अमेरिकाको फ्लोरिडामा समलिंगी पुरुषलाई निशाना बनाएर हत्या गर्नेलाई मृत्युदण्ड

अमेरिकाको फ्लोरिडामा समलिंगी पुरुषलाई निशाना बनाएर हत्या गर्नेलाई मृत्युदण्ड

काठमाडौं (पहिचान) भदौ ८ अमेरिकाको फ्लोरिडामा एक ‘सिरियल किलर’ लाई मृत्युदण्ड दिइएको छ । अमेरिकाको पूर्वी तटीय क्षेत्रका ती व्यक्तिले समलिंगी पुरुषलाई आफ्नो निशाना बनाउने गरेका थिए । ग्यारी रे बोवल्स नाम गरेका ती व्यक्तिलाई प्राणघातक इन्जेक्सन दिएर मृत्युदण्डको सजाय दिइएको हो । सर्वोच्च अदालतले उनको अन्तिम अपिल खारेज गरेपछि फ्लोरिडामा मृत्युदण्ड दिइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ग्यारीले सन् १९९४ मा ६ जनाको हत्या गरेको स्वीकार गरेका थिए । उनले फ्लोरिडाबाट मेरिल्याण्डसम्मका समलिंगी पुरुषलाई निशाना बनाएका हुन् । तर तीनजनाको मृत्युका लागि मात्रै उनी दोषी ठहर भए । ‘आई–९५ किलर’ का रुपमा परिचित उनका अधिकांश पीडितहरु अन्तरराज्य करिडोरमा भेटिएका थिए ।

पश्चिम भर्जिनियाका स्थायी बासिन्दा ५७ वर्षे ग्यारीले बाल्यकालमा घरायसी यातना भोगेको र त्यसकै कारण घर छोडेको अनुसन्धानकर्ताले बताएका छन् । उनले धेरै वर्ष समलिंगी पुरुषका लागि यौन व्यवसाय गरेका थिए । त्यसपछि उनी ‘सिरियल किलर’ बनेका हुन् ।

चोरी, डकैती तथा दुव्र्यवहार तथा बलात्कारका लागि दुईपटक जेल सजाय पाएका उनी सन् १९९३ मा डेटनबिचमा गएका थिए । त्यहाँ रहँदा उनले यौन व्यवसायिका रुपमा काम गरे । त्यसबेला उनी प्रेमिकासँग बस्दै थिए, तर उनले यौन व्यवसाय गर्ने थाहा पाएपछि प्रेमिकाले छोडेकी थिइन् ।

ग्यारीले आफ्नो ‘ब्रेक–अप’ का लागि समलिंगी पुरुष दोषी रहेको बताउने गरेको अनुसन्धानमा संलग्न सरकारी अधिकारीले बताएका छन् । उनी आफ्नो प्रेमिकाले गर्भपतन गराएको थाहा पाएपछि आक्रोशित भएको पनि डेटनबिच न्युज–जर्नलले उल्लेख गरेको छ ।

लगातार समलिंगी पुरुषलाई निशाना बनाएर हत्या गरेका उनी फरक नामसहित ज्याक्सनभिल्लामा बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उनी ४७ वर्षका वाल्टर हिन्टनको हत्यामा दोषी पाइए र मृत्युदण्डको सजाय पाए । यस्तै ५९ वर्षका जोन हार्डी रोबर्टस र ३७ वर्षका अल्बर्ट एल्सी मोरिसको हत्यामा पनि उनी दोषी पाइए र जन्मकैदको फैसला भयो ।

फ्लोरिडामा सन् १९७६ मा सर्वोच्च अदालतले मृत्युदण्ड पुर्नस्थापित गरेयता सो सजाय पाउने ग्यारी ९९ औँ अपराधी हुन् ।

मृत्युदण्डका सम्बन्धमा जानकारी दिने अमेरिकी संस्थाका अनुसार यो वर्ष मृत्युदण्ड दिइएका उनी १३ औँ व्यक्ति हुन् ।

एक दिनअघि मात्रै टेक्सासमा १९ वर्षका विद्यार्थीको हत्या गरेको आरोपमा दोषी पाइएका व्यक्तिलाई मृत्युदण्ड दिइएको थियो । ती अपराधीले अन्तिम समयसम्म आरोप अस्वीकार गरेका थिए ।

तस्विर : बीबीसी

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.