“मलाई साथिहरु भन्थे ओई तैले केटी मन पराको हो ?”

“मलाई साथिहरु भन्थे ओई तैले केटी मन पराको हो ?”

काठमाडौं (पहिचान) जेठ २० – नट्टु शाह पछिल्लो पुस्ताका लोकप्रिय गायक हुन् । उनको आवज आजभोली हरेक क्याफे र रेष्टुरेण्टका स्पिकरमा गुञ्जिन्छ । कानमा इएरफोन हालेर हिडिरहेक युवा युवतिको कानमा पनि गुञ्जिन्छ । नेपाली अंग्रेजी दुवै भाषामा गीत गाउन सक्ने शाह निर्देशक पनि हुन् । यी सबैका बावजुद उनी ट्रान्सजेन्डर मेल हुन् ।

काठमाडौँको होस्टेलमा बसेर विद्यालय जीवन पुरा गरेकी शाहले विद्यालयका दिन आफु केटा होइन भन्ने प्रष्टिकरण दिदैँ बिताउनु परेको बताउँछिन् ।

“मलाई साथिहरु भन्थे ओई तैले केटी मन पराको हो ?” शाहले भनिन् ।

आफ्नै लिंगको पहिचान गर्न नसक्दा शाहको विद्यालय जीवन दुविधामा बित्यो । जब साथिहरु शाहलाई जिस्काउँदै केटी मन पराएको हो भनेर सोध्ने गर्थे तब् उनी हो पनि भन्न सक्थीनन र होइन पनि भन्न सक्थीनन् । साथिले तारन्तर आफ्नो लैगिंकतामाथि प्रश्न गर्न थाले पछि उनले प्रश्नबाट जोगिन उनले लामो कपाल पालिन ।

“मैले नामको लागि मात्रै पनि ब्वाईफ्रेन्ड बनाए, तर ब्वाईफ्रेन्डसंग हिड्दा उसको हात समातिन न त उसंग धेरै कुराकानी गरे मात्र नामको लागि ब्वाइफ्रेण्ड बनाए ।” आफुलाई जोगाउँदाका अनुभव बाँडिन शाहले ।

त्यसपछि उनी साथिहरुलाई जवाफ स्वरुप आफ्नो ब्वाईफ्रेन्ड देखाउँथिन् । त्यसो त उनलाई विद्यालय जीवनमै प्रेमपत्र पनि आउन थालिसकेका थिए । उनलाई प्रेमपत्र पठाउनेहरु केटा नै हुन्थे ।

विस्तारै विस्तारै उनका साथिहरुले थाह पाए कि शाहलाई केटा होइन केटी नै मन पर्छ भनेर । त्यसपछि उनले डटेर साथिहरुको प्रतिवाद गरिन्….उनलाई लाग्थ्यो आफु केटी नै हुँ तर मनले केटी नै रोज्थ्यो आँखाहरु केटी भएतर्फ नै गएर ठोकिन्थे । उनले आफ्नो शारिरको बचाउ गर्नकै लागि भए पनि बारम्बार आफु केटी हुँ भन्नुपथ्र्यो ।

आज सम्झिदा उनलाई त्यो प्रतिवाद वित्थामा गरेछु जस्तो लाग्छ । आफुले केटी मन पराउने कुरा साथिहरुले अभिभावकलाई भन्दीन्छन् की भन्ने डर पनि उनको मनमा हुन्थ्यो । त्यही डरबाट बच्न, लोकको लाजबाट बच्न उनले आफुलाई केटी नै हो भन्ने विश्वास दिलाईन् । अरुलाई पो ढाँट्न सकिन्छ तर आफैलाई ?

एकदिन गहभरी आँसु पारेर उनी अंग्रेजी पढाउने शिक्षकको कोठामा गईन् । र भनिन्

“सर मलाई कस्तो अप्ठेरो लागिरहेको छ ।”

शिक्षकले सोधे “किन ।”

“मेरो सबैजना साथिहरु केटा मन पराउँदैछन् तर मलाई त केटी पो मन पर्न थाल्यो ।” शाहको यो बोली सुनेर शिक्षक एकछिन मौन भए । शिक्षकको मौनताले शाहलाई उद्धेलित बनाउनै आँटेको थियो । मौनता चिर्दै शिक्षकले भने “तिमि लेस्बीयन हो नानी ।”

यतिजेञ्लसम्म उनी आफैले आफैलाई सम्बोधन गर्न नसकेको शब्द शिक्षकले एकै पटक भने । निमेषभरै उनी लेस्बीयन भईन । अलिक अगाडीसम्म आफ्नो परिचय खोजिरहेकी शाहले परिचय त पाईन तर आफैले नबुझेको र नजानेको आफ्नो परिचय उनी पहिलोपटक सुन्दै छिन् ।

शाह आफ्नै परिचयसंग अपरिचित भएको देखेर शिक्षकले सबैकुरा सम्झाए । आफ्नै परिचयसंग परिचित भईसकेपछि शाहले शिक्षकलाई आफु लेस्बीयन भएको कुरा अरुलाई नबताई दिन आग्रह गरिन् ।

अब उनी आफ्नो परिचयमा निश्चिन्त थिईन, ढुक्क थिईन् । त्यसपछि उनले आफुभित्रको पुरुषत्वलाई हुर्काउन थालिन् । लुकेर रहेका पुरुषिय गुणलाई बाहिर निकाल्न थालिन । यति हुँदा हुँदै पनि उनले लामो कपाल भने पालेकै थिईन् । उनको बद्लिदो व्यवहार देखेर उनकी आमाले उनलाई पिंक कलरको कुर्ता सलवार ल्याईदिने गर्थिन् । आमाको दिल राख्नकै लागि भए पनि उनले त्यो कुर्ता लगाउनुपथ्र्यो ।

उनी परिचयको लुकामारी खेल्दा खेल्दै थाकिसकेकी थिईन् । परिचयका यो दोहोरी अब समाप्त पार्नु थियो । तर कसरी ? एकैपटक उनी घरमा आफ्नो परिचय भन्न सक्ने अवस्थामा पनि थिईनन् । त्यसपछी उनले रोजिन सांकेतिक मार्ग र चुईगंम टास्सिएको निहुँमा उनले कपाल छोटो बनाईन् । तर परिचयको यो लडाई यतिमै रोकिएन ।

कपाल मुडुलो बनाएकी छोरिका लागि आमाले नक्कली कपाल अर्थात ह्विप किनेर ल्याईन र पिंक कुर्ता लगाईदिन् । नट्टु आफ्नो पहिलो परिचयको लडाईमा हारिन् ।

उनले विद्रोह जारी राखिन् । स्कर्ट, कुर्ताको विरोध जारी राखिन् ।

आठ कक्षामा पढ्दै गर्दा नै उनको परिवारले शाहको बद्लिदो व्यवहारलाई नियाली रहेको रहेछ । जब शाहले आठ कक्षामा पढ्दै गर्दा पहिलो गर्लफ्रेन्ड बनाईन् । यसको सुईको परिवारले पनि पायो । त्यो सिक्रेट सम्बन्ध अब सार्वजनिक भयो ।

यति हुँदा हुँदै पनि उनी आफुलाई भाग्यमानि ठान्छिन् । साथिहरुले शाहको परिचयलाई मजाकमा उडाईरहँदा उनको परिवारले भने सहज रुपमा लियो ।
“एक दिन मलाई घरमा सोधियो तलाई केटी मन पर्छ रे हो ?” शाहको परिवारले यो प्रश्न तब सोध्यो जब परिवारले थाहा पायो की नट्टु स्कुलमा गर्लफ्रेण्ड बनाउँछे । तर उनले स्कुलमा जसरी नै आफ्नो बचाउ गर्दै भनिन “होईन..म नर्मल हो ।” त्यतिखेरसम्म शाहलाई केटा र केटी सम्बन्ध मात्रै सामान्य लाग्थ्यो अरु सबै सम्बन्ध असामान्य हुन जस्तो लाग्थ्यो ।

समाजको यही स्कुलिगं नै आफुजस्ताका लागि ठूलो चुनौति बन्ने गरेको उनको बुझाई । केटी केटी र केटा केटा बिचको सम्बन्धलाई पनि सहज र सामान्य रुपमा लिने परिपाटी विकास गर्न नसक्नु समाजको कमजोरी हो जस्तो लाग्छ शाहलाई । जब मानिसहरु यौनिक उमेरमा पुग्न थाल्छन त्यतिखेर सबैप्रकारका सम्बन्ध र लैंगिक पहिचान सामान्य हुन भनेर उनिहरुको दिमागमा सुटुक्क हालिदिएपनि हुन्थ्यो भन्ने शाहको कामना छ ।

लेट्स ब्याक टु दि फ्यामिली कन्र्भसेसन । शाहले आफुलाई नर्मल हो भनेर प्रष्टिकरण दिएपछी उनको परिवारले उनका सबै गर्लफ्रेण्डको नाम लियो र भन्यो “तलाई केटी मन पर्दैमा त अबनर्मल हुदैनस् ।” उनीसंग यो सबै संवाद गर्ने उनको आमा थिईन् ।

आमाले नै बुबालाई सुनाईन र गाली गर्दै भन्न थालिन “यो सब तिमिले गर्दा हो, बच्चैदेखि तिमिले प्यान्ट लगाउन सिकायौ, केटाहरुको खेलौना दियौ ।” यो कुरा सुनिरहेकी नट्टु मनमनै हासिरहेकी थिईन । र अन्तमा आमाले बुबालाई भनिन् “छोरा छोरा भन्थ्यौ नि चिन्ता नगर छोरै पायौ तिमिले अब बुहारी नै ल्याउँछ ।” त्यसपछि उनका पिताले खुसिले उद्धेलित हुँदै भने “हुन्छ ।”

परिवारले स्विकार गरेपछी उनलाई कसैको डर भएन् । अब उनी स्कुलमा कसैले केटी मन पर्छ भन्दा आत्मविश्वासका साथ हो भन्न थालिन् । आफ्नो परिवारले आफुलाई स्विकार्नु उनले आफैले आफैलाई स्विकार्नु पनि थियो । परिवारकै सहयोगमा उनले सारा संसारलाई आफ्नो पहिचान बताउन सकिन् ।

नखुलेका र आफ्नो पहिचान बताउन डराईरहेकाहरुलाई आफ्नो पहिचान स्विकार्न उनी सुझाउँछिन “आफैले आफुलाई स्विकार्नुहोस र आत्मनिर्भरताको बाटोमा लाग्नुहोस त्यसपछि सबै तपाईको पहिचान स्विकार्छन । खुलस्त भएर आफ्नो पहिचान बताउनुहोस ।” आफै आफ्नो पहिचानसंग डराएपछि अरुले पनि हेप्ने संभावना हुने शाह बताउँछिन् । उनी आफ्नै अनुभव सुनाउँदै भन्छिन “मैले आजसम्म कुनै अन्र्तवार्तामा आफु गे या लेस्बीयन भएको बताउनु परेको छैन् । किनभने कसैले सोध्ने हिम्मत नै गर्दैनन्, परिचय लिंगको आधारमा बनाउने हैन्, परिचय कर्मको आधारमा बनाउनुपर्छ । तपाईको कर्म नै तपाईको पहिचान बनोस ।”

एलजीबीटीआइ समुदायलाई सुत्रवद्ध र एकतावद्ध हुन पनि उनी आग्रह गर्छिन “ हामी एकतावद्ध भएपछी मात्रै हामीलाई समाजमा घुलमिल हुन सहज हुन्छ ।”

अन्तमा शाहले प्रश्न गर्दै भनिन् “हाम्रो नाम र परिचयको अगाडी गे, लेस्बीयन जस्तो ट्याग किन र कसले झुण्ड्यायो ? नोबडी इज एबनर्मल, एभ्रिवान इज नर्मल, डु ह्वाटेभर यु वान्ट ।”

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.