हाम्रो आवाज कहिले सुन्छौ ?

हाम्रो आवाज कहिले सुन्छौ ?

काठमाडौं (पहिचान) असार ८ – समलिंगी पुरुषहरुले अधिकारको आवाज सुनेर कार्यान्वयन गर्न माग गरेका छन् । उनीहरुले परिवार र समाजमा अरु महिला पुरुष सरह आफ्नो पहिचान खुलाएर जीवन निर्वाह गर्ने वातावरण बनाउने काम राज्यको भएको बताए ।

“हाम्रो आवाज आज नसुने कहिले सुन्ने, अहिले नगरे कहिले गर्ने उनीहरुले प्रश्न गरे, सरकारले हाम्रो आवाज सुनेर कार्यान्वयनमा ल्याउने कहिले हो ?” उनीहरु नील हिरा समाजले काठमाडौंको ठमेलमा गरेको समलिंगी पुरुषको भिजिविलिटी कार्यक्रममा बोल्दै थिए ।

तेस्रोलिंगी महिला मेघना लामाले संचालन गरेको पिंक टिफानीमा भेला भएका समलिंगी पुरुषहरुले आफूलाई यौन (सेक्स) को रुपमा मात्रै नबुझी दिन संचारमाध्यमसँग आग्रह गरे । “किन हामीलाई संचारमाध्यमले यौनको रुपमा मात्रै हेर्छ ? उनीहरुले भने, हामी यौनका प्यासी होइनौ, हामी पनि विवाह गरेर अरु सरह नै समाजमा सम्मान र सुरक्षाका साथ बस्न चाहन्छौ ।”

नेपालमा भएको पहिलो मिष्टर गे हेन्डसमको उपाधी विजेता समलिंगी अधिकारकर्मी बिश्वराज अधिकारीले परिवारमा खुल्न डराउन नहुने बताए । उनले आफ्नो अधिकारबारे जानकार हुनु पर्ने बताए । “अहिले पहिले जस्तो छैन, खुलेर आउदा विभेद हुने अवस्था धेरै कम भएको छ अधिकारीले भने, आउनुहोस अधिकार प्राप्तिको लडाइमा सँगै हात मिलाएर अगाडी बढौ ।”

मिस पिंक २०१८ कि विजेता एन्जल लामाले आफुले आफैलाई स्वीकार गर्नु पर्ने बताइन । उनले आफूलाई के एन के कजेलले छात्रवृद्धि दिएर अध्ययन गराउन थालेको जानकारी दिइन ।

समलिंगी अधिकारकर्मी अनुज पिटर राईले पत्रकारहरुलाइ नै यौनिक तथा लैंगिक अल्पसंख्यकबारे बुझाउनु पर्ने बताए । “हाम्रो कुरा पत्रकारलाई बुझाउनु पर्छ उनले भने, पाठकको ध्यान तान्ने शिर्षकले कहिले काही आफ्ना कुरा बुझाउन समेत पाइन्छ ।”

अर्का अधिकारकर्मी सुवाष पोखरेलले केटा केटाबीच यौन सम्पर्क गर्दा एचआइभी संक्रमण हुन्छ भन्ने जनचेतना जगाउने कामलाई व्यापक बनाउनु पर्ने बताए । उनले सरकारको लक्षित एमएसएम /टिजीको सन् २०१७ को संख्या १ लाख १४ हजार ४ सय रहेको तथ्याङक प्रस्तुत गरे ।

“महिला र पुरुषमा एचआइभी संक्रमणको दर घटिरहेको छ पोखरेलले भने, समलिंगी तेस्रोलिंगीमा भने संक्रमणको दर बढेर ६ दशमलव ८ पुगेको छ ।” उनले यो शहरी क्षेत्रको मात्रै तथ्याङक रहेको बताउदै ग्रामिण भेगमा लक्षित समुदायको संख्या गणना नभएको सुनाए ।

द लिभिङ डिभाइन फाउण्डेसनका संस्थापक अध्यक्ष डाक्टर ऋसर्भ रेशुले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि आत्मनिर्भर हुने कार्यक्रम संचालन गर्ने बताए । त्यसका लागि नील हिरा समाजको अनुमति लिएर समुदायका जो कोही पनि फाउण्डेशनमा आउन सक्ने जानकारी दिए ।

“म आफै पनि समलिंगी हुँ उनले भने, एलजिबिटिआईको क्षेत्रमा काम गर्ने उद्धेश्य नभउपनि मेरै आग्रहमा संस्थाले मिष्टर एण्ड मिस रेन्बो कार्यक्रम गर्न लागेको छ ।” उनले यो कार्यक्रममा सहभागी भएर सहयोग गरिदिन नील हिरा समाजलाई आग्रह गरे ।

भारतको हम सफर ट्रष्टमा कार्यरत रोहन पुजारीले सामुहिक आवाजलाई अझ सशक्त बनाउनु पर्ने बताए । भारतको उदाहरण दिदै पुजारी भने, “सन् २०१३ सम्म भिजिबिलिटी थिएन तर, त्यसपछि सामुहिक आवाज बुलन्द गर्दै दवाव दिएपछि सरकारले हाम्रो कुरा सुन्यो।” उनले भारतमा पनि समलिंगी तेस्रोलिंगीलाई संचारमाध्यमले यौनकै रुपमा हेर्ने गरेकामा पत्रकारलाई तालिम दिएपछि अहिले हेर्ने दृष्टिकोणमा परिवर्तन हुँदै आएको बताए ।

नील हिरा समाजका कानुनी सल्लाहकार एवं अधिवक्ता सुजन पन्तले समलिंगी, अन्तरलिंगी र दुईलिंगीले पनि लिंगको महलमा अन्य पहिचान उल्लेख गरेर नागरिकता लिन सकिने बताए । “अहिलेको बुझाइ तेस्रोलिंगीले मात्रै अन्य उल्लेख भएको नागरिकता लिने भन्ने होला उनले भने, समलिंगी पुरुष र महिला, दुईलिंगी महिला र पुरुष तथा अन्तरलिंगी महिला र पुरुषले पनि अन्य उल्लेख भएको नागरिकता लिन सकिन्छ ।”

उनले संबिधानमा लेखिएका अधिकार उपभोग गर्न समलिंगी पुरुषहरुलाई आग्रह गरे । उनले समलिंगी विवाहलाई कानुनी मान्यता दिलाउने अभियान सशक्त बनाउन सुझाव पनि दिए ।

नील हिरा समाजकी कार्यक्रम निर्देशक मनिषा ढकालले धेरै भन्दा धेरै पत्रकारलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे जनचेतना जगाउनु पर्ने बताइन । उनले खुलेर आउनेको संख्या बिस्तारै बढ्दै गएपनि लुकेर बस्नेको संख्या अझ धेरै रहेको बताइन । उनले सबैको सुझाव अनुसार नील हिरा समाजले अभियान चलाउदै आएको र अब पनि सबैको सल्लाह लिएरै अधिकार प्राप्तिको अभियानलाई उचाईमा पुर्याउने बताइन् ।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले समलिंगी पुरुष केन्द्रीत गरेर संस्थाले अभियान चलाउँदै आएको जानकारी दिइन । “गे र लेस्बियन (समलिंगी पुरुष र समलिंगी महिला) अझै हिडन छन् अध्यक्ष गुरुङले भनिन्, बाध्यतालाई तोडेर आफ्नो अस्तित्वका लागि खुलेर आउनु पर्छ ।”

उनले अधिकारका लागि सरकारको ढोका ढकढकाउनु पर्नेमा जोड दिइन । “हाम्रो सामुहिक आवाज बोकेर सरकारको ध्यान आकर्षित गर्नु पर्छ उनले भनिन्, सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारबारे कहिले बोल्छ ? ” उनले ग्रामिण दुर दराजमा रहेका समुदायका सदस्यको आवाज उठाउन जरुरी रहेको बताइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.