बल्ल पूरै पहिचान पाएको अनुभूती भएको छ : अध्यक्ष गुरुङ

बल्ल पूरै पहिचान पाएको अनुभूती भएको छ : अध्यक्ष गुरुङ

काठमाडौं (पहिचान) माघ १३ -नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले यौनिक तथा लैंगिक  अल्पसंख्यकको अधिकारका लागि जस्तो सुकै सम्झौता गर्न पनि तयार रहेको बताएकी छन् । “म समलिंगी तेस्रोलिंगीको अधिकारका लागि सभ्य तरिकाले नांगिन पनि तयार छु,” उनी भन्छिन्, “म तेस्रोलिंगी महिला हुँ । तर मेरो नाम सञ्जिव गुरुङ छ नागरिकतामा । मेरो पहिचान अनुसारको नामका लागि म सम्झौता गर्न तयार छु ।”
केही दिन अगाडी समलिंगी तेस्रोलिंगीले इच्छाएको नागरिकता दिने या नदिने भन्ने विषयको सर्वोच्च अदालतमा बहस गर्दा न्यायाधीशहरुले उनलाई पहिचानको बारेमा सोधेका थिए । सोही प्रसंगमा उनले भनिन्, “म हेर्दा महिला देखिन्छु, नागरिकतामा पुरुषको नाम छ, यो कठिनाइको सामना मैले पलपलमा गरिरहेकी छु, त्यसैले यो अवस्था अरु तेस्रोलिंगीले भोग्नु पर्दैन भने म अदालतको प्रमाणका लागि आफ्नो पहिचान देखाउन सक्छु ।”
इच्छाएको नाममा नागरिकता दिन सर्वोच्चले बाटो खोलिदिएपछि अब अधिकांश तेस्रोलिंगीले आफ्नो पहिचान अनुसारको नाममा नागरिकता लिने उनको विश्वास छ । “लुक्स एकतातिर छ, नाम अर्कैछ, अन्य उल्लेख गरेको नागरिकता मात्रै हाम्रो पहिचानलाई सम्बोधन गर्दैन भन्ने साथीहरुको गुनासो थियो,” गुरुङले भनिन्, “सर्वोच्चको यो फैसलासँगै अब यो अवस्थाको अन्त्य हुन्छ । हामीले बल्ल पहिचान पाएको अनुभूती भएको छ । अब यो कार्यान्वयनमा तत्काल जान्छ भन्नेमा म पूर्ण विश्वस्थ पनि छु ।”
रिट निवेदकका तर्फबाट सर्वोच्चमा बहस गरेका अधिबक्ता सुजन पन्तले यौनिक तथा लंैगिक अल्पसंख्यकका लागि यो अर्को कोषेढुङ्गा भएको बताए । पन्तले भने “अन्य उल्लेख गरेको नागरिकता दिन सर्वोच्चले गरेको निर्णय जस्तै आफूले चाहेको नाममा नागरिकता लिन पाउने आदेश आउनु अर्को ल्याण्डमार्क डिसिजन हो ।”
पहिलोपटक नयाँ संविधानले समलिंगी तेस्रोलिंगीलाई अधिकार दिइसकेको अवस्थामा अब सर्वोच्चको पछिल्लो आदेश मान्न सरकारका निकाय बाध्य हुने पन्तको भनाइ छ ।
केही जिल्ला प्रशासकको बुझाइको कमजोरीका कारण समलिंगी तेस्रोलिंगीलाई नागरिकता दिन अनावश्यक झन्जट दिने गरेकोमा अब त्यो पनि अन्त्य हुने उनको विश्वास छ ।
“नेपालमा कानुनको स्रोत व्यवस्थापिका संसद् मात्रै होइन । सर्वोच्चका फैसला पनि हुन् । त्यसैले यो आदेश पनि कानुन सरह हो यसलाई अब कुनै पनि प्रमुख जिल्ला अधिकारीले नकार्न सक्तैन,” अधिबक्ता पन्तले भने, “अब सहज रुपमा पहिला नै नागरिकता लिइसकेकाले पनि आफूले चाहेको नाममा नागरिकता सच्याउन सक्छन् र नयाँ नागरिकता लिने तेस्रोलिंगीले पनि आफूले चाहेको नाममा नागरिकता लिन पाउनेछन् ।”

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.