पत्रकारको क्षमता अभिवृद्धि हुने कार्यक्रम संचालन गर्न सुझाव

पत्रकारको क्षमता अभिवृद्धि हुने कार्यक्रम संचालन गर्न सुझाव

मकवानपुर (पहिचान) असार १३ – यौनिक तथा लैंगिक अल्पसंख्यकको मुद्धामा पत्रकारहरुको क्षमता अभिवृद्धि हुने कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिइएको छ । “समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी र दुईलिंगीलाई यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर चिनिन्छ भन्ने थाहा थिएन प्रदेश नम्वर ३ को अस्थायी राजधानी हेटौडा पत्रकारहरुले भने, हामी समग्र समुदायलाई तेस्रोलिंगी भनिन्छ भनेर बुझ्थ्यौ ।”

नर्वेजियन परियोजनाको आर्थिक सहयोगमा नील हिरा समाजले हेटौडामा पत्रकारहरुसँग गरेको अन्तरक्रियामा सहभागी पत्रकारहरुले आफ्नो समुदायबारे जानकारी दिने मात्रै नभएर पत्रकारको क्षमता अभिवृद्धि हुने कार्यक्रम संचालन गर्न सुझाव दिए ।

नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्टले यौनिक तथा लैंगिक अल्पसंख्यक संचारमाध्यमको कम प्राथमितामा पर्दै आएको बताए । उनले आफ्नो बारेमा संचारमाध्यममा खुलेर प्रष्ट कुरा राख्न यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सुझाव दिए । पत्रकार महासंघ मकवानपुरका सचिव गणेश अधिकारीले एक जना तेस्रोलिंगीलाई तेस्रोलिंगी भएकै कारण लागेको मुद्धामा संचारमाध्यमले प्रमाण सहित समाचार संप्रेषण गरेर सहयोग गरेको सुनाए ।

रेडियो मकवानपुरका स्टेशन म्यानेजर राममणी दाहालले रेडियोमा पहिचान कार्यक्रम प्रसारण गर्दा हातमा डिग्री लिएकै व्यक्तिले किन यस्तो कार्यक्रम प्रसारण गरेको भनेर प्रश्न गरेको बताए । “नर्वेजियन परियोजनाको आर्थिक सहयोगमा नील हिरा समाजले उत्पादन गर्ने रेडियो कार्यक्रम पहिचान हाम्रो रेडियोबाट प्रसारण हुने गरेको छ उनले भने, एक जना डिग्री लिएकै व्यक्तिले समाजमा स्वीकार नगरेको तेस्रोलिंगीको कार्यक्रम किन प्रसारण गरेको भनेर प्रश्न गरे ।”

उनलाई आफूले समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार विहिन भएर बस्नु हुँदैन भनेर पहिचान कार्यक्रम प्रसारण गरेको जवाफ दिएको बताए । उनले रेडियो कमवानपुरले तेस्रोलिंगी डिएर किरण सुरज थापालाई छुट्टै रेडियो कार्यक्रम संचालन गर्न दिएको जानकारी दिए । “सुरुमा सुरज थापालाई कार्यक्रम संचालन गर्न दियौ, उहाँले केही समय चलाएर अहिले अर्को रेडियोमा जानु भएछ उनले भने, उहाँलाइ फेरी रेडियो मकवानपुरमै कार्यक्रम चलाउन आउन म अनुरोध गर्छु ।” स्टेशन म्यानेजर दाहालले इन्दिरा न्यौपानेलाई आधा घण्टाको प्याकेज बनाएर कार्यक्रम संचालन गर्न अनुरोध गरिरहेको सुनाए ।

पत्रकार रुपेश दुलालले पत्रकारहरुसँग निरुन्तर सहकार्यमा रहन सुझाव दिए । “पहिला सुनिलबाबु पन्त सभासद् नै हुनुहुन्थ्यो, अहिले संघीय, प्रदेश र स्थानीय सरकारमा तपाईहरुको समुदायको प्रतिनिधित्व भएको सुनेको छैन उनले भने, तीनै तहका सरकारसँग आफ्नो माग राख्नुहोस, कुनै न कुनै सरकारले त सुन्ला नि ।”

मकवानपुरकी पहिचान सहकर्मी इन्दिरा न्यौपानेले पहिला भन्दा अहिले रेडियो कार्यक्रमको सामग्री संकलन गर्न सहज भएको बताइन । “म अन्तरवार्ता दिन्छु भनेर त कोही आएका छैनन् उनले भनिन्, पहिले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बिषयमा कुरा गर्छु भन्दा तर्कनेहरु अहिले बोल्न तयार भइरहेका छन, यो सकारात्मक पक्ष हो ।” उनले आफूहरुलाई पनि एडभान्स किसिमको तालिमको आवश्यकता रहेको बताइन ।

नील हिरा समाजको शाखा कार्यालय फ्रेण्ड्स हेटौडाका कार्यक्रम संयोजक सुरज थापाले हेटौडाका संचारकर्मीको साथ सहयोग पाइरहेको बताए । “घरमा दाईको विवाह गर्ने निधो भयो तर केटी पक्षकाले त्यसको घरमा त तेस्रोलिंगी सन्तान छ रे भनेर विवाह नगर्ने समेत भनेको सुने उनले भने, म संचारमाध्यममा काम गर्नेको परिवारमा त यस्तो विभेद भोग्नु परेको छ भने समुदायका अरु सदस्यको हालत कस्तो होला ?”

उनले मिडियाको सकारात्मक सहयोगकै कारण आफूहरुले हेटौडामा स्वतन्त्र पूर्वक आफ्नो समुदायको अधिकार प्राप्तिको अभियान संचालन गर्न सफल भएको बताए । फ्रेण्ड्स हेटौडाकी बर्षा मगरले आगामी दिनमा समेत संचारमाध्यमको निरन्तर सहयोगको आबश्यकता रहेको बताइन ।

नील हिरा समाजका उपनिर्देशक परसुराम राईले यौनिक तथा लैंगिक अल्पसंख्यकको मुद्धामा राष्ट्रसंघको समेत ध्यानाकर्षण गराइरहेको बताए । उनले संबिधानमा लेखिएको यो समुदायको अधिकार कार्यान्वयन गराउन आफूहरुले दिने दवावमा संचारमाध्यमको विगत जस्तै सहयोग रहने बिश्वास व्यक्त गरे ।

नेपालमा भएको पहिलो मिष्टर गे हेन्डसमको उपाधी बिजेता बिश्वराज अधिकारीले आफ्नो यौनिकताबारे आफ्नै परिवारमा बुझाउनु पर्ने बताए । “म परिवारमै खुलेर आएको समलिंगी पुरुष हुँ, मलाई घरमा स्वीकार गरिएको छ उनले भने, अधिकार प्राप्तिको अभियानमा लागेको समुदायका सदस्य परिवारमा खुल्न डराउनु हुँदैन ।”

उनले एक दुई जना समुदायका सदस्यले गरेको गल्तीलाई लिएर समग्र समुदाय नै त्यस्तो हो भनेर संचारमाध्यमले मुल्याङकन गर्न नहुने बताए । “रिठ्ठा रोपेर कागती फलाउछु भन्ने हुँदैन, राम्रो नराम्रो महिला पुरुषमा पनि हुन्छ तर नराम्रो कुरा आएमा हामी जस्तो अधिकार विहिन समुदायको नाम लिइन्छ अधिकारीले भने, सबैलाई एउटै टोकरीमा हालेर एउटै व्यवहार गर्दा अन्याय हुन सक्ने तर्फ संचारमाध्यम पनि सचेत हुुनुपर्छ ।” संचारमाध्यमले जेण्डर हेरेर नभई मुद्धा हेरेर बिषय उठान गरिदिनु पर्ने अधिकारीको भनाई छ ।

नेपालमा ९ लाखको हाराहारीमा समलिंगी तेस्रोलिंगीहरु भएपनि सरकारले नीति तथा कार्यक्रम एवम् बजेटमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई नसमेटेको कार्यक्रममा सहभागी समुदायका सदस्यले गुनासो गरे । पत्रकारहरुले संख्याको आधारमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राज्यले विचार गर्न नसकेको धारणा राखे ।

मकवानपुरमा करिब ५ हजारको हाराहारीमा यौनिक तथा लैंगिक अल्पसंख्यक (समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगी) रहेको जानकारी दिइएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.