समलिंगी तेस्रोलिंगीलाई आफ्नो पहिचान खुलाएर आउन भट्टराईको सुझाव “१० वर्षे जनयुद्धमा थुप्रै तेस्रोलिंगीले बहादुरीपूर्वक भूमिका निभाए”

समलिंगी तेस्रोलिंगीलाई आफ्नो पहिचान खुलाएर आउन भट्टराईको सुझाव “१० वर्षे जनयुद्धमा थुप्रै तेस्रोलिंगीले बहादुरीपूर्वक भूमिका निभाए”

काठमाडौं (पहिचान) माघ २२ – नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नेपालको इतिहासमा पहिलो पटक यौनिक तथा लैगिक अल्पंख्यकलाई आफ्नो पार्टीको केन्द्रिय समितिमा राखिएको बताएका छन् । नयाँ शक्ति नेपाल पार्टी अन्तरगत यौनिक तथा लैगिक अल्पसंख्यक समुदाय केन्द्रिय परिषद गठन कार्यक्रमको उद्घाट सत्रलाई संबोधन गर्दै उनले यौनिक तथा लैगिक अल्पसंख्यकलाई स्वीकार गरेर उनीहरुको पहिचान स्थापित गर्नु नै उनीहरुको सच्चा सम्मान भएको उनले बताए ।
राज्यका सबै अंंग र क्षेत्रमा समावेश गरेर लैजान समलिंगी तेस्रोलिंगीलाई संविधानले उल्लेख गरेकोमा आफूलाई खुसी लागेको बताए । समलिंगी तेस्रोलिंगीलाई विभेद गर्ने व्यक्ति कानुनको भागिदार बन्ने भन्दै डा भट्राई यौनिक तथा लैंगिक अल्पसंख्यकको अभिभावक भएको बताए ।
इतिहास देखि नै समलिंगी तेस्रोलिंगी रहेको र शिखण्डी पनि तेस्रोलिंगी रहेको भन्दै उनले १० वर्षे जनयुद्धमा पनि थुप्रै तेस्रोलिंगीले बहादुरीपूर्वक आफ्नो भूमिका निभाएको बताए ।
नेपालका थुप्रै निकायमा समलिंगी तेस्रोलिंगी रहेको भन्दै उनले समलिंगी तेस्रोलिंगीलाई आफ्नो पहिचान खुलाएर आउन उनको सुझाव छ । आफ्नो पार्टीले राजनीतिक संगठनमा विभिन्न समितिमा प्रतिनिधित्व गराउँदै लैजाने प्रतिनिध्तव गराउँलै लैजाने भन्दै डा भट्टराई आफ्नो अधिकारका लागि संगठन नै सबैभन्दा प्रभावकारी माध्यम भएको बताए ।
पहिचान मात्रै फरक हो, क्षमता सबैको समान हो भनेर अगाडि आउनुस्, उनले भने, हामी पार्टीमा प्रतिनिधित्व गराउँछौं, राज्यले पनि त्यसैगरी आफ्ना प्रत्येक अंगमा प्रतिनिधित्व गराउँदै लैजानु पर्छ।
आर्थिक रुपमा सवल नभएसम्म आफ्नो अस्तित्व र पहिचानको सम्मान नहुने भन्दै उनले आर्थिक उपार्जनका लागि कार्यक्रम लिएर आउन आग्रह गर्दै उनले त्यसका लागि आफ्नो पार्टीले सहयोग गर्ने बताए ।
समलिंगी विवाहले मान्यता पाउनुपर्नेमा उनको जोड छ । संविधानले समान भनिसकेको र अन्य देशले पनि मान्यता दिइसकेको भन्दै डा भट्राईले यसका लागि संगठनमार्फत अगाडि बढ्न सुझाव दिए । कानुनी लडाँई लड्नु परे त्यसका लागि पनि सहयोग गर्न र संरक्षण गर्न आफ्नो पार्टी तयार रहेको बताए ।
कार्यक्रममा नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले पहिलोपटक नेपालमा राजनीतिक दलले समलिंगी तेस्रोलिंगीलाई आफ्नो संगठनमा समावेश गरेको बताइन् । उनले नयाँ शक्तिले यौनिक तथा लैंगिक अल्पसंख्यकको समाजिक, राजनीतिक तथा सांस्कृतिक अधिकार सुरक्षित गर्ने विश्वास व्यक्त गरिन् ।
नयाँ शक्तिले हामीलाई आवश्यक अधिकार दिनेछ, आज विजारोपण गरेको बिऊ भोली फूल्नेछ । हाम्रो संरक्षण गर्नेछ, नयाँ शक्ति नेपालको दलित तथा अल्पसंख्यक विभागकी संयोजक समेत रहेकी गुरुङले भनिन्, हाम्रो राजनीतिक अधिकार सुरक्षित गर्दै देशलाई नयाँ शक्तिले निकास दिनेछ ।
नयाँ शक्ति नेपालका केन्द्रीय कार्यकारी सदस्य जनक शाहले आफ्नो पार्टीले सबैपक्ष र समुदायलाई समावेश गरेर अगाडि बड्ने बताए । देश समृद्ध नभएसम्म सबै पक्ष दमित हुने भन्दै शाहले सहभागितामुलक समाजबाद पार्टीको अभिष्ट भएको बताए ।
आफ्नो पार्टीले योजना र कार्यक्रम अनुसार समलिंगी तेस्रोलिगीलाई लक्षित गर्दै विभिन्न उत्पादनमुलक कार्यक्रम गर्ने उनले जानकारी दिए । यसका लागि सहकार्य गर्दै अगाडि जाने शाहले बताए ।
आंगीक संगठन विभाग प्रमुख कुमार पौडेलले यौनिक तथा लैंगिक अल्पसंख्यक विभाग नयाँ शक्तिको २२ औं संगठन भएको बताए । उनले यो संगठन बाँकी अधिकार प्राप्तीका लागि हतियार हुने बताए । राजनीतिक दलसँग नजिक रहेर काम गर्दा अधिकार प्राप्तीको लडाइँमा सजिलो हुने भन्दै समाजमा पहिचान स्थापति गर्न अब सहज हुने उनको भनाइ छ । राज्यका सबै तहमा अधिकार पाउनु पर्ने र समाजमा पनि महिला पुरुष सरह समलिंगी तेस्रोलिंगीले पनि अधिकार पाउनु पर्नेमा पौडेलको जोड छ ।
पौलेलले संविधान अनुसार यौनिक तथा लैंगिक अल्संख्यकको अधिकार सुरक्षित हुनेगरी देवानी तथा फौजदारी कानुन बन्नु पर्ने बताए । पौडेलले विवाह भनेको दुई व्यक्तिबीच हुने व्यवस्था हुनुपर्ने भन्दै यसका लागि थप संघर्ष गरेर विभेदकारी कानुन खारेज गर्न दबाब दिन समलिंगी तेस्रोलिंगीलाई सुझाव दिए ।
महिला संघ महासंकी प्रमुख रमा गिरीले समलिंगी तेस्रोलिगीको अधिकारका लागि महासंघ सँगै रहेको बताइन् । समाजका हरेक समुदाय र जातीमा यौनिक अल्पसंख्यक रहने भन्दै गिरीले समलिंगी तेस्रोलिंगीले पनि महिला पुरुष सरह अधिकार प्रदान गर्नुपर्ने बताइन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समाजमा खुलेर नआएसम्म अधिकार प्राप्त गर्न नसकिने भन्दै आफ्नो अधिकारका लागि थप संघर्ष गर्नुपर्नेमा उनको जोड छ ।
नयाँ शक्ति नेपाल अन्तराष्ट्रिय विभाग प्रमुख हिसिला यमीले एसियामा पहिलोपटक राजनीतिक भेला भएको बताइन् । यमीले सन् १९९० मा अमेरिकामा पहिलोपटक समलिंगी महिला भेटेको प्रसंग सुनाउँदै उक्त समयमा अमेरिमा पनि लुकेर बस्नु पर्ने अवस्था रहेको वताइन । उनले नेपालमा तुलनात्मक रुपमा छिटो अधिकार प्राप्त गरेको बताइन् ।
नेपालमा नयाँ शक्ति पार्टीले पहिलो पटक समलिंगी तेस्रोलिंगीलाई केन्द्रिय तहमा पुर्याएको भन्दै उनले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई केन्द्रिय समितिमा प्रतिनिधित्व देखावटीमात्र नभएको स्पष्ट पारिन् ।
समावेशी प्रतिनिधित्व नै समाजको समृद्धि भएको उनको भनाइ छ । शोषणमा परेको सुमदायलाई प्रयोग पनि गर्नसक्ने भन्दै यमीले सचेत रहन समलिंगी तेस्रोलिंगीलाई सुझाव दिइन् ।
कार्यक्रममा सहभागीहरुले राजनीतिक दलमार्फत आफ्ना अधिकार प्राप्तीका लागि संगठित हुनु आजको आवश्कता भएको भन्दै यौनिक तथा लैंगिक अल्पसंख्यकबारे समाजले धेरै बुझिनसकेको र पहिला यो विषय बुझाउनु पर्नेमा जोड दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.