सुनसरीमा २३ सय यौनिक अल्पसंख्यक, धरानमा ६११ जना समलिंगी तेस्रोलिंगी

सुनसरीमा २३ सय यौनिक अल्पसंख्यक, धरानमा ६११ जना समलिंगी तेस्रोलिंगी

सुनसरी (पहिचान) माघ ६ – सुनसरीमा दुई हजारभन्दा धरै यौनिक तथा लैंगिक अल्पसंख्यक रहेका छन् । सुनसरीमा आफ्नो पहिचान खुलाएर आउने यौनिक तथा लैंगिक अल्पंख्यकको संख्या २ हजार ३७३ रहेको नील हीरा समाज शाखा कार्यालय धरानले जनाएको छ । धरानमा नील हिरा समाजले पत्रकारहरुसँग गरेको अन्तरक्रियामा समाजले जसमध्ये समलिंगी २ हजार १०४, तेस्रोलिंगी १०१ र यौनकर्मी १६८ रहेको जानकारी दिएको छ ।

यसमध्ये धरानमा समलिंगी ५५४ जना र तेस्रोलिंग २९ जना रहेका छन् । यौन व्यबसाय गरेर जीवन धान्नेको संख्या २८ रहेको छ ।

इटहरीमा समलिंगीको संख्या १ हजार ५५०, तेस्रोलिंगी ७२ जना र यौन व्यवसायी १४० जना रहेका छन् ।

यो संख्या मध्ये ८ जना एचआईभी संक्रमित रहेको तेस्रोलिंगी अधिकारकर्मी रवी श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो संख्या खुलेर आउनेको भए पनि यो भन्दा ठूलो संख्या खुलेर आएका छैनन । “परिवार समाजले नै समलिंगी तेस्रोलिंगी भनेर विभेद गर्ने भएकाले धेरै खुल्दैनन्,” श्रेष्ठले भने, “यदी परिवार र समाजले समलिंगी तेस्रोलिंगीलाई पनि समान व्यवहार र अधिकार प्रदान गर्ने हो भने धेरै व्यक्ति खुलेर आउने छन् । हामी त्यसको पखाईमा छौं ।”

तेस्रोलिंगी सुमन तामाङले आफू बालिका भएर जन्मिए पनि आफूमा छोरी भएको कहिले पनि भावना नआएको बताए । “कानुका नजरमा पनि हामी अरुभन्दा केही पछि परेका छौं । केही अधिकार प्राप्त भए पनि अझै धेरै अधिकार उल्लेख हुन बाँकी छ,” तामाङले भने, “सरकारले समलिंगी विवाहलाई मान्यता दिन बाँकी छ । पुरुष र महिलाले जस्तै हामीले पनि विवाह गर्न पाउनु पर्ने कानुन बन्नुपर्छ, हामी यो कानुनको पर्खाइमा छौंं ।” उनले सबै नागरिकलाई राज्यले समान दृष्टिकोणले हेरिनुपर्नेमा जोड दिए ।

“देश संघीयतामा गएको अवस्थामा अब संघीय राज्यले नै सबैलाई समेट्नुपर्छ । स्थानीय तहबाटै बजेट विनियोजन हुनुपर्छ, उनले भने, “सबैलाई संबोधन गर्ने राज्यले हामीलाइ किन संबोधन गर्दैन । हामीले बुझ्न सकेका छैनौं ।”

१७ वर्षबाट नील हिरा समाजले आफ्नो अधिकारका क्षेत्रमा काम गर्दै आएको भन्दै तामाङले नागरिकता र राहदानीको अधिकार प्रदान गरिसकेको जानकारी दिए ।
उनले सञ्चार क्षेत्रले सहयोग गरे थप अधिकार पनि चाँडै पाउन सकिने बताउँदै भने, “अन्य क्षेत्रलाई परिवर्तन गर्ने तपाइँहरुको कलमले हाम्रोबारेमा पनि लेखिदिए परिवर्तन हुन्छ भन्ने लाग्छ । त्यसैले देश संघीयतामा जाँदा हाम्रो बारेमा पनि सबै कुरा स्थानीय तहमा आओस भन्ने हाम्रो माग छ । यसमा यहाँहरुको सहयोग रहनेछ भन्ने हाम्रो विश्वास छ ।”

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.