वाउ फेस्टिभलमा समलिंगी तेस्रोलिंगी महिला : विपरितलिंगीवाद अन्त्यको माग

वाउ फेस्टिभलमा समलिंगी तेस्रोलिंगी महिला : विपरितलिंगीवाद अन्त्यको माग

ललितपुर (पहिचान) फागुन ८ – विश्वभरका सबैखाले महिलाको पर्व ‘वाउ फेस्टिभल’ नेपालमा सम्पन्न भएको छ । ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ कलेजमा यही १७ फेबुअरीमा भएको फेस्टिभलमा यौनिक तथा लैंगिक अल्पसंख्यक महिलाले पनि भाग लिए । ‘वाउ फेस्टिभल’ महिला तथा केटीहरूको लागि एक दिने कार्यक्रम हो जसमा उनीहरूले भोगेका चुनौती र त्यससँग जुध्ने योजनाका विषयमा छलफल भएको थियो ।

कार्यक्रमको एउटा प्यानलमा ‘महिला र यौनिकता’ शिर्षकमा बसह भएको थियो, जसमा प्यानलिस्टका रुपमा तेस्रोलिंगी महिला रुक्शना कपाली र समलिंगी महिला लक्ष्मी घलानले भाग लिएका थिए । महिला र यौनिकताको विषयमा लैंगिक अधिकारकर्मी सुमिरा श्रेष्ठले मध्यस्थ गरेको प्यानलमा यौन अधिकारका अधिवक्ता शुभ कायस्थ, जनस्वास्थ्य चिकित्सक मधुरिमा भद्र, दृष्टिविहीन अधिकारकर्मी सृष्टी केसी लगायत सहभागि भए ।

 

सहभागीहरूले सामाजिक बन्धन र मान्यताका कारण कसरी आफ्नो यौनिकता नियन्त्रण गर्नु परेको छ र आफ्नो यौनिकता खुलेर पुकार्न पनि बाधा भएको छ भन्न आफ्ना कथाहरू सार्वजनिक गरेका थिए । यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको आवाजमा भने लक्ष्मी घलानले आफू समलिंगी महिला भएका कारण जीवनमा भएका विभिन्न चुनौतीहरूका कुरा गर्दै त्यसलाई सामना गर्दाका अनुभव सुनाइन् । ‘कतिपय मानिसलाई अझै लाग्छ कि समलिंगी महिला भनेको लिंग नपाएर भएका हुन, यिनीहरूले लिंग पाए भने यस्तो हुँदैनन,’ लक्ष्मी घलानले भनिन्, ‘यो भ्रमात्मक सोच र मिथ्याहरूलाई समाजबाट विस्तारै नचिर्दासम्म सहज वातावरण बन्दैन ।’ उनले समलिंगी महिलालाई समावेशी र मैत्रीपूर्ण समाज निर्मांण गर्नुपर्नेमा जोड दिइन् ।

शरीर भरी कागजका टुक्रा टाँसेर स्टेजमा पुगेकी रुक्शना कपालीले कागजका टुक्रामा तेस्रोलिंगीलाई लाग्दै आएका अनेक अरोप प्रति व्यङग्य गरिन् । ‘म आज तपाइँहरूको सामू उभिएकी छु । मेरो शरीर भरी मैले कागज टाँसेकी छु र यसमा थरी थरीका उपनाम लेखेकी छु,’ रुक्शनाले भनिन्, ‘यो त्यही उपनाम हो जुन हामीलाई समाजले भिराएको छ, हो म आज यही मञ्चबाट यो घोषणा गर्न चाहन्छु कि म आज केवल पितृसत्तालाई चिर्न आएकी होइन, समाजमा रहेको विपरीतलिंगीवाद र जेण्डर बाइनेरीको मान्यता पनि चिर्न आएकी हुँ ।’

कार्यक्रममा समलिंगी महिला, द्वीलिंगी महिला र तेस्रोलिंगी महिला पनि महिला हुन् भन्ने मान्यताका साथ सबैको अधिकारका लागि सबै एकजुट हुने प्रतिबद्धता सार्वजनिक गरिएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.