अपि पावर र नेपाल विद्युत प्राधिकरणविच सोलार (पिपिए) सम्झौता

अपि पावर र नेपाल विद्युत प्राधिकरणविच सोलार (पिपिए) सम्झौता

काठमाडौं (पहिचान) भदौ ३ – अपि पावर कम्पनीले निर्माण गर्न लागेको दुई सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक अपि पावर कम्पनीबीच आज आइतबार विद्युत् खरिद सम्झौता भएको हो ।

कम्पनीले धनुषाको ढल्केरबरमा १ मेगावाट र बाराको सिमरामा १ मेगावाटको सोलार प्लान्ट निर्माण गर्न लागेको हो । ती आयोजनासँग प्रतियुनिट ७.३० रुपैयाँमा २५ वर्षको लागि पिपिए भएको हो । पिपिएमा प्राधिकरण योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका प्रबन्ध निर्देशक सञ्जिव न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उत्पादित विद्यूत परवानीपुरको ११ केभी परवानीपुर सबस्टेसनमा जोडिनेछ । ‘प्राधिकरणले १० महिना तोके पनि हामीले ७ महिनामै पूरा गर्ने लक्ष्य राखेका छौं,’ कम्पनीका प्रबन्ध निर्देशक संजिव न्यौपानेले भने– ‘ भदौ महिनाभित्र चिनियाँ कम्पनीले काम सुरु गर्नेछ ।’

कम्पनीले यस अघि साउन २७ गते पर्साको परवानीपुरमा ८ मेगावाट र रौतहटको चन्द्रनिगाहपुरमा ४ मेगावाटको गरी १२ मेगावाट क्षमताको दुई सौर्य परियोजनाको विद्युत खरिद सम्झौता नेपाल विद्युत प्राधिकरणसँग गरिसकेको छ ।

अपिले रिडी पावर कम्पनी सहित प्राधिकरण सबस्टेसन नजिक सौर्य विद्युत जडान गर्न खुल्ला प्रतिस्पर्धाबाट १० स्थानको अनुमति लिएको जनाएको छ ।

सरकारले २०७२ फागुनमा घोषणा गरेको ९९ बुँदे ‘ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक’ सम्बन्धी कार्ययोजनामा प्रतियुनिट ९.६१ देखि ८.४५ रुपैयाँ ‘बेन्चमार्क’ तोकी पिपिए आह्वान गरेको थियो ।

अपि पावर कम्पनीले करिव १७ महिनाभित्र ८.५ मेगावट क्षमताको नौगड गाढ साना जलविद्युत आयोजना सम्पन्न गरी २०७२ साल भदौै महिनादेखि विद्युत प्रवाह गरिरहेको जनाएको छ ।

हाल निर्माण गरिरहेको सोही नदिमा ८ मेगावटको अपर नौगड गाढ जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको कम्पनीले निकालेको बिज्ञप्तीमा लेखिएको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.