दाताको काम : हेर्दा ऐना, छाम्दा छैन

दाताको काम : हेर्दा ऐना, छाम्दा छैन

माधब दुलाल/पहिचान – समलिंगी विवाहबारेको अध्ययन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा तेस्रोलिंगीको विवाह र वैबाहिक सम्बन्धबारे स्पष्ट रुपमा ब्याख्या गरेको छ । समितिका अध्यक्ष र सदस्यले समलिंगी विवाह नाम दिएको प्रतिवेदनमा तेस्रोलिंगी र अन्तरलिंगी व्यक्तिको विवाहबारे समेत स्पष्ट लेखिएको दावी गर्दै आएका छन् ।

२०६४ साल पुष ६ गते सर्वोच्च अदालतको आदेश पछि सरकारले २०६६ साल बैशाख २१ गतेको मन्त्रीपरिषद् बैठकले समलिंगी विवाहबारे अध्ययन गर्न समिति गठन गरेको हो । समितिले २०७१ सालमा समलिंगी विवाहलाई मान्यता दिनु पर्ने निष्कर्ष सहित मुख्य सचिव लिलामणी पौडेललाई प्रतिवेदन बुझाएको समितिका अध्यक्ष डाक्टर लक्ष्मीराज पाठकले प्रष्ट रुपमा भन्दै आएका छन् । पाठक हाल औषधी विभागका अध्यक्ष समेत हुन् ।
त्यतिबेलाको निर्णय
सम्मानित अदालतको उक्त फैसलालाई कार्यान्वयन गर्ने क्रममा खासगरी वुँदा नं. ३ का सम्वन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०६६/१/२१ को निर्णयवाट लैङ्गिक पहिचान र यौनअभिमुखीकरण भएका व्यक्तिहरुको समान अधिकार सम्वन्धमा अध्ययन गर्न एक समिति गठन भएको थियो । समितिका पदाधिकारीहरुको नामावली तथा कार्यक्षेत्र अनुसूची १ मा संलग्न गरिएको छ ।
अनुसुची १ मा समितिमा रहने अध्यक्ष सहित ८ जनाको नाम चयन भयो । समितिको स्वरुप यस्तो थियो ।
क) स्वास्थ्य मन्त्रालयले तोकेको विशेषज्ञ डाक्टर संयोजक
ख) राष्ट्रिय मानव अधिकार आयोगले तोकेको एकजना प्रतिनिधि सदस्य
ग) नेपाल सरकारले तोकेको एकजना समाजशास्त्री सदस्य
घ) नेपाल प्रहरीले तोकेको एकजना प्रतिनिधि सदस्य
ङ) जनसंख्या तथा वातावरण मन्त्रालयले तोकेको एकजना प्रतिनिधि सदस्य
च) कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले तोकेको एकजना प्रतिनिधि सदस्य
छ) निवेदकहरुको प्रतिनिधित्व गर्ने अधिवक्ता हरि फुयाल सदस्य

यो समितिको अध्यक्षमा रहेका डाक्टर लक्ष्मीराज पाठक स्वास्थ्य मन्त्रालयको सचिव पदबाट अबकाश पाएर झण्डै ७ बर्षदेखि बन्द रहेको औषधी व्यवस्था विभागको अध्यक्ष छन् । अधिबक्ता हरि फुयाल पहिलो पटक केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला महान्यायाधिवक्ता भएकै हुन् । फुयाल महान्यायाधिबक्ता हुन अघि नै समलिंगी विवाहबारेको प्रतिवेदन सरकारले बुझिसकेको हो ।

के अहिले आएर तेस्रोलिंगीलाई समलिंगी विवाहमा तेस्रोलिंगी पनि शब्द पनि राख्न पाए पनि हुन्थ्यो भन्ने लागेर यो प्रतिवेदन अनुसार कानुन नबनेको होइन । तेस्रोलिंगीले पनि यो प्रतिवेदन अनुसार कानुन बन्नु पर्छ भनिरहेका बेला सरकारले किन प्रतिवेदन सार्वजनिक समेत नगरी मौन बसिरहनु पथ्र्यो ? के यो प्रतिवेदन डाक्टर लक्ष्मीराज पाठक र पूर्वमहान्यायाधिवक्ता हरि फुयालको मात्रै हो ?

के उनीहरुले मात्रै यो प्रतिवेदनबारे जवाफ दिदै हिड्नु पर्ने ? कि दुवैले अहिले आफूहरु कार्यान्वयन तहमा छैनौ भनिरहने ? के छ प्रतिवेदनमा धेरैलाई गुमराहमा पारिएको छ । यो प्रतिवेदन सरकारले आजसम्म आधिकारिक रुपमा सार्वजनिक समेत गरेको छैन ।

सरकार प्रतिवेदन सार्वजनिक नगरि मौन बसिदिदाँ समलिंगी विवाहको नाममा अर्को बैबाहिक समानताको कुरा विस्तारै मौलाउँदै गएको छ । खासमा बैबाहिक समानता भनेको ए भन्ने तेस्रोलिंगी महिलाले बि भन्ने तेस्रोलिंगी (लिंग परिवर्तन गरेर महिला बनेकी) महिलासँग विवाह गर्नुलाई वैवाहिक समानता भनिएको हो ? त्यस्ता लिंग परिवर्तन गरेर तेस्रोलिंगी महिलासँगै विवाह गर्न चाहनेको संख्या कति छ ? या अन्तरलिंगी व्यक्ति समलिंगी विवाह चाहदैनन् ? आजसम्म यस्तो माग सुनिएको छैन । लिंग परिवर्तन गरेकाहरुको त प्रमाण हुन्छ होला तर लिंग परिवर्तन नगरेकाहरु त आफु स्वयं प्रमाण हुन् ।

त्यसरी खुलेर अधिकार चाहियो भन्दै आइसकेपछि पनि नदेखेको जस्तो गरेर सरकार मौन बस्नुको कारण के हो ? यिनिहरु यस्तै हुन कराइरहन्छन, यिनिहरुलाई किन अधिकार दिनु भनेर पो हो कि ? कि अब फेरी यही नाममा लाखौ धनराशी खर्च गर्नु पर्छ भनेर पो हो कि ? सरकारको थोरै लगानीमा तयार भएर बुझाइएको प्रतिवेदन लुकाउन अब धेरै लगानी गरेर अर्को प्रतिवेदन बनाउने खेल पो हो कि ? अहिले प्रतिवेदनबारे प्रष्ट रुपमा आधिकारिक निकायले जानकारी नदिदाँ शंका उब्जिएको छ ।

कि त ए भन्ने तेस्रोलिंगी (महिला या पुरुष ) ले समलिंगी सम्वन्ध (पुरुष या महिला ) सँग राख्दा आफू असुरक्षित भएको महसुस गरेको सरकारलाई लागेको हो ? या त तेस्रोलिंगी र समलिंगीका मल्टिपार्टनर हुन्छन भनेर हो ? यस बिषयमा अब सरकार मौन बसिरहनु हुँदैन ।
सरकार यसैगरी हातमा परेको प्रतिवेदन सार्वजनिक नगरी मौन बस्दा अधिकार माग्नेहरुको माग पूरा गरिदिने कसले ? यस्तै हो भने आफूलाई यौनिक तथा लैंगिक अल्पसंख्यकहरु भनेर चिनाउने समलिंगी, तेस्रोलिंगी, दुई लिंगी (महिला पुरुष दुवै प्रति शारीरिक रुपले आकर्षित हुने ) र अन्तरलिंगी समुदायका व्यक्तिले अधिकार पाउँलान ?

संविधानमा लेखिएका ३३ वटा मौलिक हक भित्र रहेको यौनिक तथा लैंगिक अल्पसंख्यक भन्ने शब्द उल्लेख हुनुले मात्रै यो समुदायले अधिकार पायो भन्ने हो र ? संबिधान अनुसार २०७५ असोज अगाडी नै कानुन बनेन भने संविधानमा लेखिएको मौलिक हकको कार्यान्वयन होला ? संविधान अनुसार कानुन नबनेर संबैधानिक संकट आएमा दातृ निकायकै हाली मुहाली हुने र अन्तिममा हेर्दा ऐना छाम्दा छैन भन्ने अवस्था नआउला भन्न सकिदैन ।

त्यसैले सरकार संविधानमा उल्लेख भएका मौलिक हक अनुसारका कानुन बनाउन ढिलो भइसकेको छ । आफ्नो देशका नागरिकलाई अधिकार सम्पन्न गराउने भनेको आफ्नै देशको सरकारले हो । अरुको लाख आमाको काख भने जस्तै सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि नेपालमा पहिलो पटक भएको अध्ययन सहितको प्रतिवेदन अनुसार कानुन बनाउन ढिलो नगर्दा उपयुक्त हुन्छ ।

तेस्रोलिंगीको विवाह र वैबाहिक सम्बन्धबारे प्रतिवेदनमा लेखिएको अंश पनि पढ्होस

जैविकरुपले अन्तरलिङ्गी वा उभयलिङ्गी शिशुहरु ज्यादै थोरै संख्यामामात्र जन्मन्छन् र जन्मेकाहरुमध्ये पनि जैविक कारणले बाबुआमा र परिवारको संकोचले र डर तिरस्कारको कारण र त्यस्ता शिशुका हेरचाहका कसीको कारणले अन्य नवजात शिशुहरुभन्दा बढी दरमा मृत्यु हुन्छ । उता परालिङ्गी (transvestite person)हरु मूलतः जन्मिएको वा हालको जैविक लिङ्ग छोडेर अर्को लिङ्गमा चिरफार वा अन्य माध्यम मार्फत प्रवेश गर्ने हुँदा परालिङ्गीहरु तेश्रोलिङ्गीबाट छुट्टै समुहमा पर्ने भए । यद्यपी यी दुईमा बढ्दो समानता देखिन थालेको छ । साथै आफ्नो जैविक लिङ्गको नभएर अर्को जैविक लिङ्गको व्यक्तिले लगाउने लुगा, हाउभाउ, बोली आदि गर्ने व्यक्ति (transvestite person) पनि तेश्रोलिङ्गी भन्दा फरक भयो ।

किनकी तेश्रोलिङ्गीले यसलाई समष्टिगत जीवनशैली नै बनाएको हुन्छ । विशिष्ट परिस्थितिमा मात्र होइन transvestite अवस्था कदाचित तेश्रोलिङ्गीको प्रारम्भिक अवस्था हुन पनि सक्ला ।
विश्वका अन्य कतिपय मुलुक र समुदायहरुमा भन्दाभिन्दै दक्षिण एशिया र अझ खासगरेर भारत र नेपालमा तेश्रोलिङ्गीहरुको संख्या उल्लेखनीय रहेको अनुमान गर्न सकिन्छ ।

यो अध्ययनको दौरानमा भेटिएका पुरुष र महिला समलिङ्गीहरुभन्दा ठूलो संख्यामा वा हाराहारीमा तेश्रोलिङ्गी नै थिए । तेश्रोलिङ्गीहरु ठूलो संख्यामा हुनुका सिद्धान्ततः तीनवटा कारणहरु हुन सक्छ्न् । एक तेश्रोलिङ्गीहरु जैविकरुपले नै बढी जन्मिछन् । दुई, दक्षिण एशिया र नेपालमा तेश्रोलिङ्गीहरु अन्य मुलुकहरुमाभन्दा सामाजिक रुपले बढी सृष्टी या निर्माण हुन्छन् । तीन धेरैजसो तेश्रोलिङ्गीहरु समलिङ्गी पनि हुन् ।

पहिलो सम्भाव्य कारणको वजन न्यून छ । जैविक हिसावले विश्वभरिका मानवहरुको बनावट र जैविक–यौनिक अनुपात एकै वा झण्डै एकै किसिमको हो । बालक र बालिकाको जन्मावस्थाका अनुपात पनि विश्वभरि झण्डै एउटै हुन्छ । यसैकारण पनि दक्षिण एशिया र नेपालमा तेश्रोलिङ्गीको जन्मदाको अनुपात अन्य मुलुक र समुदायभन्दा धेरै पृथक हुनसक्ला भन्ने मान्न सकिने आधार छैन ।

देश्रो र तेश्रो सम्भाव्य धारणाको वजन भने धेरै छ । यहाँ यो तथ्यमा जोड दिन आवश्यक छ की विश्व व्रम्हाण्ड लगायत प्रकृति, चराचर, समाज र यहाँसम्मकी निर्जीव वस्तुहरुलाई चिन्न, बुझ्न र व्यवहार गर्न हामी लैङ्गिकताको आम प्रयोग गर्छौ । प्राणी वा वस्तुको प्रारम्भिक चिनारीमा उक्त वस्तु वा प्राणीको लैङ्गिकता नै पर्छ । आकाँश, सूर्य, चन्द्र, पृथ्वी, जन्मभूमि सवैको लिङ्ग छ । हामी यसरी नै बुझ्छौ । अझ कतिपय भाषामा त रेल स्त्रीलिङ्ग हो । लैङ्गिक वर्गीकरण विना हामी हाम्रो आफ्नै र साथै वरिपरिका प्रकृति, व्यक्ति र समाज वुझ्न सक्दैनौ ।

यहाँ अर्को तथ्यमा पनि जोड दिन लायक छ । परिवारमा लोग्ने–स्वास्नी, बाबु–आमा, हजुरबा–हजुरआमा, दाजु–भाउजु, दिदि–भिनाजु हुन्छन् । लोग्ने–लोग्नेको दम्पति बन्दैन, परिवार बन्दैन । यसैगरेर बाबु–बाबुको, हजुरबा–हजुरबा, दिदि–दिदिको दम्पति बन्दैन र आमा–आमा, हजुरआमा–हजुरआमा, भाउजु–भाउजु र भिनाजु–भिनाजुको दम्पति बन्दैन ।

अर्थात संसार चिन्न र बुझ्ना लिङ्गको आधार नभई हुँदैन । र परिवार बन्न भाले र पोथी नभई हुँदैन । हाम्रो आम र विपरितलिङ्गी सोचाई र गराइ यही हो । हाम्रो भाषा, दिल, दिमाग, सपना, विपना सर्वत्र यहि नै छ । यो सोच समाज र व्यवहारको प्राधिकारीक आधारव्यञ्जना (template) हो यसलाई त्याग्न हतपति सकिदैन । प्राधिकारिक संरचना, इतिहास, संस्कृति आदिले हामीलाई सिकाएको यहि हो ।

सायद यहि कारण हो की अधिकाँश (र सायद सबै) तेश्रोलिङ्गी जोडीहरुमा एक पुरुष बन्छ र एक महिला । पुरुष र महिलाबिना जोडी वा दम्पति बन्न सक्दैन भन्ने धारणा व्यापक र गहिरो छ । समलिङ्गी जोडीमध्येको एक व्यक्ति आफ्नो जैविक लिङ्गभन्दा बेग्लै र अर्को सामाजिक लिङ्ग आत्मसात गर्न इच्छुक र वाध्य दबै छन् । इच्छुक छन् किनकी उनीहरुले यहि देखेका र अनुभव गरेका छन् । बाध्य छन् किनकी विपरित लैङ्गिकता छाएको समाजले सापेक्षिक बैधताको बाटो यहि हो भन्ने चिनाउँछ । यद्यपी यो पनि थोरैहदमा भएपनि सम्भव छ की समलिङ्गी जोडीमध्ये एकमा विपरितलिङ्गी हर्मोन रसायन सापेक्षिक रुपले बढी निर्माण र प्रवाहित हुन्छ र यसले सामाजिक लिङ्गको पहिचान निर्माण गर्छ, । फेरी मानसिक इच्छाले विशिष्ट लैङ्गिक हर्मोन रसायन पैदा गर्ने वा यस्तो कार्य–कारण सम्बन्ध उल्टने पनि हुनसक्छ ।

दक्षिण एशियामा हाल तेश्रोलिङ्गीहरु संख्यात्मक हिसावले धेरै हुनुको पछाडी हिन्दु धर्मग्रन्थहरुमा निहित लैङ्गिक वहुलता र यो वहुलतालाई खास सीमाभित्र राखेर स्वीकार्ने मूल्यमान्यता र संरचना पनि जिम्मेवार हुन सक्छ । पक्कै पनि वर्तमान भूतकालबाट निस्किएको हुन्छ तर वर्तमानले भूतकालमा अडेस लगाएको पनि हुन्छ । विगतको वहुलैङ्गिकताको वर्णन र सापेक्षिक बैधताले बर्तमान समलैङ्गिकता, तेश्रोलैङ्गिकता आदिलाई सीमित दायराभित्र भएपनि स्वीकार्य र पाच्य तुल्याएको हुन सक्छ । प्रताडना र वञ्चितिकरणमा परेका धेरै पुरुष समलिङ्गीहरुले तेश्रोलिङ्गी इतिहास, धर्मशास्त्र र संस्कृति लगायत प्राधिकारीक विपरितलिङ्गी, पारिवारिक र अन्य संरचना अन्तर्गत सुरक्षा खोजेको र केहि हदमा भेटेको हुनसक्ने प्रगाढ सम्भावना छ । तेश्रोलिङ्गी अवतार इतिहास र संस्कृतिकै धारण आमजनमानसमा सापेक्षिकरुपले स्वीकार्य पनि रहेको छ ।
यसरी विश्लेषण गर्दा तेश्रोलिङ्गी जोडीबीचको सहवास वा विवाह जैविक हिसावले भन्ने हो भने समलिङ्गी जोडीबीचको सहवास वा विवाह नै हो । यस दृष्टिकोणवाट हेर्दा समलिङ्गी जोडी र तेश्रोलिङ्गी जोडीको सहवास वा विवाहको कानुनी अधिकार र हैसियत एकै हो । यी दुईमा फरक के छ भने समलिङ्गी जोडीको जैविक र सामाजिक दुवै लिङ्ग एउटै हुन्छ भने तेश्रोलिङ्गी जोडीमध्ये एकको सामाजिक लिङ्ग एकहदसम्म विपरितलिङ्गीको झै हुन खोज्छ वा हुन पुग्छ । धर्मशास्त्र र संस्कृतिको सुरक्षाले सम्भवतः सामाजिक दवावले आफ्नै इच्छाले र हर्मोन रसायनको विशिष्ट संरचनाले वा बढ्दो प्रयोगले यस्तो भएको हुन सक्छ ।

तसर्थ सहवासी वा वैवाहिक जीवनमा र समाजमा तेश्रोलिङ्गीको दुईवटा पहिचान बन्छ । पहिलो जैविक प्राणीको हिसावले र दोश्रो सामाजिक प्राणीको हिसावले । यी दुवै चिनारीहरु महत्वपूर्ण छन् । यसर्थ यी दुईमध्ये जुन चिनारी जुन प्रयोजनको लागि प्राथमिक महत्वको हो सो अग्रभागमा र दोश्रो चिनारी पाश्र्वभागमा चिन्हित गर्नु उपयुक्त हुन्छ । तर दुवै चिनारी महत्वपूर्ण हुन र दुवै अंकित हुने प्रणाली बनाउनु उपयुक्त हुन्छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.