उनी मेरो पहिलो आकर्षण थिइन …

उनी मेरो पहिलो आकर्षण थिइन …

प्रबिन बाबु कुँवर/पहिचान – जिन्दगी जिउने क्रममा धेरै उतारचढावहरु आए । तर सबै समस्याको हल गर्दै अहिलेसम्म आफ्नो जीवनलाई चलाउदै आएको छु । मेरो नाम प्रबिन बाबु कुँवर (तेस्रोलिङ्गी पुरुष) । घर रुपन्देही जिल्ला, भगवान गौतम बुद्धको मावली भनेर चिनिने देबदहमा ।

मेरो जन्म एक छोरीको रूपमा भएको थियो । मेरो परिवारमा ५ जना हुनु हुन्छ, बुबा, आमा, भाइ, बहिनी र म । म परिवारको जेठो सन्तानको रुपमा जन्मिए । पहिलो सन्तान भएर होला परिवारमा सबैको प्यारो थिए । परिवार सानो थियो, यसैले पनि होला कुनै कुरामा कमि राख्नु भएन । मलाई मेरो शारीरिक र मानसिक रूपमा वृद्धि बिकास बिस्तारै हुँदै थियो ।

छोरी भएर जन्मिएर पनि सानै देखि सबै स्वभाव छोराको जस्तै थियोे । मेरो केटि साथी भन्दा धेरै केटा साथीहरु थिए । सबै देखि खेल्ने, हिड्ने, रमाइलो गर्ने, सबै केटा कै जस्तै थियो । सबैले भन्थे यो त छोरी पनि कस्तो छोरा जस्तै छ भनेर । मैले सानै देखि बुबाको लुगा अनि भाइको लुगा लगाउने गर्थे । सबै देखि यस्तै भएको हुनाले पनि मलाई खुल्न केही गाह्रो भएन ।

जब म बिद्यालय जान लागे, पढाइ पनि राम्रो नै थियो मेरो कहिले पनि तेस्रो स्थान आएन सधै प्रत्येक कक्षामा प्रथम नै हुने गर्थे । यसैले पनि होला शिक्षक र साथीहरूको प्यारो नै थिए । जब म कक्षा आठको जिल्ला स्तरीय परिक्षामा प्रथम स्थान हासिल गरेर कक्षा नौमा भर्ना भए……कक्षा बिस्तारै सुरु हुँदै गर्ने क्रममा हाम्रो कक्षामा अरु नै स्कुलबाट पढन आएकी एक जना केटि साथी थिइन ।

पढाइमा अगाडि नै भएको हुनाले होला उनी मसँग नै बस्न थालिन । हामी जहाँ जादा पनि सगै जान्थ्यौ । उनीसग छुट्टीएर बस्न मन लाग्थेन । यसैले कहिले उनी मेरो घरमा कहिले म उनको घरमा जान्थियौ । सबै जना हामी मिलेको देखेर दंग पर्थे । अनि मलाई उनले नै यो यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बारेमा केही कुरा सुनाइन । मैले त्यो बेला खासै केही बास्ता गरिन ।

यस्तै गर्दै हाम्रो कक्षा ९ को पनि पढाइ सकियो । उनको घरपरिवार टाढा भएको कारणले उनले हाम्रो स्कुल छोडेर जानू पर्ने अवस्था आयो । अनि उनी हामी सबैलाई यानिकी मलाई समेत छोडेर गइन । त्यो समयमा मलाई धेरै नराम्रो लाग्यो । म धेरै रोएको थिए उनीलाई सम्झेर..। केही समय पछि बिस्तारै सबै कुरा पहिलाको जस्तै भए ।

यसले उनी नै थिइन मेरो पहिलो आकर्षण भनेर मैले अहिले स्मरण गरिरहन्छु..। त्यो बेला सबैको हातमा मोबाइल फोन आएको थिएन । मेरो बुबा भर्खर बिदेशबाट घर फर्किनु भएको थियो । उहाँले मलाई मोबाइल लिएर आइदिनु भएको थियो ।

अनि मैले फेसबुक एकाउण्ट खेलेर चलाउन थाले..। विभिन्न वेभसाइटहरुमा गएर एलजीबीटीआइको बारेमा पढ्ने मौका पाए । अनि बल्ल आफ्नो यौनिकताको बारेमा बुझ्ने मौका पाए । नत्र मलाई यो बारे केहि जानकारी थिएन । अनि मैले यो अनलाइन मार्फत पहिचान मिडिया लाई भेटे । यसले हामी जस्तै यौनिक तथा लैंगिक अल्पसंख्यकको कथा ब्यथालाई समेट्ने काम गर्दो रहेछ ।

मैले आफ्नो जिल्लामा म जस्तै अरु पनि साथीहरू होलान भन्ने कुरामा चासो देखाए अनि फेसबुक मार्फत फ्रेण्डशिप गरेको नील हिरा समाज मै कार्यरत एक जना दाइको सम्पर्कमा भैरहवा स्थित नील हिरा समाजको अफिस सम्म पुग्ने मौका पाए । अनि त्यहा पुगेपछि मैले आफू फरक फरक पहिचान बोकेका साथीहरू भेटे धेरै खुसी लाग्यो ।

सबैलाई खुशी लाग्छ आफू जस्तै आफ्नो समुदायको मान्छे भेट्न पाउँदा । यसरी म नील हिरा समाजको सम्पर्कमा रहेर विभिन्न प्रोग्रामहरुमा कहिलेकाही सहभागिता हुने गर्छु । यो त रहयो म कसरी आफ्नो संस्थासँग कसरी आए भनेर यसैले अहिले म स्नातक तह पहिलो बर्षमा आफ्नो अध्ययनलाई अगाडि बढाइ रहेको छु ।

जसोतसो चलेकै छ जिन्दगी । कसैले तिम्रो पहिचान के हो भनेर सोध्दा म तेस्रोलिंगी पुरुष हु भनेर भन्न सक्छु । परिवारबाट पनि राम्रो नै छ अहिलेसम्म, अब पछीका दिनमा पनि यस्तै होला भनेर मैले आशा राखेको छु । जीवन के हो र कसरी जिउनु पर्छ भन्ने कुराको पाठ सिक्दै गएको छु ।

यसैले मलाई कुनै गुनासो छैन मेरो परिवार र समाज प्रती अनि म हामी जस्तै साथीहरूलाई के भन्न चाहन्छु भने यदि तपाईहरु परिवार र समाजको डरले आफ्नो पहिचान खुलाउन सक्नु भएको छैन भने आउनुस हामी र हाम्रो लागि नील हिरा समाज छ जसले हामी यौनिक तथा लैंगिक अल्पसंख्यकको हक र अधिकारको लागि काम गर्दै आइरहेको छ जसरी म अहिले आफ्नो पहिचान अनुसार हिडडुुल गर्न सकिरहेको छु खुलेर यसरी नै तपाईहरु पनि खुल्नुस भन्न चाहन्छु ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading