नेपाली एलजीबीटीआईको गौरव यात्रा (भिडियो)

नेपाली एलजीबीटीआईको गौरव यात्रा (भिडियो)

काठमाडौं( पहिचान) साउन ३१ – नेपालमा महिला पुरुष भन्दा फरक हाउ भाउ बानि व्यहोरा भएकाहरुले स्वतन्त्र भएको दिनको रुपमा गाईजात्रा महोत्सव मनाउँदै आएका छन् । सन् २००१ मा नील हिरा समाज स्थापनाको एकबर्षपछि फरक हाउ भाउ बानि व्यहोरा भएका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले गाईजात्रा महोत्सव मनाउन थालेका हुन् ।

बर्षभरी उकुस मुकुस भएर आफ्नो फरक यौनिकतामा चिनिन नपाएकाहरु गाईजात्राको दिन खुलेर इच्छा अनुसारको पहिरनमा निस्कने गर्छन । उनीहरुले यो बर्ष हाम्रो पर्व हाम्रो गौरब नारा सहित गाइजात्रा महोत्सव मनाए । दिवंगत यौनिक तथा लैंगिक अल्पसंख्यकरुको सम्झना एवं नेपालीको आफ्नै मौलिक पर्वको उल्लाशमा यो बर्षपनि गाईजात्राको दिन गौरव यात्रा गरिएको नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले बताइन ।

गाईजात्रा पर्वकै दिन नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले सन् २००२ देखि गाईजात्रा महोत्सव अर्थात गौरव यात्रा गर्दै आएका छन् । ‘त्यतिवेला फरक लैंगिक पहिचानका आधारमा खुल्ने अबस्था थिएन उनीहरु भन्छन्, आफ्नो इच्छा चाहना अनुसार निस्कन पाउँदा खुशी हुन्थ्यौ ।’

काठमाडौं बाहिर भने एक पटक चितवनको सौराहा र एक पटक कास्कीको पोखरामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले गाईजात्रा पर्वको दिन गौरव यात्रा गरेका छन् । सौराहा र पोखरा बाहेक काठमाडौं बाहिरका अरु ठाउँमा गौरव यात्रा भएको छैन । चितवनको सौराहामा भएको गाइजात्रा महोत्सवमा पहिलो पटक सहभागी भएका समलिंगी अधिकारकर्मी लेक्स लिम्बु यो बर्षको गौरब यात्रामा सहभागी भए । उनले हरेक दिन गौरव यात्रा गर्नुपर्ने आबश्यकता औल्याए । उनले अल्पसंख्यक समुदाय भएर एक अर्काको सपोर्ट खोज्नु पर्ने बताए ।

नेपालमा पहिले जस्तो लुकेर बस्नु पर्ने अबस्था अहिले छैन । अहिले अन्तराष्ट्रिय स्तरमा हरेक बर्षको जुन महिनामा मनाइने एलजीबीटीआई गौरव यात्रा नेपालमा पनि मनाउन थालिएको छ । अहिले हरेक दिन गौरव यात्रा गर्न समस्या नभएको समाजकी अध्यक्ष गुरुङ बताउँछिन् । उनले गाइजात्रा पर्व यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको गर्वको रुपमा रहेको बताइन ।

सैवैधानिक व्यवस्था परिवर्तन भएपनि समुदायको अवस्था जस्ताको त्यस्तै रहेको उनको भनाई छ । ‘संविधानको व्यवस्थासँगै समुदायको अवस्था परिवर्तनका लागि समुदायको प्रदर्शन आवश्यक रहेको छ उनले भनिन्, यो पर्व हाम्रो अधिकारसँग जोडिएर आएको छ र सरकार संवेदनशिल हुनुपर्ने आबश्यकता छ ।’

नेपालको आफ्नै मौलिक संस्कृति, रितिरिवाजलाई उपयोग गर्दै उतिवेला सडकमा निस्केका एलजीबीटीआईले अहिलेपनि गाईजात्रा पर्वमा मनाउने गरिएको गौरव यात्रालाई निरन्तरता दिदै आएका छन् । गौरव यात्रामा सरकारका मन्त्री, नेपालमा रहेका कुटनीतिक नियोगका अधिकारी समेत सहभागी हुँदै आएका छन् ।

यो बर्षको गौरव यात्रामा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी सहित अष्ट्रेलिया र जर्मनका राजदूत सहभागी भए । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले कलाकारहरुलाई बोलाएर यो बर्ष टुडिखेलमा सांगितिक कार्यक्रम समेत गरेका छन् ।

बर्षभरी दिवंगत भएका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिको चिर शान्तिको कामना गर्दै दिप प्रज्वलन गरिएको छ । यो बर्ष जानकारीमा आएका ७ जना यौनिक तथा लैंगिक अल्पसंख्यकको निधन भएको नील हिरा समाजकी अध्यक्ष गुरुङले जानकारी दिइन । जानकारी नआएका धेरै होलान उनले भनिन्, जानकारीमा आएका ७ जना समुदायका व्यक्तिको नाममा दिप प्रज्वलन गरिएको छ ।

गाइजात्रा पर्वको दिन सन् २००२ मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलबाबु पन्तले गौरव दिनको शुभकामना दिएका छन् । सामाजिक संजाल फेसबुक मार्फत पन्तले आफू केही बर्षदेखि हराइरहेको उल्लेख गर्दै सफल रुपमा सबैलाई सहभागी गराएर पर्व मनाउन भनेका छन् । पन्तले सन् २००२ को पहिलो गाइजात्रा महोत्सवमा जम्मा ४८ जना मात्रै सहभागी भएको स्मरण गरेका छन् ।

यो बर्षको गौरव यात्रामा काठमाडौं बाहिरबाट ४ सय १० जना सहभागी भएका समाजले जनाएको छ । गौरव यात्रामा सहभागी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आफ्नो समुदायका व्यक्तिलाई समान व्यवहारको खाचो रहेको बताए ।

 

 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.