सरकारी स्तरबाट पहिलो पटक यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि राष्ट्रिय फुटसल, यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको खेलकुद संघ दर्ता गर्ने

सरकारी स्तरबाट पहिलो पटक यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि राष्ट्रिय फुटसल, यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको खेलकुद संघ दर्ता गर्ने

ललितपुर (पहिचान) चैत्र २३ – राष्ट्रिय खेलकुद परिषदले पहिलो पटक यौनिक तथा लैंगिक अल्पसंख्यकहरुका लागि राष्ट्रिय फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । राखेपले पत्रकार सम्मेलन गरेर राष्ट्रिय फुटसल प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।

सरकारी स्तरबाट दक्षिण एसियाली देशहरुमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुका लागि राष्ट्रिय फुटसल गर्ने नेपाल सम्भवत पहिलो देश भएको राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टले दावी गरे । पत्रकार सम्मेलनमा उनले समुदाय स्तरमा नेपाल सहित अरु देशमा खेलकुद प्रतियोगिता भएपनि सरकारी स्तरबाट हुने यो प्रतियोगिता पहिलो भएको वताए ।

“खेलकुदका माध्यमबाट देशको गौरव बढाउन सक्नु हुन्छ भने त्यो अवसर दिनु पर्छ सदस्य सचिव विष्टले भने, यो समुदायलाई पहिलो पटक सम्बोधन गरेर महत्वपूर्ण काम गरेको महसुस भइरहेको छ ।” उनले यो सुरुवात मात्रै भएको र अन्त्य नभएको वताए । अन्तराष्ट्रिय स्तरमा हुने प्रतियोगितामा यो समुदायका खेलाडिलाई पनि सहभागी गरेर तालिम दिने प्रतिवद्धता उनले जनाए ।

उनले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको खेलकुद संघ दर्ता गर्ने आश्वासन समेत दिएका छन् । “तपाईहरुको खेल संघ दर्ता गर्नुहोस, खेलकुद विधामा विधान बनाएर दर्ता गर्ने व्यवस्था मिलाउँछौ उनले भने, त्यो संघ पनि परिषद्को अंग हुनेछ ।”

बैशाख ७ र ८ गते काठमाडौंको हाडिगाउँमा रहेको धनवनतरी फुटसल मैदानमा हुने प्रतियोगिताको खेलाडी छनौटका लागि नील हिरा समाजले संजय शर्मा, विश्वराज अधिकारी, भक्ति शाह, पिटर तामाङ, अपेक्षा दाहाल, सुदिप गौतमलाई संयोजक तोकिसकेको समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले जानकारी दिइन । उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा प्रतिभावान खेलाडी भएर पनि अवसर नपाउँदा गुम्सिएर बस्नु परेको वताइन ।

उनले फुटसल प्रतियोगिता आयोजना गरेर खेलकूद जगतमा यौनिक तथा लैंगिक अल्पसंख्यकको भिजिविलिटि अगाडि बढाउन महत्वपूर्ण हुने वताइन । कार्यकारी निर्देशक ढकालले व्यवसायिक रुपमा पनि यौनिक अल्पसंख्यक अगाडि बढेर देश जगतलाई देखाउन चाहने ढकालको भनाई छ ।

नील हिरा समाजको दिवा परियोजनाका सहायक कार्यक्रम निर्देशक संजय शर्माले समावेशीलाई टोकनको रुपमा मात्र नदिन सुझाव दिए । उनले परिषद्को विधानमा समावेशीको रुपमा राखिनु पर्ने वताए । नेपालमा भएको पहिलो मिष्टर गे हेन्डसममा उपाधी विजेता विश्वराज अधिकारीले क्षमता हेरेर सम्बोधन गर्न आग्रह गरे ।

नील हिरा समाजका कानुनी सल्लाहकार एवं अधिवक्ता सुजन पन्तले राष्ट्रिय खेलकुद परिषद्को यो काम सराहनिय भएको वताए । उनले राज्यका अरु निकायले पनि यो समुदायलाई समावेश गर्दै लगे संविधान कार्यान्वयन सहज हुने वताए ।

खेलकुद सबै जात, समुदाय, उमेर, लिंग र वर्गको साझा फुलवारी भएको र सबैका लागि खेलकुद भन्ने अभियानलाई साकार पार्न समाजमा लुकेर बसेका समुदायका सदस्यलाई समाजको मुल प्रवाहमा ल्याउन प्रतियोगिता गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

स्वस्थ, तन्दुरुस्त, अनुशासित बनाउन, समाजमा उनीहरुको प्रतिष्ठामा अभिवृद्धि गर्न, व्यवसायिक सीप र दक्षता हासिल गर्न तथा खेल क्षेत्रमा समेत सहभागितालाई सुनिश्चित गर्न प्रतियोगिता सहयोगी हुने राखेपले विश्वास गरेको छ । प्रतियोगिता परिषद्को आयोजना, नील हिरा समाजको संयोजन र नेपाल फुटसल संघको व्यवस्थापनमा हुन लागेको हो ।

प्रतियोगितामा पाँच विकास क्षेत्र र उपत्यकाभित्रको दुई टिम गरि ७ टिममा ६३ जना खेलाडीको सहभागिता हुनेछ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.