सरकारलाई मेसिन ल्याएर यौनिकता जाँच्न चुनौती

सरकारलाई मेसिन ल्याएर यौनिकता जाँच्न चुनौती

काठमाडौं (पहिचान) चैत १३ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका एक सदस्यले यौनिकता परीक्षण गर्ने मेसिन ल्याउन सरकारलाई चुनौती दिएका छन् । नागरिकता बिधेयकमा मान्यता प्राप्त चिकित्सकको सिफारिस पेश गरेमात्रै एलजीबीटीआईले पहिचान अनुसारको नागरिकता पाउने व्यवस्थालाई उनले मेसिन ल्याउन चुनौती दिएका हुन् ।

नेपालमा पहिलो पटक भएको समलिंगी पुरुषहरुको क्षमता र सौन्र्दय प्रतियोगिताका उपाधी बिजेता बिश्वराज अधिकारीले यौनिकता परीक्षण गर्ने मेसिन भए ल्याउन सरकारलाई चुनौती दिए । पहिचानसँगको कुराकानीमा उनले नागरिकता बिधेयकमा रहेको बिभेदकारी व्यवस्था हटाउन सांसदहरुलाई आग्रह समेत गरे ।

अधिकारी नील हिरा समाजले नेपालमा गरेको मिष्टर गे हेन्डसम सन् २०१३ का उपाधी बिजेता हुन् । उनले सन् २०१० मा महिला र पुरुष भन्दा फरक समलिंगी पुरुष भएको अनुभुती गरेका थिए ।

उनले व्यक्तिको यौन अभिमुखिकरण फरक हुने भन्दै लैंगिक पहिचान मापन गर्ने कुनै यन्त्र नभएको बताए । यौन अभिमुखिकरणका आधारमा राज्यले नागरिकता दिनुपर्ने अधिकारको माग छ । ‘चिकित्साशास्त्रले यौन अभिमुखिकरण औल्याउन सक्छ भन्ने मलाई लाग्दैन अधिकारीले भने, नेपाल सरकारले यौनिकता परीक्षण गर्ने मेसिन ल्यायो भने जाँच्न जाउँला ।’

लिंग परिवर्तन सबैले गर्न नसक्ने भन्दै उनले औंलामा गन्न सक्नेहरुका लागि गरिने व्यवस्थाले समग्र एलजीबीटीआईलाई बिभेद हुने बताए । उनले विपरितलिंगीलाई सहजै पहिचान, सेवा सुविधा दिने तर समलिंगीलाई नागरिक हैसियत समेत नदिएको बताए । महिला या पुरुष भएको प्रमाण कतै पेश गर्नु नपर्ने तर, यौनिक तथा लैंगिक अल्पसंख्यकले प्रमाण पेश गर्नु पर्ने ? अधिकारीले प्रश्न गरे ।

समलिंगी भएकै कारण आफूले कानून अध्ययन गर्न नपाएको अधिकारीले गुनासो गरे । ‘मैले अन्य उल्लेख गरेर फर्म भरेको थिए, पटक पटक हेरेर फर्म बुझ्नेले अन्य मेट्न लगाए उनले भने, त्यही कारण मैले कानून संकायमा नाम निकाल्न सकिन ।’

नेपालको कानूनमा समलिंगी विवाहबारे केही उल्लेख नभएको भन्दै मिष्टर गे हेन्डसम अधिकारीले कानूनी मान्यता नभएपनि सम्बन्धमा रहेको बताए । समलिंगी विवाहको कानून छिटो बन्नुपर्ने उनको माग छ । उनले समलिंगी विवाहको कानून बने विपरितलिंगीको जीवन बर्बाद हुनबाट समेत जोगिने दावी समेत गरे ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.