“रहरले कोहि पनि बेघर बनेर सडकमा आउदैन”

“रहरले कोहि पनि बेघर बनेर सडकमा आउदैन”

आनिक राना/पहिचान – लोकतन्त्र स्थापना पछीको राज्य सरकारले सिमान्तकृतहरुलाई पनि समेट्ला, हाम्रो पनि गिन्ति गर्ला भनेको त, २०११ को जनगणनाले समेत म जस्ता तेस्रोलिंगीहरुको जन गणना गरेन, राज्यको गिन्तिमा नै नआउने समूदाय कति पछाडि परिएको होला तपाईहरु कल्पना मात्र गर्नु होस्। अनि भन्नुहोस् यो तेस्रोलिंगी समूदाय कसरी बांचि रेहका छ भनेर।

एकातिर राज्यले हामीलाई आधारभूत शिक्षा, रोजगारि, स्वास्थ्य सेवा, बासको अधिकार सुनिस्चित गरेको छैन, भने अर्कोतिर हामी दिनानु दिन घरेलु हिंसा, गालि वेइज्जति, गांउ निकाल, अशिक्षा, यौन हिंसा, असमानता, हत्या, बलात्कार, वेश्यावृति, र अरु थुप्रै कुरितिका शिकार भइराखेका छौं, राज्यवाट वा समाजवाट वा राजनीतिक दलहरुबाट कुनै पनि संरक्षण र सहानुभुति छैन। हामीलाई कुनै पनि मर्यादित ठाऊ र पेशावाट बर्जित बनाइएको छ, हाम्रा धेरै साथिहरु सडकमा आउन बाध्य छन्। अनि यो समाजनै हामिमाथी औंला ठड्याउंछ ,किन सडकमा आईस् ? भन्छ। रहरले कोहिपनि वेसाहरा बन्दैन, रहरले कोहि पनि बेघर बनेर सडकमा आउदैन। हामीलाई इज्जत सहित बांच्ने रहर छ, देश बिकासमा सकृय सहभागिता हुने इच्छा छ।

आज म तपाईहरुलाई एउटा पौराणिक कथा सुनाउँछु, जो तपाईहरुले पहिला नै सुनि सक्नु भएको छ, कथाको त्यो पात्रको नाम तपाईहरु मध्ये धेरैले गालि बेइज्जतिको रुपमा लिने गर्नु हुन्छ। तर म आज त्यस पात्रको कथा मेरो दृष्टिकोणवाट सुनाउछु।

कौरवहरुको अन्याय, घरेलु हिंसा, गालि वेइज्जति, गांउ निकाल, अशिक्षा, यौन हिंसा, असमानता, हत्या, बलात्कार लगायतका अधर्मलाई नाशगर्न माहाभारतको यूद्ध भएको हो। इच्छा मृत्यूको वरदान पाएका अधर्मको पक्षमा लडेका भिष्मपितामह लाई हराउने शक्ति धर्मको पक्षमा लडेका पाण्डवहरु कसै संग पनि थिएन, अधर्मको पक्षमा उभिएका भिष्मपितामहलाई नहराइ धर्मको युद्द जित्नु संभव थिएन। शिखण्डि यूध्द मैदानमा आएर भिष्मपितामहलाई चुनौति दिए पछि मात्र पाण्डवहरुलाई माहाभारत जित्न संभव भएको थियो। त्यसकारण शिखण्डि हांसोका पात्र वा गालि बेइज्जतिका पात्र बिल्कुलै होइनन्, ऊनि त साहस, न्याय र धर्मको पक्षमा उभिने एक मर्यादित पात्र हुन, तर समाजले अन्याय र अधर्मको पक्षमा ऊभिने भिष्मपितामहलाई इज्जत गर्छ, न्याय र धर्मको पक्षमा लडेकि शिखण्डिलाई गालि गर्छ। म प्रश्न गर्न चाहन्छु किन ? किन हामीलाई सदियौं देखि हेला, तिरश्कार, गालि बेईज्जति र बहिश्कार मात्र गरिन्छ ?

अन्याय, हिंसा, भ्रष्टचार, असमानता, पछौटेपन लगायतका विषयहरु जो भिष्मपितामह जस्तै कसैले हराउन नसक्ने गरी समग्र नेपालको विकासको वाटो लाई अबरुध्द पारेर वसेको सत्रुलाई यदि हामीले जित्नुनै छ भने म जस्ता तेस्रोलिंगी शिखण्डिहरुलाई अगाडि आउन दिनै पर्छ, साथ लिनै पर्छ। आजको नेपालले लडिरेहेको माहाभारत हामी जस्ता तेस्रोलिंगी विना जित्न संभव छैन। यो कुरा माहाभारतकालमा पनि लागु थियो, आज पनि लागु हुन्छ। फरक यति मात्र छ कि माहाभरतकालमा शिखण्डको प्रयोग मात्र भएको थियो, आजका हामी तेस्रोलिंगी पहिचान, इज्जत र हक सहितको सामाजिक सहभागिता चाहन्छौं।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.