लागु औषध प्रयोग नगर्न तेस्रोलिंगी महिला रिहानाको सुझाव (भिडियो)

लागु औषध प्रयोग नगर्न तेस्रोलिंगी महिला रिहानाको सुझाव (भिडियो)

काठमाडौं (पहिचान) जेठ २८ – तेस्रोलिंगी महिला रिहाना लिम्बुले फरक यौनिकताकै कारण लागु औषध प्रयोग गर्न नहुने सुझाव दिएकी छन् । १२/१३ बर्षको उमेरमा जैविक लिंग पुरुषकै भएपनि महिलाको हाउभाउ, भावना विकास भएको आफ्नो अनुभव सुनाउदै उनले लागु औषध प्रयोग नगर्न सुझाव दिएकी हुन् ।

महिला हो या पुरुष के हो भन्ने अन्यौलताका कारण आफू पनि डिप्रेसनमा गएर लागु औषध प्रयोगकर्ता भएको रिहानाको भनाई छ । ‘घर, परिवार र समाजलाई आफ्नोबारेमा बुझाउन नसक्दा साथी संगतका कारण लागु औषधको कुलतमा फसे उनले भनिन्, पछि लागु औषधको लत छोड्नै नसक्ने अबस्थामा पुगे ।’

तेस्रोलिंगी महिला रिहाना पूर्व लागुू औषध प्रयोगकर्ता हुन् । उनले विगत दुई बर्षदेखि लागुू औषध प्रयोग गर्नेहरुलाई प्रयोग नगर्न आग्रह गर्दै आएकी छन् । परिवारको चाहना छोरा नै या छोरी नै हुनुपर्छ भन्ने रुढीवादी मानसिकताले तेस्रोलिंगी महिला आफन्त, साथीभाई र समाजबाट तिरस्कृत हुनु परेको उनले बताइन् ।

पहिचानसँगको कुराकानीमा तेस्रोलिंगी महिला रिहानाले आफूले झण्डै ११ बर्ष लागु औषध प्रयोग गरेको सुनाइन् । ‘हुर्कने क्रममा म को हुँ ? भन्ने हुन्थ्यो उनले भनिन्, आफ्नो यौनिकतामा आएको अन्यौल बुझाउने कोही भएन ।’

उनले आफू पुरुषबाट धेरै पटक यौन हिंसामा परेको बताइन । ‘यौन चाहना सबैमा हुन्छ उनले भनिन्, कान्छि भनेर जिस्क्याउने र यौनका लागि मात्रै प्रयोग गर्ने पुरुषका कारण म धेरै पटक यौन हिंसामा परेको छु ।’ तेस्रोलिंगी महिला त्यतिकै मायाबाट बञ्चित हुने भएकाले मायामा पर्न कुनै गारो नहुने उनको अनुभव छ । त्यही कारण पुरुषले आफू जस्ता तेस्रोलिंगी महिलालाई मायाजालमा पार्ने र प्रयोग गरेर छाडिदिने गरेको रिहानाले आफ्नो यथार्थता सुनाइन ।

‘तेस्रोलिंगी समुदायको समस्या देख्दा दुख लाग्छ तर गर्न सक्ने केही छैन उनले भनिन्, पाइलै पिच्छे महिला र पुरुषभन्दा दोब्बर विभेद भोग्नु परेको छ ।’ उनले रुढीवादी परम्परा अन्त्य नभएसम्म समस्या समाधान नहुने उनको बुझाई छ । उनले तेस्रोलिंगी समुदायको तथ्याङक संकलन गर्न माग पनि गरेकी छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.