“यौनिक तथा लैंगिक अल्पसंख्यकलाई गर्व गर्ने बनाउन सामाजिक सुरक्षा भत्ता”

“यौनिक तथा लैंगिक अल्पसंख्यकलाई गर्व गर्ने बनाउन सामाजिक सुरक्षा भत्ता”

bdr

काठमाडौं (पहिचान) चैत १४ – यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा काम गरेका अध्ययनकर्ताहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुमा सामाजिक अवस्थाका कारण समस्या रहेको भन्दै उनीहरुलाई गर्वसाथ समाजमा उभिने बनाउन समाजिक सुरक्षा भत्ता आवश्यक रहेको बताएका छन् । विभिन्न जिल्लामा रहेर कार्यक्रम संयोजकका रुपमा काम गरेका अध्ययनकर्ताहरुले अन्य समुदायमा पनि हिन भावनाबाट बाहिर निकाल्न सामाजिक सुरक्षाभत्ताले राम्रो काम गरेको भन्दै त्यसरी नैं यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई पनि समाजमा खुलेर हिड्ने बनाउन समाजिक सुरक्षा भत्ता आवश्यक हुने बताए ।

‘राज्यले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई आरक्षण र संरक्षण गर्नुपर्छ,’ सुन्दर समाज बर्दियाकी कार्यक्रम संयोजक काजोल चौधरीले भनिन्, ‘अन्य भनेर नागरिकता लिनेलाई सामाजिक भत्ता दिनु पर्छ । त्यसले यौनिक तथा लैंगिक अल्पसंख्यकको तथ्याङक लिनलाई सरकारलाई समेत सजिलो हुन्छ ।’ उनले दलित समुदायलाई समाजिक सुरक्षा दिन थालेपछि उनीहरुले आफ्नै पहिचान खुल्ने थर प्रयोग गर्न थालेको सुखद अनुभव पनि राज्यसँग रहेको बताइन् । ‘बोट विरुवाको संरक्षणमा लाग्ने राज्यले यौनिक तथा लैंगिक पहिचान भएका नागरिकलाई दिनुपर्ने संरक्षण र सम्मान समेत दिन सकेको छैन,’ चौधरीले भनिन् ।

उनले बर्दियामा २५ सय ९१ जना यौनिक तथा लैंगिक अल्पसंख्यक रहेको जानकारी दिइन । त्यसमध्ये १२ सय तेस्रोलिंगी रहेको वताइन । जिल्लामा १२ जना समलिंगी तेस्रोलिंगीलाई एचआइभीको संक्रमण भएको र उनीहरुलाई नील हिरा समाजको शाखा कार्यालय सुन्दर संसारले एआरटी सेवा दिइरहेको कार्यक्रम संयोजक चौधरीले वताइन । उनका अनुसार बर्दियामा चार जनाले पहिचान अनुसार लिंगको महलमा अन्य उल्लेख भएको नागरिकता लिएका छन् । जिल्लामा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि जिल्ला विकास समितिले १ लाख र नगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्दै आएको उनले वताइन ।

यस्तै यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा काम गरिरहेकी नील हिरा समाज कपिलबस्तुकी कार्यक्रम संयोजक प्रेरणा विष्टले पनि समलिंगी तेस्रोलिंगी द्विलिंगी र अन्तरलिंगी सबैलाई खुलेर आउन समाजिक सुरक्षा भत्ता प्रभावकारी कार्यक्रम बन्न सक्ने बताइन् । उनले सन् २०१५ देखि सुरु नील हिरा समाज कपिलबस्तुमा २ हजार ४ सय यौनिक तथा लैंगिक अल्पसंख्यक रहेपनि करिव एक हजार मात्र खुलेर आएको बताइन् । ‘मधेशमा बालबिवाह हुने गरेका कारण थुप्रै यौनिक तथा लैंगिक अल्पसंख्यकहरु समस्यामा छन्,’ प्रेरणाले भनिन्, ‘मुश्लिम समुदायमा घरबाट निकालिदिने त्रास र शिक्षाको अभावमा भ्रम रहेका कारण पनि खुलेर आउनेको संख्या एकदमै न्युन छ ।’

उनले समलिंगी १३ जोडी पार्टरशिपमा रहेको भन्दै उनीहरु अझै परिवारमा स्वीकार्य नभएकाकारण बाहिर बस्न बाध्य रहेको तथ्यांक प्रस्तुत गरिन् । उनका अनुसार जिल्लाका यौनिक तथा लैंगिक अल्पसंख्यकलाई जिल्ला विकास समितिले १ लाख र नगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्दै आएको छ । त्यो सहयोगबाट जनचेतना मुलक नाटक, शिक्षक विद्यार्थीलाई अभिमुखीकरण गरिएको विष्टले वताइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.