तेस्रोलिंगीको अधिकार वकालत गर्दै ‘जिउँदो आकाश’

तेस्रोलिंगीको अधिकार वकालत गर्दै ‘जिउँदो आकाश’

काठमाडौं (पहिचान) फागुन १६ – नाटककार चन्द्रसाद पाण्डेले नाटकका माध्यमबाट सिमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउन सकिने बताएका छन् । रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै उनले अधिकार विहिन समुदायका लागि नाटक लगायत कलाका अन्य विधाबाट आवाज उठाउन सकिने वताए ।

“जिउँदो आकाशबाट जसरी तेस्रोलिंगीको अधिकार र अवस्थाका विषयमा आवाज उठाउन सकियो त्यस्तै कलाका अन्य विधाबाट पनि यो समुदायका बारेमा आवाज उठाउन सकिन्छ,” नाटककार पाण्डे भन्छन्, “नाटक लागायत कलाका अन्य विधाका माध्यमबाट तेस्रोलिंगीको अधिकार उठाउन र वर्तमान अवस्थाबारे जानकारी दिन सकिन्छ ।”

उनले लेखेको नाटक ‘जिउँदो आकाश’ अहिले सर्वनाम थिएटरमा मञ्चन भैरहेको छ । उक्त नाटकले तेस्रोलिंगी समुदायको कथा भन्ने प्रयास गरेको छ ।
‘नाटक जिउँदो आकाश’ तेस्रोलिंगी समुदायले घर तथा समाजमा भोग्नु पर्ने पीडामा केन्द्रित भएपनि उक्त नाटक तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोणमा बदलाव ल्याउन वा चेतना फैलाउने उदेश्यले भने सुरुआत नगरिएको पाण्डेले स्पष्ट पारे । “सुरुमा मलाई यो समुदायका बारेमा खासै धेरै थाहा थिएन । निर्देशक आरके मेहता रोशनले भने पछि यो विषयमा बुझ्न नील हिरा समाजसम्म आएपुँगे, यहाँ आएपछि उहाँहरु समाज तथा राज्यबाटै विभेदमा हुनुहुँदोरहेछ भनेर थाहा पाएँ,” उनले भने, “काम गर्दै जाँदा नाटक बन्यो । उहाँहरुले भोगीरहेको समस्या उठान गरेपछि उहाँले भोगीरहनु भएको समस्या उठान भएको हो ।”

“सुरुआतको उदेश्य तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोण समाजमा राम्रो छैन र उहाँहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउँदै चेतना फैल्याउनुपर्छ भनेर काम सुरु नगरेपनि अन्ततः त्यही काम गरेको छ,” नाटककार पाण्डे भन्छन्, “गीताको एउटा श्लोकमा भनिएको छ काम गर तर फलको आशा नगर । तर यो नाटकमा फल आशा नराखी काम गरे पनि फल भने पाइयो । दर्शकले पनि नाटक रुचाइदिनु भएको छ भने तेस्रोलिंगीले पनि हाम्रो पक्षमा नाटक बनाइदिएको ठान्नु भएको छ । यो हाम्रा लागि सकारात्मक पक्ष हो ।”

चन्द्रप्रसाद पाण्डेले लेखेको उक्त नाटकलाई आरके मेहता रोशनले निर्देशन गरेका छन् । नाटकका एक मात्रै अभिनेता अनिल सुब्बा हुन् । उनको ‘सोलो पफर्म’ नाटकमा देख्न सकिन्छ ।

यही फागुन ११ गतेदेखि सर्बनाम थिएटरमा मञ्चन भैरहेको नाटक १९ गतेसम्म चल्नेछ । नाटक दोस्रोपटक मञ्चन भएको हो ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.