अखिल क्रान्तिकारीले तेस्रोलिंगीलाई आफ्नो संगठनमा समावेश गर्ने

अखिल क्रान्तिकारीले तेस्रोलिंगीलाई आफ्नो संगठनमा समावेश गर्ने

काठमाडौं (पहिचान) साउन १७ – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले समलिंगी तेस्रोलिंगीलाई आफ्नो नयाँ कार्यसमितिमा समावेश गर्ने प्रतिबद्धता जनाएको छ । क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले नयाँ कार्यसमितिमा समलिंगी तेस्रोलिंगीलाई पनि समेट्ने बताएका हुन् ।
रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै उनले भने, “संविधानले समेत संबोधन गरिसकेको विषयलाई हामी समेट्छौं । संविधान अनुसार हामीले विधान बनाएका छौैं । विधानले नै समलिंगी तेस्रोलिंगीलाई समेट्छ ।”
यौनिक तथा लैंगिक अल्पसंख्यक पनि संगठित भने हुनु पर्ने अध्यक्ष न्यौपानेको भनाइ छ । “स्वयम उहाँहरु पनि संगठित हुनु भयो भने हामीलाई सजिलो हुन्छ,” उनले भने, “यसका लागि व्यक्ति स्वयम पनि सक्रिय हुनुपर्छ । हामी त हाम्रो संगठनलाई अझ बढी समावेशी र समानुपातिक बनाउँदै जान तयार छौं । आज नयाँ विषयलाई तपाईले मलाई झक्झक्याई दिनु भयो । यसका लागि धन्यबाद । यसलाई कसरी समेटेर अगाडी लैजान सकिन्छ र सहयोग गर्न सकिन्छ यसमा तपाइको पनि हामीलाई सहयोग चाहिन्छ ।”
केही दिन अघि भएको क्रान्तिकारीको भेलाले राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गर्दै उक्त समितिलाई ६ महिना भित्र अधिवेशन गर्ने जिम्मेवारी दिएको छ । आयोजक समितिले उक्त अधिवेशन मार्फत नयाँ कार्यसमिति चयन गर्नेछ ।
अध्यक्ष न्यौपानेले आफ्नो संगठन जिल्ला, संघ, प्रदेश सबै तहमा समावेशी हुने पनि बताए । उनले कलेजहरुमा फरक पहिचान कै कारण विभेद भएको भए क्रान्तिकारीलाई खबर गर्न पनि यौनिक तथा लैंगिक अल्पसंख्यकलाई आग्रह गरे । महिला पुरुष सरह सबै समान रहेको भन्दै उनले समलिंगी तेस्रोलिंगीलाई विभेद गर्नुको कुनै कारण नरहेको बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.