समाजमा पुनस्थापित हुँदै तेस्रोलिंगीहरु

समाजमा पुनस्थापित हुँदै तेस्रोलिंगीहरु

डोटी (पहिचान) माघ १३ – केही बर्ष अगाडी समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई गर्ने बिभेद पछिल्लो समयमा निकै फरक भएको एक कार्यक्रममा बताइएको समाचार इप्रभाव अनलाइनले लेखेको छ ।

केही दिन अगाडी नील हिरा समाज डोटी शाखाले आयोजना गरेको अन्र्त्क्रिया कार्यक्रममा सहभागीले यस्तो बताएका हुन । यौनिक तथा लैंगिक अल्पसंख्यकलाई बिभिन्न दर्जा दिने समाज पछिल्लो समयमा समान नागरिकको रुपमा हेर्दै स–ब्यबहार गर्ने गरेको एक जना तेस्रोलिंगीले बताए ।

आफ्ना हक अधिकारहरु सुनिश्चित गर्न कडा आन्दोलनमा उत्रेर आफ्ना मागहरु संबिधानमा लेखाउनका लागि दिनरात खटेर पूर्व सभासद सुनिलबाबु पन्तले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई स्थापित गर्न कडा संघर्ष गरे । त्यसै अनुरुप हाल आएर समाजमा समान नागरिक भएर स्थापित भइरहेका छौं, उनले भने । डोटीमा नील हिरा समाज २०६३ सालमा स्थापना भएदेखि दुईसय भन्दा बढी यौनिक तथा लैंगिक अल्पसंख्यकलाई चेतनामुलक कार्यक्रम दिदै आएको समाजकी कार्यक्रम संयोजक निरङ्ग चौधरीले बताइन ।

‘जिल्लामा तेस्रोलिंगीहरु कतिजना छन भनेर यथेस्ट डाटा हामीसंग पनि छैन ।’ चौधरीले भनिन, ‘तेस्रोलिंगीहरु समाजमा खुलेर आउन सक्दैनन, त्यसैले हामीले कसै माध्यमबाट मात्र थाहा पाएकाहरु दुईसय भन्दा बढी मात्र हाम्रो सम्पर्कमा आएका छन ।’ हामी उनीहरुलाई गाउँगाउँमा गएर बिभिन्न रोगहरुबाट बच्न र बचाउने उपायहरु सिकाउने गर्छौं । समाजमा स्थापित गर्नका लागि बिभिन्न कार्यक्रमहरु पनि दिने गरेको उनले बताइन ।

सुदूरपश्चिमका तीन जिल्ला (कञ्चनपुर, कैलाली र डोटी) मा कार्यालय स्थापना गरेदेखि यौनिक तथा लैंगिक अल्पसंख्यकहरु समाजमा सजिलै तरिकाले घुलमिल हुन सकेका छन । बिभिन्न समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यक बारे चेतना फैलाउँदा सहज भएको नील हिरा समाज केन्द्रीय कार्यालयका कार्यक्रम अधिकृत बिश्वराज अधिकारीले बताए ।

‘सामान्य मानिसले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई नागरिकको दर्जा पनि नदिने, जता पनि कुरा काट्ने, इज्जतका साथ बस्न नदिने, अनेक शब्द प्रयोग गरी होच्याउने जस्ता बिबिध कारणले समाजमा बस्नै नसकिने अवस्था थियो ।’ कार्यक्रम अधिकृत अधिकारीले भने, ‘तेस्रोलिंगी नागरिकलाई पशुसरह सोच्ने नागरिकले यौनिक तथा लैंगिक अल्पसंख्यक पनि हामी जस्तै हुन, यिनलाई बिभेद गर्नुहुन्न भन्ने भावना पलाउँदै आएको छ ।’

‘पशुलाई मान्छे बनाउनु भगवानको कृपा हो ।’ कार्यक्रम अधिकृत अधिकारीले भने, ‘हामीलाई मान्छे बनाइ समाजमा स्थापित गर्ने भगवान पूर्व सभासद सुनिलबाबु पन्त नै हुन ।’ उनले गर्दा हजारौं यौनिक तथा लैंगिक अल्पसंख्यकहरु समाजमा सहज रुपले पुनस्थापित भएका छन ।

नेपालको कुल जनसंख्याको १० प्रतिशत यौनिक तथा लैंगिक अल्पसंख्यक छन । तिनीहरुका हक अधिकारको लागि संबिधानमा लेखाउन सफल भएका सभासद पन्तले यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि ब्यापक योगदान पु¥याएको नील हिरा समाज केन्द्रीय कार्यालयका अधिबक्ता सुजन पन्तले बताए । उनले भने, ‘नेपाल बिश्वकै पहिलो मुलुक हो । जसले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई संबैधानिक अधिकार प्राप्त गराएको छ ।’

कतिपय देशमा त तेस्रोलिंगीहरुलाई सार्वजनिक ठाउँमा हत्या नै गर्ने गर्छन । अधिबक्ता पन्तले भने, ‘हाम्रै छिमेकी मुलुक भारत तथा चीनमा पनि यौनिक तथा लैंगिक अल्पसंख्यकलाई अधिकार नदिन संबिधानमा केही कुरा लेखेकै छैन । उनीहरुलाई पशुको जस्तो ब्यवहार गरेको छ ।’ अन्य मुलुकमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई समाजमा पुनस्थापित हुन अझैं कयौं बर्ष लाग्ने उनले बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.