सन्दीपबाट सामनासम्मको युद्ध

सन्दीपबाट सामनासम्मको युद्ध

काठमाडौं/पहिचान – पुख्र्यौली घर काभ्रे भए पनि सन्दीप लामाका बाबु–आमा काठमाडौं बस्थे । साधारण काम गरेर स्वयम्भूमा बसिरहेका बेला ०४३ सालमा सन्दीप जन्मिए । उनले स्थानीय रस्मी बोर्डिङ स्कुलमा पढे । उनको स्कुलिङ त्यहीँबाट सुरु भयो । यूकेजीसम्म रस्मीमा पढेका सन्दीपले त्यसपछि काठमाडौंकै राम्रो मानिने गीतामाता स्कुल पढे । पढाइ राम्रै चलिरहेको थियो । परिवारमा आर्थिक संकट देखिएपछि उनको परिवार पुनः आफ्नै पुरानै थातथलो काभे्र ‘सिफ्ट’ भयो । उनको पढाइ पनि उतै सर्यो ।

तत्कालीन माओवादीको द्वन्द्व उत्कर्षमा पुगेको थियो । माओवादीले संगठन विस्तार अभियान तीव्र पारेको थियो । ०५८ सालको एकदिन सन्दीप पढिरहेको स्कुलमा माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केही व्यक्ति आए । माध्यमिक तहका विद्यार्थीलाई भेला गरे । सरकारी शिक्षाको आलोचना गरे । बुर्जुवा शिक्षा भने, सामन्ती राजतन्त्र, सरकार र सरकारी अधिकारीहरुको उछितो काढे, सत्तोसराप गरे । वर्तमान राज्यव्यवस्था रहेसम्म गरिब जनताका छोराछोरीको भविष्य सपनामै सीमित हुने ठोकुवा गरे । विद्यार्थीलाई माओवादी आन्दोलनमा लामबद्ध हुन आग्रह गरे ।

उनीहरु बारम्बार स्कुल आउन थाले । माओवाद पढाउन थाले । कक्षाकोठामा रहेका मेचमा खचाखच बसेका तिनै विद्यार्थीहरुको भीडमा रहेका सन्दीपलाई क्रान्तिकारीहरुले भनेका कुरा सबै ठीक लागे । ९ कक्षामा पढ्दै गरेका उनको बाल मस्तिष्कलाई हो भन्ने लाग्यो । सानैदेखि साहसी र ‘स्टे«ट–फरवार्ड’ उनको रातो रगत उम्लिएर तातो भयो । आफ्नो मनले खाएको कुरा कमैमात्र परिवारसँग सोधेर निर्णयमा पुग्ने उनले तत्काल निर्णय गरे, “क्रान्तिकारी युद्धमा लामबद्ध हुन्छु र दुष्ट राज्यसत्ताविरुद्ध बन्दुक बोकेर हिँड्छु । पुरानो राज्यसत्तालाई बन्दुककै नालबाट धवस्त पार्छु ।”

उनी त्यतिबेला १७ वर्षका थिए । परिवारलाई भन्दा लम्किन लागेका आफ्ना गोडाहरु रोकिन्छन् भनेर उनले कसैलाई सुइँकोसम्म दिएनन् । भएका लत्ताकपडा मिलाए, एकसरो सबै सामान झोलामा हाले र परिवारलाई थाहै नदिई सुटुक्क घर छाडे । उनको मन एक तमासको भयो । सानैदेखि ‘छोरी’ स्वभावका सन्दीपले मनलाई दह्रो बनाए पनि आँखाहरु कमजोर बने । आँखाका डिल हुँदै आँसु बगे ।
उनले घर छाड्ने बेलामा आमालाई चिठ्ठी लेखे । त्यो चिठ्ठीमा उनले गरिब जनताको मुक्तिका लागि आफू आन्दोलनमा जान लागेको उल्लेख गरे । युद्धमा हिँडेपछि जीवन र मृत्युको ठेगान नहुने भन्दै उनले मरे ‘सहिद’ भइन्छ, बाँचे गरिब जनताको सत्ता ल्याइन्छ भन्दै अनेक तानाबाना बुने ।

बाबु–आमालाई छाडेर जाँदै थिए । यही यथार्थले उनलाई घरिघरि विचलित बनाउन खोज्थे । तर, शोषित, पीडित जनताको मुक्तिका लागि भन्दै उनले हातखुट्टा दह्रो बनाए ।

५ घण्टा हिँडेर क्रान्तिकारीहरुसँगै काभे्रकै पिपलटार पुगे । त्यहाँ पुगेपछि उनलाई अनौठो लाग्यो । एकातिर पहिलोपटक आफन्तलाई छोडेर घरबाट टाढा भएको पल, अर्कातिर तरबारको धारमाथि उभिएका पाइला । एकातर्फ जनतासँग जोडिएको आफ्नो धराप जिन्दगी, अर्कातर्फ रंगीन सुदूर भविष्यको कल्पना । सन्दीप छिनमै पुलकित हुन्थे अनि छिनमै सशंकित पनि ।

० ० ०

लामो कालो कपाल, सेतो र चम्किलो अनुहारमा मेरो अगाडि रहेकी सामनालाई म सन्दीपको कथा सोधिरहेको थिएँ । उनी पहिलो पटक मलाई आफ्नो पुरानो जीवनको कथा सुनाइरहेकी थिइन् । भन्दै थिइन्, “म सन्दीपबाट सामना भएपछि पहिलो पटक सबै सत्य खोेलिरहेकी छु ।”

मैले उनलाई सोधें, “तपार्ईंलाई परिवारले फर्काउने प्रयास गरेन ?”
उनले भनिन्, “त्यो चिठ्ठी देखेपछि परिवार अवाक् भएछ । मैले कहिल्यै पनि घरमा माओवादी हुने कुरा गरेकी थिइनँ । झुकावबारे पनि केही भनेकी थिइनँ । अनायासै अनपेक्षित घटनाले परिवार छक्क प¥यो । त्योभन्दा पनि तनावमा प¥यो ।”
सञ्चारमाध्यमले हरेक दिन सरकारी सुरक्षाकर्मी र माओवादीबीच भिडन्त भएका खबर फलाक्थे । सुन्दै आङ जिरिंग हुन्थ्यो । उनको परिवारलाई यस्तै समाचारले पिरोल्थे । परिवारले सन्दीपलाई खोज्न थाल्यो । लामो प्रयासपछि फेला पा¥यो पनि । आमा–बुवाले घर फर्किन अनुनय विनय गरे । “परिवारको जेठो सन्तान भएकाले पढेर घर चलाउनुपर्छ, भाइ–बहिनीलाई पढाउनुपर्छ,” उनको परिवार भन्थ्यो ।

तर, उनले मानेनन् । उल्टै परिवारलाई सम्झाए । सामन्ती राज्यसत्ताको समूल नष्ट र समतामूलक समृद्ध नयाँ नेपालको सपना देखाए । परिवार अमिलो मन लिएर रित्तो हात घर फर्कियो । उनी फेरि उसैगरी साथीहरूसँग हिँडे ।
उनलाई क्रान्तिकारी संगठन विस्तारको जिम्मेवारी दिइएको थियो । जिम्मेवारी निभाउन सन्दीप अहोरात्र खटिए । देशको मुहार उज्यालो बनाउनु थियो । त्यसका लागि उनी दत्तचित्त भएर लागे ।

बेपत्ता पारिएका माओवादी नेता बाबुकाजी श्रेष्ठबाट उनी निकै प्रभावित थिए । उनको काम गर्ने शैली र प्रशिक्षणको तौरतरिकाबाट अभिप्रेरित उनले संगठन विस्तारका लागि दिलोज्यान दिए ।

सन्दीप बेलाबेलामा घर आए पनि बस्दैनथे । युद्धमा लागेको भन्दै आमाले गुनासो गर्थिन्, फर्किन भन्दै गहभरि आँसु पार्थिन् । युद्धमोर्चामा आफूलाई जतिसुकै कठोर बनाए पनि उनी आमाको आँखामा आँसु देख्न सक्दैनथे । त्यसैले घर कमै आउँथे ।

० ० ०

समानता र विभेदरहित समाज निर्माणका लागि हिँडेका सन्दीपले युद्धभूमिमा पनि विभेद महसुस गरे । उनलाई एरिया कमिटी सदस्य हुनमात्रै पनि डेढ वर्ष कुर्नुप¥यो । नेताहरुका आफन्त भने दुई महिनामै यो भूमिकामा पुग्थे । जिल्ला कमिटी सदस्य हुन ठूलै पापड बेल्नुपर्ने अवस्था थियो ।

बढुवा हुन नेताका आफन्त वा नजिकको हुनुपथ्र्यो । सेना–प्रहरीबाट टाढा बस्न नेताहरूकै श्रीमती या छोराछोरी हुनुपर्ने । थिति बसाल्न गएका सन्दीपलाई यो बेथितिको चरम रूप देखेर खुब रिस उठ्थ्यो ।

गरिब जनताका छोरोछोरी युद्धको रणभूमिमा होमिएका थिए । दिनहुँ सयौंको संख्यामा मरिरहेका थिए । तर, युद्धमा लागेका अधिकांश नेताका छोराछोरी देश तथा विदेशका नामी स्कुलमा अध्ययन गरिरहेका थिए । उनलाई यो विभेद मन परिरहेको थिएन । यसविरुद्ध उनी अन्तरसंघर्ष गर्थे । माओवादी नेताहरूलाई आलोक प्रवृत्तिले गाँजेको थियो । स्वयं आलोक प्रवृत्तिको सिकार भएकी भनिएकी नेतृ रञ्जितामा पनि त्यो प्रवृत्ति देखियो । त्यो प्रवृत्ति रञ्जिता आफ्ना कार्यकर्तामा देखाउँथिन् । सन्दीपले त्यो सहन सकेनन् । मुख खोले । त्यसको प्रतिरोध गरे । त्यो नै उनका लागि घातक सिद्ध भयो । उनको प्रमोसन रोकियो । नयाँ जिम्मेवारी पाउन छाडे । तर, पनि उनले पार्टीभित्रै बसेर संघर्ष गरे । पछि उनी अखिल क्रान्तिकारीको जिल्ला सचिवसम्म भए ।

संगठनभित्रै शान्ति सम्झौताको गाइँगुइँ चल्न थाल्यो । विद्रोह सहरकेन्द्रित हुन थाल्यो । यहाँ फेरि नेतृत्वबाट नयाँ विभेद सुरु भयो । उनीहरुलाई दूरदराज धकेल्न थालियो । नेतृत्व तथा आफन्त र आसेपासेहरु सहरमा ल्याइए, सन्दीपजस्ता सामान्य मिलिसियाहरु महाभारतको लेकमा फालिए ।

सन्दीप सेनामा नभए पनि उनलाई हतियार चलाउन आउँथ्यो । दोहोरो भिडन्तमा उनले कैयौं पटक म्यानेजमेन्ट टिममा बसेर काम गरे । युद्धलाई नजिकबाट नियाले ।

साथीहरूसँग हिँडिरहेका बेला एकदिन अचानक आक्रमण भयो । सँगै गफ गरेर हिँडिरहेका साथी गोली लागेर ढले, सन्दीप बल्लबल्ल बाँचे । त्यसपछि उनी सम्पर्कविहीन भए । त्यही बेला सेनाले माओवादीका गोप्य क्षेत्रतिर सर्च थाल्यो । हतियार राखेका ठाउँ माथि–माथि सेनाका हेलिकप्टर उड्न थाले । पार्टीले सम्पर्कविहीन भएका सन्दीप सेनाको नियन्त्रणमा रहेको आशंका गर्दै उनैले दिएको सूचनाका आधारमा सेनाले ‘सर्च’ अभियान चलाएको निष्कर्ष निकाल्यो ।
तर, सन्दीप न सेना–प्रहरीको सम्पर्कमा थिए, न पार्टीको नै । सँगैको साथी ढलेपछि बेहोसीमा पुगेका थिए । मृत्युको मुखबाट फर्किएपछि होस हराएको मान्छेझैं भएका थिए । उनलाई सेनाको कम्ब्याट देख्दा पनि डर लाग्थ्यो । पछिसम्म पनि सन्दीप कम्ब्याट देख्दा झस्किन्थे ।

० ० ०

उमेरसँगै उनमा परिवर्तन आइरहेका थिए । तर, ती सामान्यतः अलि असहज थिए । उनमा केटीमा देखिने गुणहरु विकास हुँदैथिए । केटी साथीहरु बनाउन मन पर्ने, राम्रो केटा देख्यो भने आकर्षण हुने, बोल्न लाज लाग्ने स्वाभाव हावी हुँदै थियो । महिला पहिरन मन पर्ने र मेकअप गर्ने चाहना बढ्दै थियो ।

सन्दीपसँग एउटा युवक खुब मिल्थ्यो । दुःख सुखका कुरा साट्थ्यो । भावनाका कुरा गथ्र्यो । सन्दीपलाई लाग्थ्यो– उसले मन पराउँछ । एकदिन दुवै शारीरिक रूपमा एकाकार हुन खाजे । तर, पार्टीको कडा नियममा हिँडेका उनीहरु पूर्ण यौन क्रिडामा भने डुबेनन् । त्यो युवक सन्दीपका लागि घातक भएर निस्कियो । उसले सन्दीप तेस्रोलिंगी भएको र आफूलाई यौन दुव्र्यवहार गरेको रिर्पोट ग¥यो । यो विषय जिल्ला कमिटीसम्म पुग्यो । उनलाई कारबाही हुनेसम्म हल्ला चल्यो । त्यो युवक समलिंगी थियो । उसले आफू कारबाहीमा पर्ने डरले सन्दीपलाई फसाएको थियो ।

यो घटनाले सन्दीपलाई बेचैन बनायो । पार्टीले उनको कुरा सुनेन । आफू निर्दोष भएकाले न्याय पाउँछु भन्ने पूर्ण विश्वास थियो । तर, भइदियो उल्टो । गुटबन्दी र नातावादले पार्टीमा धमिरो लागिसकेको थियो । राष्ट्रिय स्वार्थभन्दा व्यक्तिगत स्वार्थ प्रधान भइसकेको थियो । आमकार्यकर्ताभन्दा सीमित आसेपासेका कुरा सुनिन थालेका थिए । नेताहरु अवसरवादको ‘सेफसाइड’ खोजिरहेका थिए । तर, ‘ब्याटलफिल्ड’का योद्धाहरु भने अनपेक्षित रूपमा उपेक्षित थिए, मिल्काइएका थिए ।

नेतृत्वमा देखिएको यो संकीर्ण सोचबाट आजित भएका सन्दीपलाई ‘जनयुद्ध’ले मुलुकलाई निकास दिन्छ जस्तो लागेन । एउटा जबर्जस्त निर्णय लिए– अब युद्धमैदान छाडेर हिँड्छु ।

पार्टी त छाडे तर पार्टीले सन्दीपलाई छाडेन । युद्धमोर्चामा सधैं अग्रभागमा रहने हिम्मतिला सन्दीपलाई पार्टीको छायाबाट टाढा हुनु थियो । त्यसैले उनी घरमा बसेनन् । कामविशेषले मोरङमा रहेको परिवारसँगै उनी बस्न थाले । पढाइलाई निरन्तरता दिए । काम गर्न थाले । जीवनोपयोगी कम्प्युटर कोर्स गरे, जसले उनलाई आज पनि सहयोग गरिरहेको छ । युद्धमा हिँडेकोमा उनी अहिले पछुतो मानिरहन्छन् । समयको बर्बादी गरेझैं लाग्छ । पढाइ बिगारेको महसुस हुन्छ ।

० ० ०

जनयुद्धमा हुँदै उनले समलिंगी, तेस्रोलिंगी हुन्छन् भन्ने सुनेका थिए । एउटा अखबारमा समलिंगी जोडीले विवाह गरेको खबर पढेका थिए । काठमाडौंको रत्नपार्कतिर यस्ता मान्छे हुन्छन् भन्ने सुनेका सन्दीप एकदिन रत्नपार्क आए । उनले क्रस ड्रेसलगाएका तेस्रोलिंगी देखे । त्यतिबेला उनलाई अचम्मभन्दा पनि डर लाग्यो ।

अर्को पटक राति वीर अस्पताल अगाडि पुगे । त्यहाँ पनि तेस्रोलिंगी देखे । उनलाई अचम्म लाग्यो । बाँच्नका लागि मान्छेहरुले जिउ बेचिरहेको देखेर उनी अचम्मित भए । उनलाई लाग्यो– बाँच्नका लागि यौन होइन, श्रम बेच्ने हो । तर, उनले भनेको सुन्ने कसले !

आफूमा महिला स्वभाव बढ्दै गएपछि सन्दीपमा त्यसलाई रोक्न सकेनन् । आफूलाई महिला नै बन्न दिए र बनाउन थाले । पुरुषको छाडेर महिलाको पहिरन लगाउन थाले । स्वभाव महिलाकै थियो, बनाउनै परेन । र, आफैंले आफ्नो नामाकरण गरे– सामना ।
अनि सुरु भयो अर्को जीवन ।
चार वर्षअघि अफिसको कामविशेषले बैंकक गएका बेला उनले ‘बे्रस्ट ट्रान्सप्लान्ट’ गरिन् । उनको छाती पुष्ट भयो । अनि बल्ल उनी महिलाजस्ती देखिइन् । उनलाई पूर्ण महिला हुने रहर छ । त्यसैले सामना अबको केही वर्षमा ‘सेक्स चेन्ज’ गर्दैछिन् । त्यसका लागि आवश्यक आर्थिक जोहो गरिरहेकी छन् ।

० ० ०

आफूलाई सधैं बाँच्न प्रेरित गरिरहने आमाको गत महिना निधन भएपछि सामना घर गइन् । लामा परम्पराअनुसार काजकिरिया भयो । जेठो छोराको रूपमा जन्मिए पनि समयचक्रले उनलाई छोरी बनायो । आमाको काममा उनले छोरी भएरै संस्कारका काम गरिन् । उनका भाइले छोराको काम गरे । सामनालाई लामो कपाल काट्न परिवारले दबाब दिएन । समाजले छोरै भएर काम गर्न आग्रह पनि गरेन । उनले आफूलाई धन्य सम्झिइन् । समाजप्रति आभार व्यक्त गरिन् ।
लामो कपाल, मझौला कद, हँसिलो अनुहार, पुष्ट छाती देख्दा उनलाई कसैले पनि तेस्रोलिंगी भन्दैन । आजसम्म उनले आफ्नो परिचय नदिएसम्म कसैले चिनेको पनि छैन । मात्र उनको स्वर अलिकति मोटो छ । यौनिक तथा लैंगिक अल्पसंख्यकबारे जानकारी हुनेले मात्रै थोरै शंका गर्न सक्छन् ।

“म जे हुँ, प्राकृतिक हुँ, मान्छेहरुले समलिंगी, तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार मलाई पटक्कै मन पर्दैन,” उनले भनिन्, “शिक्षितहरुमा पनि यसबारे चेतना छैन ।” यस्तै मान्छेलाई चेतना जगाउन उनी खटिएकी छन् । त्यससँगै, सार्कका सदस्य राष्ट्रहरु आबद्ध ‘सहारा प्रोजेक्ट’अन्तर्गत नेपालको कन्ट्री अफिसर भएर काम गरिरहेकी छन् । उनी यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि हुने गरेको हिंसाविरुद्ध आवाज उठाउँदै डकुमेन्टेसनको काम पनि गर्छिन् । समतामूलक समाज निर्माणको अभियानमा आफूलाई समर्पित गराइरहेकी छन् ।

अनगिन्ती तरेलीहरु छिचोलेर आजसम्म जिन्दगीलाई घिसार्दा उनले थुप्रै तगारा सामना गरिन् । युद्धभूमिदेखि अधिकारका मञ्चहरुमा मञ्चन हुने नाटकको साक्षी बसिन् । तर, पनि जिन्दगीलाई डोर्याउनु नै छ । सुन्दर भविष्यको उज्यालो सपना देख्नु नै छ ।

साभार : http://baahrakhari.com/

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.