगी अधिकारकर्मी तथा यौनिक तथा लैंगिक अल्पसंख्यक सम्बन्धि पत्रिका रुपबानका सम्पादक सुल्हाज मन्नन र उहाँका सहकर्मी महबूब तोनोयी रहेका द डेली स्टारले जनाएको छ ।

बिबिसीले भने सुल्हाज संगै ज्यान गुमाउनेमा रुपबानमै काम गर्ने तोनोयी भनिने तनय मजुमदार रहेको जनाएको छ । सुल्हाज अमेरिकी सहयोग नियोग युएसएआईडीका राजनीतिक प्रक्रिया सम्बन्धि विश्लेषक समेत थिए । राजधानी ढाकाको कालाबगानमा रहेको एक फ्ल्याटमा सुल्हाज र तोनोयीको धारिलो हतियार प्रहार गरी हत्या भएको समाचारमा जनाईएको छ । ५/६ जनाको समूहमा रहेका आक्रमणकारीले एक जना प्रहरी अधिकारी र भवनका सुरक्षा गार्डलाई पनि आक्रमण गरी घाईते बनाएका छन् ।

आक्रमणकारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी अधिकारीमाथि आक्रमण भएको थियो । आक्रमणकारीले कुरियर सर्भिसका कर्मचारी भएको भन्दै सुल्हाजका लागि सामान ल्याएको बताएका थिए । सुरक्षा गार्ड परबेज मोल्लाहले सुल्हाजलाई केही सामान आउँदै छ ? भनेर सोध्दै गर्दा तीन जना जर्बजस्ती अपार्टमेन्टमा प्रवेश गरेका थिए । उनीहरुलाई रोक्ने क्रममा परवेजमाथि आक्रमण भएको थियो । त्यसपछि उनी मद्धतका लागि बाहिर आएका थिए । लगत्तै छिमेकीहरु पुग्दा दुई जनाको हत्या भईसकेको थियो ।

अमेरिकाको विदेश मन्त्रालय, ढाकामा रहेको अमेरिकी दुतावास, एमनेष्टी ईन्टरनेशनल र नेपालका यौनिक तथा लैंगिक अल्पसख्यकहरुको मातृ संस्था नील हिरा समाजले हत्याको निन्दा गरेका छन् । नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले हत्याको घोर निन्दा गर्दै हत्यामा संलग्नलाई खोजविन गरेर कारवाही गर्न माग गरेकी छन् । पहिचान अनलाइनसँग कुरा गर्दै कार्यकारी निर्देशक ढकालले यौनिक तथा लैंगिक अल्पसख्यक नागरिकको सम्पूर्ण सुरक्षाको व्यवस्था गर्न र यो समूदाय माथि हुने हिंसा रोक्न बंगलादेश सरकारसँग माग गरिन् । उनले बंगलादेशमा रहेको यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यको अधिकार प्राप्तिको अभियानमा नेपालमा सम्पूर्ण यौनिक तथा लैंगिक अल्पसंख्यकको एक्यवद्धता रहेको वताइन ।

सुल्हाज बंगलादेशका पूर्व विदेशमन्त्री तथा अवामी लिगका नेता दिपु मोनीका भतिजा हुन् । सुल्हाज र तोनोयी अप्रिल १४ तारिखमा हुँदै आएको वार्षिक रेन्बो रयालीका आयोजक थिए । प्रहरीले यो वर्ष भने सुरक्षाको कारण देखाउँदै रयालीमा रोक लगाएको थियो । द डेली स्टारका अनुसार ¥यालीमा रोक लाग्नु अघि सुल्हाजले समाचार संस्था एएफपी संग कुरा गर्दै आफूलाई ईस्लामिक समूहले अनलाईन समूह नै बनाएर धम्की दिएको बताएका थिए ।

बंगलादेशमा प्राविधीक रुपमा समलैंगिकता अवैध र उच्च संवेदनशील विषय मानिन्छ तर एलजीबिटी समुदायको पत्रिका र अधिकारकर्मीको समूहलाई सरकारले आलोचना गरेको थिएन । केही विदेशी दुतावासहरुबाट सहयोग समेत पाउँदै आएका थिए । रुपबान म्यागजिनका कर्मचारीहरु आफ्नो पहिचान रक्षाका लागि सचेत रहेपनि ज्यानमाथि खतरा रहेको भन्ने विश्वास नगर्ने गरेको बिबिसीका बंगाली सेवाका सम्पादक सबिर मुस्तफाले बताए । तोनोय र सुल्हाजले आफू समलिंगी रहेको सार्वजनिक गरि सकेका थिए । उनीहरुले थप समलिंगीहरु सार्वजनिक भए देशले त्यसलाई स्वीकार्ने विश्वास गर्दै आएको बिबिसीले जनाएको छ ।

उनीहरुको हत्याले समलिंगी समुदायमा त्रास फैलाउन सक्ने एक जना बेलायती फोटोग्राफरले बताएका छन् । बंगलादेशका गृहमन्त्री असादुज्मान खानले देशको सुरक्षा व्यवस्था अरु देशभन्दा राम्रो रहेको बताएको केही घण्टापछि घटना भएको हो । बंगलादेशमा दुई दिन अघि एक जना प्रोफेसरको हत्या भएको थियो । प्रोफेसरको हत्याको जिम्मेवारी अतिवादी समूह आईएसले लिएपनि बंगलादेश सरकारले भने देशमा आईएसको उपस्थिती नरहेको दावी गरेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.