‘जिउँदो आकाश’ तेस्रोलिंगीहरुको प्रतिबिम्ब : अध्यक्ष पिंकी गुरुङ

‘जिउँदो आकाश’ तेस्रोलिंगीहरुको प्रतिबिम्ब : अध्यक्ष पिंकी गुरुङ

काठमाडौं (पहिचान) फागुन १७ – नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले जिउँदो आकाश तेस्रोलिंगीहरुको प्रतिबिम्ब बनेको बताएकी छन् । ‘हरेक तेस्रोलिंगीको वेदना, चित्कार र भावनाको दर्पण हो जिउँदो आकाश अध्यक्ष गुरुङले भनिन्, परिवर्तनको संवाहक बन्न सकोस ।’ चन्द्रप्रसाद पाण्डेयद्धारा लिखित जिउँदो आकाश नामक पुस्तकको बिमोचन गर्दै अध्यक्ष गुरुङले जिउँदो आकाश नाटक मात्रै नभएर प्रतिनिधि पात्रको रुपमा सबै तेस्रोलिंगीहरुको कथा उठाएको बताइन ।

उनले जिउँदो आकाश नाटकको मुख्य तेस्रोलिंगी पात्रले जीवनमा भोगेका पारिवारिक र सामाजिक तिरस्कार, भेदभाव, वेदना र त्यसले निम्त्याएका आत्मतरङ्गहरुलाई कारुणिक ढंगबाट प्रस्तुत गरिएको बताइन । यसले तेस्रोलिंगीमाथिको आम धारणा परिवर्तन गर्न सघाउने अध्यक्ष गुरुङको बिश्वास छ ।

‘विपरितलिंगीबाद र पुरुषप्रधान मान्यता रहेका हाम्रो नेपाली समाजले तेस्रोलिंगी समुदायको पहिचान र अस्तित्वलाई सहज ढंगबाट बुझ्न र स्वीकार गर्न अझै सकिरहेको छैन अध्यक्ष गुरुङले भनिन्, जसले गर्दा घर परिवार र समाज नै तेस्रोलिंगी समुदायको सहज, सरल र खुसी जीवनको बाधक बनिरहेको छ ।’

उनले यो पुस्कत हरेक नेपालीका घर घरमा पुग्नु पर्ने र नाटक हरेक परिवारका आँगनमा मञ्चन हुनु पर्ने बताइन । महिला पुरुष सरह आफूहरु पनि खुल्ला आकाश मुनी समान अधिकार पाएर बस्न चाहे पनि अहिलेपनि बिभेद, तिरस्कार भोग्नु परिरहेको उनको भनाई छ । माइक्रोमा समेत छक्का चढ्ने होइन भन्ने तिखा शब्दबाण प्रहार हुने गरेको उनले बताइन ।

नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सवको अवसरमा पाण्डेयले जिउँदो आकाश पुस्तक सार्वजनिक गरेका हुन् । जिउँदो आकाश नाटक ८६ औ पटक मञ्चन भइसकेको कलाकार अनिल सुब्बाले जानकारी दिए । हिजोसम्म नाटकको रुपमा मात्रै रहेको जिउँदो आकाश आज कितावको रुपमा आएको छ । नाटकमा सुब्बा गरिमाको (तेस्रोलिंगी) भूमिकामा थिए । उनले गरिमा र गरिमा जस्ता सबैले आत्मसम्मान पूर्वक स्वतन्त्रतापूर्वक बाँच्न पाउनु पर्ने बताए ।

उपलब्धी प्रकाशन सेवा प्रा.लि.ले बजारमा ल्याएको यो पुस्तकमा रंगकर्मी सुनिल पोखरेलले बिषय नौलो लागेको उल्लेख गर्दै यो बिषयलाई सिर्जनात्मक ढंगले, सफलतापूर्वक नेपाली रंगमञ्चमा प्रस्तुत गरेकोमा बधाइ दिएका छन् ।

कलाकार दयाहाङ राईले पुस्तकका कारण संवाद गर्न सजिलो हुने बताए भने रंगकर्मी प्रकाश आङदम्बेले प्रकृतिले दिएको अस्तित्वलाई ठिक कि बेठिक भन्ने अधिकार कसैलाई नभएको बताए । रंगकर्मी गुञ्जन दिक्षितले यस्ता कथालाई पाठ्यक्रममा समावेश गर्न सके तेस्रोलिंगी समुदायमाथि हुने विभेद कम गर्न मद्धत पुग्ने बताइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.