निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सहकार्यका लागि ऐक्यवद्धता नाराका साथ यौनिक तथा लैंगिक अल्पसंख्यकको गाइजात्रा महोत्सव

सहकार्यका लागि ऐक्यवद्धता नाराका साथ यौनिक तथा लैंगिक अल्पसंख्यकको गाइजात्रा महोत्सव

1.2k
SHARES

काठमाडौं (पहिचान) भदौ ११ – यौनिक तथा लैगिंक अल्पसंख्यक (समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी र द्वयलिंगी) समूदायका सदस्यले यो बर्षको गाईजात्रा महोत्सव मनाएका छन् । यो बर्ष सहकार्यका लागि एक्यवद्धता भन्ने नाराका साथ उनीहरुले आफ्नो इच्छा चाहना र पहिचान अनुसारको भेषभुषामा गाईजात्रा महोत्सव मनाएका हुन् । देशका ५० वटा जिल्लाबाट काठमाडौंमा भेला भएका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले बाजागाजाका साथ विभिन्न सास्कृतिक झाँकी सहित गाइजात्रा महोत्सव मनाए ।

सहभागीहरुले मुलुकी देवानी संहिता तथा फौजदारी संहितामा रहेका विभेदकारी व्यवस्था खारेज गर्नुपर्ने र आफहरुको बैबाहिक अधिकार सुनिश्चित गर्नु पर्ने माग गरे । नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले संविधान विपरित आएको मुलुकी देवानी संहिता र फौजदारी संहिता खारेज हुनुपर्ने बताइन । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि समुदायको दवावले मात्र भएन अध्यक्ष गुरुङले भनिन्, समान अधिकार उपभोग गर्ने वातावरण निर्माणका लागि सबैको सहयोग आवश्यक छ ।

उनले गाइजात्रा महोत्सव अधिकार दिन कन्जुस्याई गर्ने सरकारलाई सांकेतिक दवाव नै भएको समेत बताइन । उनले एक बर्षमा वितेका समुदायका सदस्यको सम्झना गर्दै शान्तिको कामना गर्न दिप प्रज्ज्वलन समेत गरिएको बताइन ।

अध्यक्ष गुरुङले शुरुको बर्ष ४९ जना भेला भएर मनाइएको गाईजात्रा महोत्सवको स्मरण गर्दै अहिले हजारौ यौनिक तथा लैंगिक अल्पसंख्यकको सहभागिता हुनुलाई कमजोरी नठान्न राज्यलाई चुनौती दिइन । सधै अधिकार विहिन बनाइरहन मिल्दैन, अध्यक्ष गुरुङले भनिन, लुकेर बसेका हजारौ यौनिक तथा लैंगिक अल्पसंख्यकलाई खुलेर आउने वातावरण राज्यले बनाउनु पर्छ ।

नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले पहिचान अनुसारको नागरिकता दिएर राज्य पञ्छिन नमिल्ने बताइन । आफूले इच्छाएको नाममा नागरिकता पाउने व्यवस्था गर्न पटक पटक दिएको दवाव सरकारले नसुनेको ढकालको भनाई छ । उनले संसदमा दर्ता भएको नागरिकता बिधेयकमा रहेको पहिचान अनुसारको नागरिकता दिने व्यवस्थामा नाम परिवर्तन गरेर लिन सकिने गरि संसोधन गर्न सरकारको ध्यानाकर्षण समेत गराइन । ढकालले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई अव पनि अधिकार विहिन बनाउन खोजे मौन नबस्ने संकेतको रुपमा गाईजात्रा महोत्सवलाई लिन सरोकारवाला निकायलाई सुझाव दिइन ।

युएनएड्सका नेपाल निर्देशक रुबेन डेल प्राडोले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको गाइजात्रा महोत्सवमा सहभागी हुन पाउँदा खुशी लागेको बताए । इन्द्रेणी रंगको व्यानरमा भएको गाइजात्रा महोत्सवमा अमेरिकी कार्यवाहक राजदूत माइकल सी. गोन्जालेसले पनि ऐक्यवद्धता जनाए । ठमेलबाट शुरु भएको गाइजात्रा महोत्सव बसन्तपुरमा पुगेर दिप प्रज्ज्वलन गरेर सकिएको छ ।

नील हिरा समाजले हरेक बर्ष एक दिन गाइजात्राको दिन दिवंगत साथीको चिरशान्तिको कामना गर्दै मैनबत्ती बाल्ने र लुकेर बसेका समलिंगी तेस्रोलिंगी अन्तरलिंगी र द्वयलिंगीलाई खुल्ने उपयुक्त अवसरको रुपमा गाइजात्रालाई महोत्सवकै रुपमा मनाउदै आएको जनाएको छ ।

गाईजात्रा महोत्सवको सुत्रपात यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार प्राप्तीका अभियन्ता नील हिरा समाजका संस्थापक अध्यक्ष एवं पूर्व सभासद् सुनिलवावु पन्त हुन् । ठमेलदेखि बसन्तपुरसम्मको र्यालीमा सहभागीहरुलाई ठाउँ ठाउँमा बालबालिकाले विभेदपूर्ण शब्द प्रयोग गरेकोमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यले जनचेतना पुग्न नसकेको धारणा व्यक्त गरे ।

तस्विरहरु :

 

 

समाचार शेयर गर्नुहोस्
1.2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.