पहिचानको समाचार प्रभाव : तेस्रोलिंगीले १० लाख बढी बिमा गर्न पाउने

पहिचानको समाचार प्रभाव : तेस्रोलिंगीले १० लाख बढी बिमा गर्न पाउने

काठमाडौं (पहिचान) माघ २७ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमामा तेस्रोलिंगीलाई विभेद भएको स्वीकार गर्दै आम्दानी अनुसार जति पनि बिमा गर्न पाउने व्यवस्था गरेको जनाएको छ । तेस्रोलिंगीलाई १० लाख भन्दा बढीको जीवन बिमामा रोक शिर्षकको समाचार पहिचान अनलाइनमा प्रकाशित भएपछि कम्पनीले १० लाख भन्दा बढी बिमा गर्न नपाउने नीति परिवर्तन गरेको जनाएको हो ।

आम्दानी अनुसार करोडौ रुपैयाँसम्मको बिमा गर्न तेस्रोलिंगीलाई पनि खुल्ला गरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नक्शाल शाखाका प्रबन्धक प्रकाश धितालले बताए । ‘हामीले यस बिषयमा मलेसियाको क्वालाम्पुरमा रहेको पुर्नबिमा कम्पनीसँग सोधपुछ गर्र्यो उनले भने, लिंग परिवर्तन नगरेका तेस्रोलिंगीलाई अरु महिला पुरुष सरह बिमा गर्ने रकममा सीमा नतोक्ने पत्र आएको छ ।’ धितालले तेस्रोलिंगीको आम्दानी अनुसार १० लाख भन्दा धेरै रकमको बिमा गर्न पाउने नीति कम्पनीले अख्तियार गरेको जनाकारी दिए ।

बिमा गर्दा अरु महिला पुरुषले जस्तै तेस्रोलिंगीले पनि स्वास्थ्य जाँच रिपोर्ट बुझाउनु पर्ने बताउँदै धितालले स्वास्थ्य जाँच गर्दा लागेको शुल्क कम्पनीको नियम अनुसार कम्पनीले नै भुक्तानी दिनेछ । जन्मजात तेस्रोलिंगी भएकाहरुलाई अब कम्पनीले कुनै प्रकारको विभेद नगर्ने उनको भनाई छ । गत बिहिवार बिमा गराउन गएका तेस्रोलिंगी पुरुष सुदिप गौतमले तेस्रोलिंगी भएकै कारण १० लाख भन्दा बढीको जीबन बिमा गर्न कम्पनीले नमानेको बताएका थिए भने कम्पनीले पनि तेस्रोलिंगी, अशक्त, अपागंता भएकाहरुको १० लाख भन्दा बढीको बिमा गर्ने नीति नरहेको बताएको थियो ।

‘मेरै उमेर र स्वास्थ्य अवस्थाका आम मानिसले करोडौ रकम बराबरको बिमा गराउन पाउने तर, तेस्रोलिंगी भएकै कारण मैले १० लाख भन्दा बढीको बिमा गर्न नपाउने ? तेस्रोलिंगीको जीवन सुरक्षा आबश्यक छैन र ?’ गौतमको प्रश्न थियो । लिंग परिवर्तन गरेका तेस्रोलिंगीले भने १० लाख भन्दा बढीको बिमा गर्न पाउने छैनन् । लिंग परिवर्तन गरेका तेस्रोलिंगीहरुलाई कम्पनीले १० लाख भन्दा बढीको बिमा नगर्ने नीति कायमै राखेको शाखा प्रबन्धक धितालले बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.