नरेशले विहे गर्ने कसम तोडेपछि बर्षाको मायामा भुईचालो

नरेशले विहे गर्ने कसम तोडेपछि बर्षाको मायामा भुईचालो

काठमाडौं/पहिचान – आजको एक्काईसौ युगमा लैंगिक समनताका धेरै चर्चा परिचर्चा चलिरहेको छ तर वास्तवमै यसले मलाई समाबेश गर्छ । यही भनाइ संगै सुरु हुदैछ मेरो जीवनी………………..
मेरो जन्म एउटा गरिब परिवारमा भएको थियो । बाल्यकालको समय देखि नै म केटा साथी भन्दा केटी साथीहरुलाई मन पराउने गर्थे । जब गतिशील समयसँगै लडिबुडी गर्दा गर्दै सात आठ बसन्त पार गरे । त्यसपछि हातमा लठ्ठी लिएर भेडा बाख्रा चराउन जंगल जान थाले । गोठालो जाँदा धैरै साथीहरु हुन्थ्यौ । मिलेर खेल्ने ग¥थ्यौ । त्यति वेला कति सुखि थियो मेरो जीवन –आकाशमा उड्ने पञ्छी जस्तै स्वतन्त्र । गोठालोमा खेल्ने क्रममा धेरै केटा केटी साथीहरु हुने गर्थे तर म खेल्ने हिड्ने बेलामा केटा साथी भन्दा बढी केटी साथी बनाउने गर्थे । अनि मेरा मनका कुराहरु पनि केटी साथीहरुसँग खोल्ने गर्थे ।

जब–जब मैले एक बसन्त छोड्दै अर्को बसन्तमा प्रवेश गर्दै गरे –बढदै गएको उमेर सँगसँगै मेरा इच्छा र चाहनाहरु थपिदै गए । सँगसँगै परिवर्तन पनि हँुदै गए । परिवर्तित चाहना सँग–सँगै मलाई केटीको जस्तो पोसाक देखि लिएर केटीको जस्तो व्यवहार गर्न मन लाग्थ्यो । मैलै केटीको जस्तो सामग्री प्रयोग गर्दा र केटी साथीसँग मिलेको देख्दा समाजलाई असह्य जस्तै भएछ । समाजले मेरो बुवा आमाको अगाडी मेरा अनेक थरी कुरा काट्न थाले ।

उनीहरुले भन्ने गर्थे कि ‘तिम्रो छोराको के हो यस्तो चाला ? कहिले केटीको कपडा लगाउछ कहिले केटाको ? मिल्न पनि केटीहरुसंग नै मिल्छ ।’ समाजले गर्ने यस्तो कुराले गर्दा बुवाले पनि मलाई गाली गर्न थाल्नुभयो । मेरो व्यवहारको कारण बुवाले मलाई गर्ने माया पनि घटाउनु भयो । उहाँले म माथी मायाको सट्टा घृणाका कोशेलीहरु पस्कन थाल्नुभयो । अनि घरपरिवार पनि मेरो लागि पराइ जस्तै बन्न थाल्यो । मैले गाली नपाएको सायद कुनै दिन हुदैनथ्यो ।

समाजको तिरस्कार अनि घर परिवार पनि दैनिक पराइ हुदै गएपछि मलाइ यो समाजमा बाँच्ने रहर पनि हराइसकेको थियो । कति पटक त आत्महत्या गर्ने कोशिस पनि गरे, तर भने जति कहाँ सजिलो रहेछ र ?
एकपटक पाएको मानव जीवनको अन्त्य गर्न, आत्महत्या गर्न पनि सकिएन । म मृत्यु रोज्नुको सट्टा सहदै गए अनि सुन्दै गए समाज अनि परिवारको तिरस्कारका वाणीहरु । हो मेरो आफन्त आफ्नो बाबु आमाको काखमा त्यसमा पनि कलिलो उमेरमा जसोतसो शोषणको जिन्दगी जिइरहेको थिए । अव त बाबु आमाको घरमा बस्न लायकको पनि भएनछु । मलाई मेरो बुवाले भन्नु भयो तलाई घरमा पाल्न सकिदैन जा गएर कसैको घरमा बस कसैको घरमा कमैया बस । बुवाको यो कुराले म आकाशबाट खसेजस्तै भए ।

अलि–अलि भए पनि माया अनि सुखको आभास पाउन नसकेपनि बाबु आमासँग घरमा बसिरहेका थिए तर, त्यो दिन पनि मेरो लागि सकिएछ । बाबु आमाको लागि घरमै अटाउन नसक्ने गरी बोझ भईसकेको रहेछु । म यति कलिलो उमेरमा पनि कमैया बस्न जानु पर्ने रे । बुवाले मलाई कर गर्न थाल्नुभयो मैले बुवालाई आग्रह गरे, बरु म मजदुरी गरेर कमाउछु तर कमैया बस्दिन । मेरो कुरा त घरमा कसले पो सुनिदिन्थ्यो र । तरपनि झिँनो आश लिएर मैले बुवालाई आग्रह गरे ।

मलाई यति सानो उमेरमा कमैया बस्न नपठाउनुस, बरु घरमा भनेको सबै कुरा मान्छु । सुरुमा आमाले मेरोकुरा सुन्नु भएको थियो तर बुवाले मेरो कुरा भएकोले किन सुन्नु हुन्थ्यो र ? कमैया बस्न मन पनि लागेन त्यस पछि २०५७ सालमा समाज अनि घर परिवारको तिरस्कार सहन नसकेर केही काम गरी जिविका चलाउछु भनि घरबाट निस्किएर नेपालगंज आए । गाँउबाट शहरमा पसेपछि मेरो मनमा अनेकौ इच्छा र आकांक्षाले बास गर्न थाल्यो । मेरो उमेर बढ्दै जान थाल्यो तब केटी साथी सँग नभएर केटा साथीसँग आर्कषित हुन थाले त्यतिकैमा बसमा काम गर्ने एक जना युवकलाई मैले अति नै मन पराउन थाले । उसलाई देख्ने बित्तिकै खोई किन लजाएर अनौठो महसुुस हुन्थ्यो ।

उसले पनि मलाई मन पराउँदा रहेछन् । हामी एक अर्कालाई माया गर्न लागेको पनि करिब पाँच छ महिना बितिसके छ । सानोमा बावु आमाको माया कस्तो हुन्छ भनि अनुभव गर्न नपाएको म उसको माया पाउँदा नयाँ उमंग र उत्साह जाग्न थाल्यो । म उसको मायामा यति हराई सकेको थिए कि उ बिना म एक पल पनि बाँच्न नसक्ने भै सकेको थिए । मैले सोच्ने गर्थे उ बिना मेरो जीवन नै अधुरो हुन्छ ।

एक दिनको कुरा हो । म कामको शिलशिलामा कोठाबाट बहिर जाँदै थिए, निमको वुटा नेर बीचबाटो मै नरेशले बर्षा–बर्षा भनेर बोलाएको सुने यसो पछाडी फर्केर हेर्दा त मेरो नरेशलाई देखे । उ मेरो नजिक आएर मेरो हात समाउदै भन्यो बर्षा ‘म तिमी बिना एक पल पनि बाँच्न सक्दिन म तिमीलाई आत्मबाटै माया गर्छु । यदि तिमीले मलाई माया गर्दिनौ मसँग बिवाह गर्दिनौ भने म विष खाएर मर्छु’ त्यसो भनेर तानेर केही पर लाग्यो । अनि बागेश्वरी मातालाई साँछी राखी सँग–संगै जिउने र सँग–सँगै मर्ने कसम हामी दुबै जनाले खायौ । नरेशको मायामा म यति धेरै डुबिसकेको थिए कि मानौ उ मेरो मुटु र प्राण हो, न त मलाई भोक लाग्थ्यो न त प्यास ।

एक दिन उसलाई न देख्दा पागल चरी जस्तै हुन्थे । मेरो आफन्त मेरो जिउने अधार बनि सकेको थियो उ । म यति खुसी थिए कि मलाई लाग्थ्यो संसारभरीको सुख भागवानले मलाई नै दिएका छन । समय पनि कति छिटो बित्दो रहेछ समय संगै दौडिदा दौडिदै अनि एक अर्काकोबीच माया दुःख सुःख सटासाट गर्दा–गर्दै पाँच बर्ष पनि बितिसकेको रहेछ । तर मानिसको जीवनमा अनेकौ उतार चढाव आउने गर्छन । ६ बर्ष लाग्दा नलाग्दै मेरो जीवनमा यति ठुलो भुईचालो आयो । म कल्पना पनि गर्न सक्दिन त्यो दिन बावु आमा अनि गाँउलाई छोडेर शहरमा पस्दा पनि यस्तो दुःखको आभास भएको थिएन । नरेश मलाई छोडेर कहाँ हराउनु भयो अचानक नरेशले केही थाहा नदिकन हराउनु भयो । मैले उहाको प्रतिक्षामा दिनहरु काट्न थाले एक दिन होइन, दुई दिन होइन ।

एक महिनासम्म प्रतिक्षा गर्दा पनि उहाँ आउनु भएन । पछि मलाई मेरो नरेश कहाँ हुनुहन्छ मेरो स्वामी कहाँ हुनुहन्छ भनेर खोजी गर्न थाले । कति त भागवानसँग मेरो पति परमेश्वरसँग मुलाकात गराईदिनुस भनेर मन्दिरमा प्रसाद पनि चढाए । उ बिनाको जीवन मेरो लागि अभिशाप बनिसकेको थियो । मनमनै रुदै गीत गाउने गर्थे ‘यो सरिर अव मेरो हैन, यसैमा उसको अधिकार छ, उसले हास्न सिकायो’ । यस्तै गीत गाउदै रुदै खोजी गर्न थाले । न त मलाई खानाको मतलव न त मलाई कामको मतलव बाटोमा कसैलाई देख्ने बित्तिकै कहाँ हुनुहुन्छ मेरो स्वामी भनेर सोधिहाल्थे तर जति कोसिस गर्दा पनि पत्ता लगाउन सकिन ।

एक दिन अचानक मैले नरेशको साथीलाई भेटे उहाँलाई मैले देख्ने बित्तिकै रुन थाले अनि सोधे कहाँ हुनुहुन्छ मेरो नरेश । उहाँले मलाई भन्नुभयो नरेशले बिवाह गरिसक्यो । यो शब्द सुन्न साथ छाँगाबाट खसे जस्तै भए – हे भागवान भन्दै एक्कासी बेहोस भएको रहेछु । बेहोस हुँदा मलाई थाहा भएन । मेरो साथीहरुले होटेलबाट पानी ल्याई मुखमा छर्के अनि बल्ल मेरो होस आयो होस आई सकेपछि मलाई रिक्सामा बसालेर कोठामा लगियो । तर मलाई नरेशले बिवाह गरेको छ भनेर विस्वासै भएन । सायद त्यही भएर होला पत्ता लगाउनको निम्ती उसको घर गए । त्यहाँ पुग्दा मलाई थाहा भयो नरेशले साँच्चिकै बिवाह गरेको रहेछ । नरेशलाई देख्ने बित्तिकै मेरो आँखाबाट आँसु खस्न थाल्यो मैले सर्दै भने सँगै जिउने मर्ने कसम खाएका थियौ । अहिले किन यस्तो गर्नुभयो भन्नुस ।
यो कुरा सुनेर उहाँले सँम्झाँउदै भन्नु भयो –हेर बर्षा तिमी यस्तो कुरा नगर । तिमी एउटा तेस्रोलिंगी महिला हौ । मैले बिवाह नगरेर के गर्ने न त ? तिमीले बच्चा जन्माउन सक्छौ न त मैले तिमीलाई मैले बिवाह गरेर घरमा भित्राउन सक्छु ।

तिमी त महिला जस्तै चाहना ईच्छा भएका पुरुष पो हौ । तिमीलाई एउटा श्रीमतिको रुपमा साथी बनाउन त सकिन तर साथीको रुपमा सधै माया गर्नेछु । यस पछि मैले आफ्नो जीवनलाई सराप्दै मनमनै भन्न थाले –हे भागवान यो मेरो कस्तो जीवन हो, म पुरुष भएर जन्मे पनि मेरो महिला जस्तो ईच्छा चाहना हुनु के मेरो यो आफ्नो रोजाई हो त ? यदि मैले जाँड रक्सी चुरोट विडी भएको भए बानी भन्न मिल्थ्यो तर प्राकृतिक गुणलाई कसरी बानी भन्ने ।

बुवा आमाले जस्तो जन्म दिनु भयो म त्यस्तै छु तर किन यस्तो हिंसा वाल्यकालमा बुवा आमाको शोषण गाँउ समाजको लाञ्छना र बिभेद अहिले नरेशसँग बिछोडिनु पर्ने पिडा मलाई किन जन्म दिनुभयो महिला वा पुरुष बनाएर पठाउनु पर्ने थियो । आज म यस्तो ठाउँमा छु कि न त म बाच्न सकेछु न त मर्न । यसरी निरशको जिन्दगी बिताउदै गए । केही दिन पछि एक दिन मैले मोवाईलमा गीत सुनिरहेको थिए त्यो गीत बजे पश्चात रेडियो कार्यक्रम पहिचान आयो । मैले त्यो कार्यक्रम पुरा सुने । अनि आफ्नो बारेमा बुझे कि म एउटा तेस्रोलिंगी रहेछु र यो समाजमा हामी जस्तै अरु पनि छन । मेरो मनमा अनेकौ प्रश्नहरु गुम्सिन थाले । मैले आफ्नो प्रश्नको उत्तर खोज्न प्रयास गरिरहेकै बेला एक जना महिला दिदीले मलाई नील हिरा समाज शाखा कार्यालय बर्दियाको बारेमा भन्नु भयो र त्यस संस्थामा काम गर्ने एक कर्मचारीसँग पनि भेट गराईदिनु भयो ।

म त्यहाँ पुग्दा म जस्तै तेस्रोलिंगी साथीहरु धेरै देखे । मलाई धेरै खुसी लाग्यो मैले आफुलाई यो संसारमा एक्लै भन्ठानेको थिए । तर म जस्तै थुप्रै साथीहरु रहेछन मलाई मेरो जिन्दगी प्यारो लाग्न थाल्यो । त्यस पछि मैले त्यही संस्थामा साथी शिक्षकको रुपमा काम गर्न थाले । काम गर्ने क्रममा मैले धेरै चुनौती र समस्याको समना गर्नु परेको थियो, किनभने हाम्रो समुदायको बारेमा त्यति बेला कसैलाई जानकारी थिएन । खुद म यस्तो ब्यक्ति हु भनेर मलाई पनि थाहा थिएन । काम गर्दै जादाँ मैले धेरै कुरा पनि सिके । अहिले मलाई धेरै खुसी पनि लागेको छ र कहिले काँही विगतका दिनहरु पनि सँम्झन्छु बिगतका ती दिनहरुले मलाई एकदमै झस्काइरहन्छन् ।

(बर्षाको यो वास्तविक जीवन कथा नील हिरा समाजले प्रकाशित गर्न लागेको परिवर्तनका आभाषहरुबाट लिएका हौ । )
तस्विर : इन्टरनेट

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading