यौनिक अल्पसंख्यकले मनाए गाइजात्रा पर्व, समुदायका लागि विशेष कार्यक्रम ल्याउने मन्त्री कोइरालाको प्रतिवद्धता

यौनिक अल्पसंख्यकले मनाए गाइजात्रा पर्व, समुदायका लागि विशेष कार्यक्रम ल्याउने मन्त्री कोइरालाको प्रतिवद्धता

काठमाडौं (पहिचान) साउन २४ – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायले भव्य रुपमा गाइजात्रा पर्व मनाएका छन् । मेरो परिवार तथा मेरा मित्रहरुले म माथी गर्व गर्छन भन्ने नाराका साथ नील हिरा समाजले गाईजात्रा पर्व मनाएको होे । गाइजात्रा पर्व मनाउन देशभरका झण्डै २ हजार समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी समुदायका सदस्य काठमाडौं आएका थिए ।

बर्षभरी दिवंगत भएका समुदायका सदस्यको आत्मा शान्तिको कामना गर्न बसन्तपुरमा हरेक बर्ष गाइजात्राकै दिन दिपप्रज्वलन गरिन्छ । यो बर्ष निधन भएका तेस्रोलिंगी ममता सिके, समलिंगी फिल्म निर्माता निलु डोल्मा र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अन्तराष्ट्रिय सप्तरंगी झण्डाका डिजाइनर गिलवर्ट बेकरको आत्मा शान्तिको कामना गर्दै दिपप्रज्वलन गरिएको छ ।

काठमाडौंको ठमेल संचयकोष अगाडी विभिन्न भेष भुषा, झाँकी, बाजागाजा सहित समुदायका सदस्य भेला भएर र्यालीमा सहभागी भएर बसन्तपुर पुगेका थिए । गाइजात्रा पर्वको महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले उद्धघाटन गरिन । र्यालीमा सहभागी मन्त्री कोइरालालाई नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले आफ्नो समुदायकोबारेमा जानकारी दिइन । संविधानमा पहिलो पटक अधिकार लेखिएको, लुकेर बसेका समुदायका सदस्य गाइजात्राकै अवसर पारेर खुल्ने गरेको भन्दै ढकालले महिला मन्त्रालयले बनाउँदै गरेको समलिंगी विवाह सम्बन्धी कानुन मन्त्री कोइरालाकै कार्यकालमा पूर्ण हुने विश्वास व्यक्त गरिन ।

केहीबेर र्यालीमा सहभागी भएपछि पहिचान अनलाइनसँग कुरागर्दै मन्त्री कोइरालाले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समाजमा सम्मानित र सहज ढंगले जीवन विताउन साथै आत्मनिर्भर हुनका लागि मन्त्रालयले विशेष कार्यक्रम ल्याउने प्रतिवद्धता जनाइन । उनले यो समुदायको अधिकारका बिषयमा नेपाल दक्षिण एसियामा अगाडी रहेको दावी समेत गरिन । तर, संविधानमा अधिकार लेखिए पनि कस्तो खालको नीति र कानुन बनाउने भन्ने कुरा विचाराधिन रहेको मन्त्री कोइरालाको भनाई छ ।

समाजले सन् २००२ देखि गाइजात्रा मनाउन लागेको हो । समाजकी अध्यक्ष पिंकी गुरुङले गाइजात्रा महोत्सवले यौनिक तथा लैंगिक अल्पसंख्यकको जनजीवन सामान्य बनाउन मद्धत गरेको बताइन । यौनिक तथा लैंगिक अल्पसंख्यकले मनाउने यो गाइजात्रा स्वतन्त्रताको प्रतिक भएको गुरुङको भनाई छ । उनले अरु मानव भन्दा हामी कुनै प्रकारले भिन्न नहरहेको देखाउन र सहर्ष स्वीकार गर्ने वातावरण बनाउन हरेक बर्ष गाइजात्रा पर्व मनाउने गरिएको वताइन ।

भरखरै मात्र नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता गरेका मोनिका शाही र रमेशनाथ योगीले गाइजात्रामा पर्वमा सहभागी भएर खुसी साटासाट गरे । म धेरै खुशी छु, नील हिरा समाजको नर्वेजियन परियोजनामा कार्यरत मोनिका शाहीले पहिचान अनलाइनसँग भनिन, पहिलो घर परिवार, दोस्रो समाज र तेस्रो राज्यले स्वीकार्नु पर्दो रहेछ, त्यो आज मेरा लागि पुरा भएको छ । उनले आफ्नो मात्रै समलिंगी विवाह दर्ता भएर नहुने भन्दै देशभर रहेका समुदायका सदस्यको विवाह दर्ता हुनु पर्ने वताइन ।

मोनिकाका श्रीमान योगीले मन मिलेरै मोनिकासँग विवाह गरेको वताए । उनले आफू जस्ता लुकेर बसेका पुरुषलाई तेस्रोलिंगी महिलासँग मन मिले विवाह गर्न सुझाव समेत दिए ।

तस्बिरहरु :

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.