अधिकार खोज्दै अदालत जानुपर्ने यो कस्तो देश हो ?

अधिकार खोज्दै अदालत जानुपर्ने यो कस्तो देश हो ?

काठमाडौं (पहिचान) साउन ८ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि सबैले बोल्नुपर्ने केयर मानवअधिकारका उपाध्यक्ष आलम खानले बताएका छन् । दलित, आदीबासी तथा मुस्लिमभन्दा पनि समलिंगी तेस्रोलिंगी विभेदमा परेको उनको भनाइ छ ।

“उहाँहरुलाई हेर्ने राज्यको दृष्टिकोण नै फरक छ, उहाँहरुलाई नागरिकता लिन पनि गाह्रो छ,” आलम भन्छन्, “उहाँहरुको दयनिय अवस्था देखेर मैले सुर्खेतको प्रहरी र प्रशासनसमक्ष पनि उहाँहरुलाई विभेद नगरियोस हैन भने हामी कानुनमा टेकेर अगाडि बढ्नुपर्छ भनेर मैले भनेको पनि छु ।” लुगा लगाएकै कारण तेस्रोलिंगीहरुलाई विभेद हुने गरेको उनको भनाइ छ ।

मुस्लिम समुदायमा समलिंगी तेस्रोलिंगीलाई विभेद नरहेको तर उनीहरु आँफै खुलेर नआएको उनी बताउँछन् । “मुस्लिम समुदायमा कोही यस्ता व्यक्ति हुनुहुन्छ भने खुलेर आउनुस् हामी तपाईंका पक्षमा लड्न तयार छौं,” आलम भन्छन्, “हाम्रो धार्मिक ग्रन्थमा यो समुदायबारे केही भनिएको छैन भनेर धार्मिक गुरुहरु भन्नुहुन्छ, छ या छैन म पनि यसबारे अध्ययन गर्छु ।”

समलिंगी तेस्रोलिंगी भएकै कारण मुस्लिम समुदायमा उनीहरुलाई विभेद नहुने उनको भनाइ छ । उनी भन्छन्, “कोही हुनुहुन्छ भने आउनुहोस तपाईका लागि हामी लड्छौं । हामी हातेमालो गरेर अगाडि बढौं ।”

मानव अधिकारको रक्षाका लागि काम गर्दै आएको संस्था केयर मानव अधिकारमा समलिंगी तेस्रोलिंगीलाई समेटेर लैजान आफूहरु तयार रहेको उनको भनाइ छ । “यदी तपाईंहरुलाई कुनै आपत्ति छैन र सँगै काम गर्न चहानुहुन्छ भने हामी तपार्ईहरुसँगै छौं, सँगै बसेर काम गरौं ।”

तेस्रोलिंगीहरुलाई अधिकारकर्मी बनाएर आफ्नो अधिकारका लागि लड्न सक्ने बनाउन आफ्नो संस्था हातेमालो गर्न तयार रहेको पनि उनले बताए ।
सरकारले दिएको अधिकार पनि कार्यान्वयन हुन नसकेको भन्दै उनी भन्छन्, “हामी आफ्नै देशको नागरिकता पाउन अदालत जानुपर्ने अवस्था छ । तेस्रोलिंगीले पनि नागरिकता पाउने भनेर भनिएको छ तर उनीहरुले सहजै नागरिकता पाइरहेका छैनन्, सरकारले दिएको अधिकार खोज्दै अदालत जानुपर्ने यो कस्तो देश हो ? ।”

 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.